+

‘दक्षिण अफ्रिकासँगको हार स्वीकार्न धेरै गाह्रो भयो’

२०८१ असार  २० गते ८:१६ २०८१ असार २० गते ८:१६
‘दक्षिण अफ्रिकासँगको हार स्वीकार्न धेरै गाह्रो भयो’

२० असार, काठमाडौं । ‘त्यो रात निद्रा लाग्न एकदमै गाह्रो भयो । मैले सबैलाई म्यासेज गरेर ठीक छ भनेर सोधे’, टी–२० विश्वकप २०२४ मा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको रात स्मरण गर्दै कप्तान रोहित पौडेलले अनलाइनखबरसँग भने ।

हुन पनि नेपालको त्यो हार स्वीकार गर्न कठिन पर्ने खालको थियो । ११६ रनको लक्ष्य पछ्याएको गुलशन झालाई तीव्र गतिका बलर ओटनिल बार्टमानले लगातार दुई बाउन्सर बलमा डट राख्दै दक्षिण अफ्रिकालाई जिताएका थिए ।

सुरुवाती दुई खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटको हार र श्रीलंकासँग वर्षाका कारण खेल रोकिएर अंक बाँडेपछि नेपाललाई सुपर–८ मा पुग्न दक्षिण अफ्रिका र बंगलादेशलाई हराउनुपर्ने बाध्यता थियो । त्यो अवस्थामा नेपाल उच्च मनोबलका साथ मैदान उत्रिएको थियो । ‘स्कटल्यान्डले इंग्ल्यान्ड, नेदरल्यान्ड्सले दक्षिण अफ्रिका र यूएईले न्युजिल्यान्डलाई हराउन सक्छ भने हामीले दक्षिण अफ्रिकालाई किन हराउन सक्दैनौं ?’ खेलको अघिल्लो दिन रोहितले टिम मिटिङमा यही भन्दै हौसला दिए ।

हुन पनि टी–२० क्रिकेटमा एक वा दुई खेलाडी चले पनि खेलको अवस्था नै फेरिन सक्छ । ओडीआई र टेष्ट खेलमा झैं निरन्तर राम्रो गर्नु पर्दैन । एउटा ओभरले खेलको नयाँ मोड तय गर्न सक्छ ।

१ असारमा सेन्ट भिन्सेन्ट किंग्सटाउनमा नेपालले टस जित्यो र फिल्डिङ रोज्यो । दक्षिण अफ्रिकाको टोली र कन्डिसन हेर्दा १५० रनमा रोक्न सके जित्न सकिने रोहितको योजना थियो ।

ओपनर क्विन्टन डि ककलाई १० रनमा दीपेन्द्रबाट कट एण्ड बोल्डको रुपमा गुमाएको दक्षिण अफ्रिकालाई कप्तान एडेन माक्ररम र रिजा हेन्ड्रिक्सले सम्हालेपछि ११ ओभरमा ६७-१ को अवस्थामा पुर्‍याएका थिए ।

१० ओभरपछि भएको ड्रिंस ब्रेकमा बलरलाई अनुशासित बलिङ र विकेटमा बल राख्न भनिएको थियो । दक्षिण अफ्रिकाले कुनै पनि समय रनको गति बढाउन सक्थ्यो । १२ औं ओभरको दोस्रो बलमा कुशल भुर्तेलले माक्ररमलाई १५ रनमा बोल्ड गरे ।

१४ औं ओभरको दोस्रो बलमा दक्षिण अफ्रिकाका सबैभन्दा राम्रो स्पिन खेल्ने ब्याटर हेनरिक क्लासेन ३ रनमा करण केसीबाट क्याच आउट भए । त्यो क्याच करणले झण्डै छाडेका थिए । एक र अर्को हातमा गरेर चौथो प्रयासमा लिन पुगे ।

१६ औं ओभरमा रिजा हेन्ड्रिक्स दीपेन्द्रको बलमा ४३ रनमा क्याच आउट भए । १८ औं ओभरमा दीपेन्द्रको बलमा सर्ट थर्डमा डेविड मिलर ७ रनमा सन्दीपबाट क्याच भएपछि दक्षिण अफ्रिका ९७–५ को अवस्थामा थियो । स्टब्सले एक चौका र एक छक्का हानेपछि दक्षिण अफ्रिका २० ओभरमा ११५–७ को अवस्थामा थियो ।

त्यो खेलमा कुशल भुर्तेलले ४ र दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा १८ रन खर्चिंदा विकेट लिन सकेका थिएनन् ।

‘सबै फ्यानले त्यो खेल हेर्दा कुशल भुर्तेलको बलिङ हेर्छन् । तर अर्को एण्डबाट सन्दीप दाइले कडाइ गर्दै विपक्षीलाई ब्याटिङ गर्न एकदमै गाह्रो बनाउनु भएको थियो । त्यसैले एकदमै राम्रो बलिङ भएको थियो’, रोहितले भने ।

बलिङ सकेर पेभेलिएन फर्किंदा जित्नेमा सबै आत्मविश्वासी थिए । नेपाललाई भन्दा बढी दबाब दक्षिण अफ्रिकालाई थियो । एउटा राम्रो साझेदारी हुँदा दक्षिण अफ्रिकाका बलरले विकेटको चक्करमा फरक फरक बल गर्थे । त्यो अवस्थामा नेपालले खराब बलको फाइदा उठाउने रणनीति तय गरेको थियो ।

ओपनर आसिफ शेख कागिसो रबाडाको दोस्रो ओभरको पाँचौं बलमा टप एज लागेर कट एण्ड बोल्ड हुनबाट बचेका थिए । ओपनर कुशल र आसिफले नेपाललाई ६ ओभरमा ३४ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । त्यसअघि ओपनरले राम्रो सुरुवात नदिएको धेरै भइसकेको थियो ।

स्पिनर तबरेज साम्सीको आठौं ओभरको दोस्रो बलमा रिभर्सस्वीप हान्नेक्रममा कुशल १३ रनमा बोल्ड आउट भए । नेदरल्यान्ड्सँग चौथो नम्बरमा ब्याटिङ गरेका रोहित दक्षिण अफ्रिकाविरुद्ध तेस्रो नम्बरमा आए ।

राम्रो सुरुवात पाउँदा रोहित आउने पहिला नै रणनीति थियो । रोहित केही समय लिएर खेल जिताएर फर्काउन सक्थे । तर सामना गरेको दोस्रो बलमै रोहित बोल्ड आउट हुन पुगे ।

तेस्रो विकेटलाई अनिल र आसिफले ३६ बलमा ५० रनको साझेदारी गरे । नेपाल १३ ओभरमा ८२–२ को अवस्थामा थियो । जित्नलाई ४२ बलमा ३४ रन चाहिँदा हातमा ८ विकेट हुँदा समर्थकहरु जितको खुसी मनाउन थालेका थिए ।

डग आउट र पेभेलियनमा खेलाडीहरु पनि ढुक्क थिए । किनभने दीपेन्द्र, कुशल र गुलसन झाजस्ता हिटर आउनै बाँकी थियो । अनिल र आसिफले राम्रो प्रदर्शन गरेका थिए ।


अर्को ओभरको चौथो बलमा अनिल साह ठूलो सट खेल्न खोज्दा २७ रनमा मार्को यानसनबाट क्याच आउट भए । त्यो समय नेपाल १३.४ ओभरमा ८५–३ को अवस्थामा थियो । त्यसपछि नेपालको रनको गति केही स्लो हुँदा १७ ओभरमा ९८–३ मा पुग्यो ।

साम्सीले १८ औं ओभरमा नेपालका दुई प्रमुख ब्याटर दीपेन्द्र र आसिफलाई आउट गर्दै नेपाली समर्थकको मुटुको धड्कन बढाए । अन्तिम १२ बलमा १६ रन चाहिएको बेला एनरिच नोर्कियाले पहिलो बल डट र दोस्रो बलमा कुशल मल्ललाई बोल्ड गरे ।

त्यसपछि ब्याटिङमा आएका सोमपाल कामीले लगातार दुई बल रन बटुल्न सकेनन । पाँचौं बलमा स्लो बललाई उनले १०५ मिटर टाढा छक्का र अन्तिम बलमा दुई रन बटुलेपछि अन्तिम ६ बलमा ८ रन चाहियो ।

बार्टमानको सुरुवाती दुई बल गुलसनले डट खेले । तेस्रो बल ओभर कभरमा चौका हाने । लगत्तै अर्को बलमा दुई रन बटुले । त्यसपछि नेपाली खेलाडीले जितको खुसी मनाउन मात्रै बाँकी थियो । रोहित अब जितिसक्यो भनेर उठेका थिए । तर फिल्डरले रोके ।

बाँकी दुई बलमा दुई रन बन्नेमा नेपाल ढुक्क थियो । हारको कुनै कल्पना गरेको थिएन । कम्तीमा सुपर ओभर सोच्न थालेको थियो । तर त्यसपछिका दुई बाउन्सर बलमा गुलसनले रन बटुल्न सकेनन् । अन्तिम बलमा ब्याटमा नलागे पनि गुलसन एक रनको लागि दौडिए । पिचको मध्य भागमा पुगेको समयमा डि कको थ्रोले उनलाई पछाडि लाग्यो ।

ननस्ट्राइकमा पुग्नै लाग्दा क्लासेनले स्टम्पमा ताके । अनि रिप्ले अघि नै दक्षिण अफ्रिकाले जितको सेलेब्रेसन गर्न थाल्यो । पभेलियनमा त्यो सेलेब्रेसनले गुलसन नपुगेको बुझेको थियो । पछि रिप्लेपछि गुलसनलाई अम्पायरले रन आउट दिए । स्ट्रम्प नजिकै पुगेर गुलसन अलमल परेका थिए । त्यो घातक बन्यो ।

उक्त रन आउटसँगै नेपाल एक रनले पराजित भयो । सुपर–८ को सम्भावना सकियो । अनि सोझै २०२६ को टी–२० विश्वकप खेल्ने अवसर गुमायो । अर्कोतर्फ विश्वको एक शक्तिशाली देश दक्षिण अफ्रिकालाई स्तब्ध पार्ने गोल्डेन अवसर गुमायो ।

रोहित त्यही हार स्वीकार गर्न धेरै गाह्रो भएको बताउँछन् । ‘जित्नेमा ढुक्क थियौं । सेलेब्रेसन के गर्ने सोचेको थिइनँ, तर त्यो आफसेआफ हुन्थ्यो । त्यो पार्ट मिस भयो । त्यो हार स्वीकार गर्न धेरै गाह्रो भयो । सबैलाई धेरै गाह्रो भयो । तर के गर्नु । खेलकुद र क्रिकेट यही हो’, उनले भने ।

उनले थपे भने, ‘त्यो अवस्थाबाट पनि हार्छौं भनेर सोचेका थिएनौं । सबैलाई स्वीकार गर्न गाह्रो भयो । तर जुन हिसाबले हामीले क्रिकेट खेल्यौं त्यो सकारात्मक थियो । त्यसरी आफूलाई हौसला दियौं ।’

टी–२० विश्वकप २०२४ रोहित पौडेल
लेखक
भुपेन्द्र जि.सी.
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय