+

‘दशौं राष्ट्रिय खेलकुदमा कर्णालीले २२ खेलमात्रै खेलाउन सक्छ’

२०८१ असार  २० गते ९:१८ २०८१ असार २० गते ९:१८

‘दशौं राष्ट्रिय खेलकुदका लागि संघीय सरकार र युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्‌ जुन स्पिडले अघि बढ्नुपर्ने हो त्यो स्थितिले अघि बढेको छैन ।’

‘दशौं राष्ट्रिय खेलकुदमा कर्णालीले २२ खेलमात्रै खेलाउन सक्छ’

२० असार, काठमाडौं । दशौँ बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेशमा अहिले पूर्वाधारका कामहरु धमाधम भइरहेका छन् । दशौँ राष्ट्रिय खेलकुद आगामी मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुँदैछ । त्यसको मुख्य केन्द्रबिन्दुमा सुर्खेत छ ।

सुर्खेतको सदरमुकाम वीरेन्द्रनगरमा अहिले रंगशालादेखि विभिन्न खेलका पूर्वाधार बनिरहेका छन् । यसका साथसाथै कर्णाली प्रदेशले आफ्नो खेलको तयारी पनि गरिरहेको छ र दुई अंकमा स्वर्ण जित्ने लक्ष्य राखेको छ । यहाँका पूर्वाधार व्यावसायिक शैलीमा तयार पारिएको छ ।

दशौँ राष्ट्रिय आउन अब केही महिनामात्रै बाँकी रहँदा अहिलेसम्म भएका तयारी पूर्वाधार निर्माण, आवास व्यस्थापन, दशौँ राष्ट्रिय खेलकुद सञ्चालनलगायत विभिन्न विषयमा कर्णाली प्रदेश खेलकुद विकास परिषद्‌का सदस्य सचिव विश्वामित्र सन्ज्यालसँग अनलाइनखबरले गरेको कुराकानीको सम्पादित अंश ।

दशौँ राष्ट्रिय खेलकुद आउन अब ५ महिनाभन्दा कम समयमात्रै बाँकी छ । अहिलेसम्म तयारी के के सकियो वा कुन अवस्थामा छ ?

अहिले हामी पूर्वाधार निर्माणकै चरणमा छौँ । पूर्वाधार लगभग हामीले अन्तिम चरणमा पुर्‍याएका छौं । ९० प्रतिशत काम सकाएका छौं र अबको २ महिनामा हामी पूर्वाधारको सम्पूर्ण काम सकाउँछौँ ।

मुख्य कुरा के भने राष्ट्रिय खेलकुद आयोजना गर्नुपर्ने नितान्त राष्ट्रिय खेलकुद परिषद्‌ले हो । हामी तातेर मात्र भएन । बिँड तातेर मात्र नहुने, तावा तात्नुपर्ने भयो । बिँड २ वर्षअघि देखि तात्दातात्दा यो स्थितिमा ल्याएका छौँ । नतातेको भए अहिले यस्तो हुँदैनथ्यो ।

किनभने दशौँ राष्ट्रिय कर्णालीमा हुँदैछ र कर्णालीका लागि यो ठूलो अवसर पनि हो । प्रदेशका लागा उत्साहजनक र गौरवको विषय पनि हो भनेर सुरु गरियो । हामीले जसरी सुरु गरेका थियौँ प्रदेशका हिसाबले त्यो अन्तिम चरणमा छ ।

तर संघीय सरकार र युवा तथा खेलकुद मन्त्रालय र परिषद्‌ जुन स्पिडले अघि बढ्नुपर्ने हो त्यो स्थितिले अघि बढेको छैन ।

भर्खरै बजेट त आएको छ, यसको कार्यान्वयन साउनबाट सुरु होला ! बजेट कार्यान्वयन गर्ने विषय एउटा रहला ! तर अरु तयारी गर्ने विषयमा हेर्दा एउटा लोगो र मस्कट त तयार गर्न सकेनौँ ।

कोही भन्छन्-अब यो क्याबिनेटले निर्णय गर्ने हो मिति तय गर्नका लागि । अब संविधान र कानुनत: खेलकुद विकास ऐनमा क्याबिनेटले निर्णय गर्नुपर्ने कहीं देखिन्न । वार्षिक नीति तथा कार्यक्रम र बजेट आइसकेपछि खेलकुदको ऐनमा प्रत्येक २/२ वर्षमा गर्ने लेखेको छ । बजेट आइसकेपछि त्यो कार्यान्वयनमा जानुपर्ने हो । क्यबिनेटको निर्णय कुर्नुपर्दैन भन्ने लागेको हो ।

मस्कट र लोगो बाहेक पनि मन्त्रालय र परिषद्‌बाट तपाईंहरुको अपेक्षाहरु अरु केके छन् ?

परिषद्‌ले तत्कालै गर्नुपर्ने के हो भने प्रदेश सरकारका लागि आवश्यकता के हो ? त्यो हामी गर्न तयार छौं भन्नुपर्ने हो । केही दिनअघि मन्त्रीज्यु सदस्य सचिवज्यु आउनुभयो । उहाँहरु बजेट आएपछि आउनुभयो ।

उहाँहरुले ‘प्रदेशका लागि बजेट हामीले ल्याउन सकेनौँ । आयोजना गर्ने बजेट हामीले ल्याएका छौँ । प्रदेशलाई दिनका लागि पूर्वाधार निर्माणमा सहयोगका लागि हामीले बजेट दिन सकेनौँ । तर कार्यक्रम समयमै आयोजना हुन्छ’ भन्नुभाछ ।

पोखरामा भएका ३६ वटै खेल त्यो सबै दशौँमा आयोजना हुन्छ भन्ने पक्षमा म छैन । हामीले हाम्रो तयारी २२ वटा खेलको मात्रै हो । कर्णाली पनि २२ खेलमा मात्र सहभागी हुन्छ । लगानी गर्ने अवस्था पनि छैन ।

त्यो हिसाबले अहिलेसम्म प्रदेशस्तरमा एउटा तयारी समिति निर्माण गरेर कतिवटा खेल आयोजना गर्न सकिन्छ, कर्णालीको अहिलेको तयारी अवस्था कहाँ पुगेको छ । कर्णालीमा कति खेल आयोजना गर्ने, बाँकी खेलका लागि आयोजना कसरी गर्ने भन्नेका लागि तत्कालै एउटा तयारी समिति बनाउनुपर्‍यो ।

त्योचाहिं परिषद्‌ले बनाउनुपर्ने हो ?

परिषद्‌ले बनाउनुपर्‍यो त ! परिषद्‌को बैठक बसेर गर्ने हो र कार्यकारी समितिले गर्ने हो । यो धेरै ढिला भइसक्यो । अहिलेसम्म त हामीलाई यति खेल आयोजना गर्न सकिन्छ, यो यो खेल आयोजना गर्ने भनेर तोकियो भने हामी पनि त्यही अनुसार तयारी गर्छौं । भेन्युलाई लक्षित गरेर तयारी गर्छौं । त्यहीअनुसार बसोबासको व्यवस्था गर्छौं । न्यूनतम एउटा स्थानीयस्तरमा आयोजक समिति तयार गरेर त्यो समितिले कति वटा खेल आयोजना गर्ने र कहाँ कहाँ आयोजना गर्ने भनेर त्यो कुरा छिटो निर्णय भयो भने अनि एक्सनमा जान सजिलो हुन्छ ।

पूर्वाधारका हिसाबले जिल्ला जिल्लामा पनि तयारी गरेका छौँ, प्रदेशस्तरमा पनि तयारी गरेका छौँ । अब हामीलाई छ एकै ठाउँमा आयोजना गर्नका लागि बसोबासको हिसाबले अलिकति चुनौती छ ।

बसोबासका लागि के व्यवस्था गरिरहनुभएको छ?

कर्णालीको अवस्था हेर्दा हिजो आठौं, नवौँ संस्करण गरेजस्तो त्यो अवस्था छैन ।

त्यसैले बसोबासमा चुनौती छ । बसोबास व्यवस्थित गर्नका लागि सुर्खेतमा मात्र नभएर जिल्ला जिल्लामा पनि तयारी गरेका छौँ । ती तयारीका विषयलाई गरेका ठाउँहरुलाई यातायातको हिसाबले कठिनाइ पनि छ र खर्चिलो पनि । त्यो खर्च कसरी व्यवस्थापन गर्ने, त्यो खर्चलाई संघीय सरकारको पैसाले पुग्छ कि पुग्दैन ? पुग्दैन भने माग गर्नुपर्ने होला वा भ्याउँछ भने त्यसैअनुसार गर्नुपर्छ ।

दशौं राष्ट्रिय खेलकुदका लागि कर्णाली प्रदेशमा बन्दै गरेको रंगशाला ।

अर्को कुरा पोखरामा भएका ३६ वटै खेल त्यो सबै दशौँमा आयोजना हुन्छ भन्ने पक्षमा म छैन । हामीले हाम्रो तयारी २२ वटा खेलको मात्रै हो । कर्णाली पनि २२ खेलमा मात्र सहभागी हुन्छ । त्यो तयारीका हिसाबले हामीले आफ्नो तयारी गर्दै भेन्युको पनि तयारी भयो । हाम्रो खेलको यति तयारी छन् ।

अरु खेलमा हामी भेन्यु किन तयार गर्न सक्दैनौं भने त्यसमा हाम्रा खेलाडी पनि छैन । हामीले संरचना बनायौँ भने भोलि त्यसको रेखदेख कसले गरिदिने ? त्यसको संरक्षण कसले गरिदिने ? त्यमसा अपनत्व लिने कोही छैन । त्यसैले त्यसमा लगानी गर्ने अवस्था छैन ।

यो खेलको विषयमा निर्णय माथिबाटै हुनुपर्ने हो?

यी कुराहरु माथिबाटै हुनुपर्छ । त्यही भएर हामीले २ वटा खेलको तयारी गरिहरेका छौँ ।

होइन ३६ खेल नै आयोजना गर्ने हो भनेर संघीय सरकाले भन्छ भने ३६ खेलहरु कहाँ-कहाँ गर्ने त ? कर्णालीमा कति सम्भव हुन्छ ? हो सम्भव नभएका खेल कहाँ आयोजना गर्न सकिन्छ त्यो त निर्णय गर्नुपर्‍यो नि ! त्यो निर्णय भएपछि अरु कामहरु अघि बढ्छ । बजेट कार्यान्वयन हुनेबित्तिकै साउनबाट काम सुरु हुन्छ ।

यातायातका लागि कति खर्च लाग्ने ? सुर्खेतबाट अन्य जिल्लामा जान कति पैसा लाग्छ ? अन्य कतै जिल्लामा गर्ने हो भने कति पैसा लाग्छ ? च्याम्पियनसिप गर्ने हो भने कति पैसा लाग्छ ? यतिवटा खेलको च्याम्पियनसिप गर्ने र यतिवटा खेलको राष्ट्रिय प्रतियोगिता गर्ने भन्ने केही त निर्णय हुनुपर्‍यो ।

होइन राष्ट्रिय नै गर्ने, अन्य प्रदेशमा पनि गर्ने केही खेलहरु आयोजना गर्ने हो भने त्यो एउटा निर्ययमा पुग्नुपर्‍यो । हतारमा गरेर त हुँदैन ।

कर्णाली प्रदेशमा हुन नसक्ने अनी सुर्खेतभन्दा बाहिर गर्नुपर्ने खेलहरु कुन हुन्?

सुटिङ लगायत केही खेलहरु छन् जुन यहाँ हुनै सक्दैन । प्याराग्लाइडिङ पनि गर्न गाह्रो छ । आर्चरी पनि गाह्रो छ । केही खेलमा हाम्रो भूगोलमा पनि हुँदैछ खेलाडीहरु पनि छैन । त्यसको पूर्वाधार छैन ।

हामीले केही खेलमा ए, बी र सी गरी तीनवटा क्याटेगोरीमा राखेका छौँ । खेलकुद परिषद्‌ कर्णालीको निर्णय गरेर तीन क्याटेगोरीको खेल र पाँच ‘प’ को न नीति अपनाएका छौँ ।

बसोबासलाई देखाएर अलि २-४ महिना पछि जाउँ भन्ने अवस्था पनि छैन । जे पोखराको स्ट्यान्डर्ड छ त्यो अनुसार खोज्ने हो कर्णालीमा अझै १०-२० वर्ष लाग्छ । कि त राष्ट्रिय खेलकुद गर्नु भएन, कर्णालीमै गर्ने हो भने बसोबासको चुनौतीसँग जुध्नु नै छ ।

पाँच ‘प’ को नीति भनेको पूर्वाधार, प्रशिक्षण, प्रतियोगिता, प्रोत्साहन र प्रतिभा छनोट गर्ने हो । हामीले विगतदेखि गर्दै आएको लगानी पाँच ‘प’ को निति तथा कार्यक्रम बनाएर अघि बढेका छौँ ।

खेलको क्याटेगोरीमा हामीले पहिलोमा ५, दोस्रो ७ र तेस्रोमा १० गरेर २२ खेल राखेका छौँ । हामीसँग भएका २२ खेलमा हामीले लगानी गरेर पूर्वाधारमा पनि जोड दिएका छौँ ।

त्योबाहेकका खेलकुद पनि कर्णाली प्रदेशमा गर्ने हो भने त्यसका लागि त राखेप तात्नुपर्‍यो नि ! त्यो त हामी तातेर मात्र भएन । हामी त्यसको सहयोगी हौँ र हामी त गर्न तयार छौँ ।

यी विषयमा खेलकुद मन्त्री र राखेपका सदस्य सचिवसँग छलफल भएन त ?

उहाँहरुले छिटै हामी यस विषयमा निर्णय गर्छौं भन्नुभा’छ । संघीय सरकारले यसमा सहयोग गर्नुपर्ने सबैमा लाग्छौँ भन्नुभाछ । अब हामीले हाम्रोतर्फबाट जे होमवर्क दिइन्छ त्यो गर्न हामी तयार छौँ तर होमवर्क नै पाइएको छैन ।

पूर्वाधार समन्वयपछि यहाँ बसोबासका लागि मुख्य चुनौती देखिएको छ । यहाँ आउने खेलाडी अफिसियलदेखि सबैलाई कसरी एकोमोडेट गर्न सकिन्छ यहाँको क्षमता कति हो सुर्खेतमा कति र बाहिर जिल्लामा कति राख्न सकिन्छ ?

यहाँ सुरुकै दिनदेखि बसोबासलाई चुनौतीकै रुपमा हेरिएको थियो । पूर्वाधारको चुनौती थियो त्यसलाई हामीले लगभग समाधान गरिसकेका छौँ त्यसमा चुनौती छैन ।

अब यो पूर्वाधार बनाएजस्तो बसोबासको काम रातारात सकिने पनि होइन । यसमा यसमा प्राइभेट सेक्टर पनि उत्तिकै लाग्नुपर्छ ।

अर्को कुरा के भने बसोबासलाई देखाएर अलि २-४ महिना पछि जाउँ भन्ने अवस्था पनि छैन । किनभने यो केही महिनामा बन्ने कुरा पनि होइन । जे पोखराको स्ट्यान्डर्ड छ त्यो अनुसार खोज्ने हो कर्णालीमा अझै १०-२० वर्ष लाग्छ । कि त राष्ट्रिय खेलकुद गर्नु भएन, कर्णालीमै गर्ने हो भने बसोबासको चुनौतीसँग जुध्नु नै छ ।

त्यसका उपायहरु के के हुन् त उसोभए ?

यसमा तीन खालको मोडल विकल्पमा छ ।

पहिलो खेलको तालिका लम्बयाउनुपर्छ भनेका छौँ । केही उद्घाटन गर्दैगर्दा केही खेल सकाउनुपर्छ । त्यो राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रचलन पनि हो । अन्य देशले पनि, एसियाडहरुमा पनि गर्छ । यसलाई गर्न सकिन्छ खेलको सेड्युल लम्ब्यायौँ । त्यसो गर्दा बसोबास व्यवस्थित गर्न सकिन्छ ।

दोस्रो प्रदेशसँग जोडिएका बाहिर जिल्लाहरु जहाँ बसोबास व्यवस्था गर्न सकिन्छ र केही खेल का पूर्वाधारहरु छन् । त्यही कर्णाली यातायतको हकमा अलि टाढा जानुपर्ला र खर्च लाग्ला !

नवौँ पनि पोखरामा हुँदा म्याग्दी गोरखासम्म खेल भाथ्यो । त्यतिकै दूरीका हिसाबले हेर्दा कर्णालीमा अलि खर्च भएपनि केही जिल्ला खेल लैजाउँ बसोबासको व्यस्था पनि छ र पूर्वाधार पनि छ । त्यसले समग्रमा कर्णालीको पर्यटन प्रवर्द्धन र राज्यको सहयोग नै पुग्छ कर्णालीमा ।

कर्णालीका गाउँ दूरदराजमा खेलाडीहरुलाई चिन्ने अवसर पनि पाउँछ । कर्णाली के हो वास्तवमा भने बुझ्ने अवसर पनि पाउँछन् । खेलको विकास कर्णालीको गाउँसम्म जाने हो । एउटा अर्को विकल्प हो ।

तेस्रो भने हामीलाई संकट आएको बेलामा हेर्ने तीनवटा फोर्सहरु छन् । सेना पुलिस र शसस्त्र । यी तीन युनिटलाई प्रयोग गरियो भने बसोबासको व्यवस्था गर्न सकिन्छ । ३ वटा विभागकै टिममात्र पनि उनीहरुले होल्ड गरिदियो भने त्यहाँ व्यस्थापन गर्न सकिन्छ । त्यसमा ठूलो टेन्टहरुमा राख्न सकिन्छ । क्याटरिङ गरेर राख्ने वा त्यो फोर्सलाई परिचालन गरेर राख्ने भन्ने हुन सक्छ ।

बरु राज्यको पैसा त्यसलाई दिएर परिचालन गरियो भने हुन्छ । बसोबासका लागि बरु केही टेन्ट खरिद गर्नुपर्ला । पछि यो  फेरी राज्यकै लागि विपद्‌ पर्दा काम लाग्ने हो । स्टोर गरेर राखे सरकारलाई पनि काम लाग्ने हो ।

ती स्रोतलाई परिचालन गर्न सकिन्छ । उनीहरुसँग समन्वय गरे बसोबासलाई व्यवस्थित गर्न सकिन्छ । हामीसँग भएका यी मोडलमा जाऊँ भनेको हो ।

यसका लागि योजना त बनाउनुपर्ला नि?

हो ।  अब त्यसका लागि योजना बनाउन रिसर्च गर्नुपर्छ । त्यसैका लागि तत्काल एउटा समिति बनाऊँ न त ।

यसका लागि कि त संघीय सरकारले प्रदेशले जे गर्नु हुन्छ हामी मान्छौँ भनेर लिखित गर्नुपर्‍यो कि त पत्राचार हुनुपर्‍यो । कि प्रदेशकै कसैलाई जिम्मा दिनुपर्‍यो । यसरी गर्नु हामी बजेट दिन्छौँ भनेर भन्नुपर्‍यो ।

त्यसमा कस्तो योजना चाहिन्छ सहयोग गर्न स्थानीय सरकार पनि छ । अर्को हामीसँग होमस्टे पनि छ । घरघरमा राख्ने स्थिति छ । स्थानीय सरकारसँग सहकार्य गरेर होमस्टेमा गेस्ट रुममा राख्न सकिन्छ । यो पनि विकल्पको रुपमा छ ।

कर्णालीको सुर्खेतमा एकै पटक कति संख्यामा राख्न सकिन्छ?

एकैपटक सबै राख्न सम्भव छैन । सुर्खेतको एकपटक राख्न सक्ने क्षमता ३ हजारदेखि ३५०० सम्म हो । अब यदि केही संख्या घट्यो र खेल तालिका पनि लम्ब्याइयो भने हामी सुर्खेत भित्रै पनि यो समस्या हल गर्न सकिन्छ ।

त्यसमा मास गेमहरु महिला पुरुषको हुन्छ । एक सेट अघि एक सेट पछि गर्न सकिन्छ । त्यसमा भएका केही हदसम्म समाधान गर्न सकिन्छ ।

यसरी जाने यसो गर्न सकिन्छ भनेर जिम्मेवारी दिएर अघि बढ्नु पर्‍यो । यसका लागि राखेप माथिबाटै तात्नुपर्‍यो ।

भनेपछि तपाईंहरुलाई अहिले चाहिएको मुख्य कुरा समन्वय नै हो ?

हो त्यही हो । समन्वय समिति वा स्थानीय तयारी समिति । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार अनि त्यसमा तीनवटा विभाग पनि राखेर एउटा युनिट बनाएर तत्कालअघि बढ्नुपर्छ । यसो हुन सकेमा एक महिनाभित्रै यो सबै कुराहरुको समाधान गर्न सकिन्छ ।

सुर्खेत र समग्र कर्णालीमै दशौँ राष्ट्रिय खेलकुदबारे कति थाहा छ ? उनीहरुले यसबारे कति बुझेका छन् कत्तिको सजग छन् कर्णाली खेल्ने २२ खेलको बारेमा उनीहरु कति जानकारी छन् ?

सबैभन्दा ठूलो कुरा त कर्णाली प्रदेश सरकारले दशौँ आयोजना गर्दैछौँ र यो हाम्रो गौरवको आयोजना हो भनेर रंगशाला बनाउन थाल्यो । सरकारले क्याबिनेटले निर्णय गरेर कर्णाली प्रदेशकै पहिलो गौरवको आयोजना भनेर घोषणा गर्‍यो ।

अहिले हेर्दा प्रदेश सरकारको सबैभन्दा ठूलो बजेट यसैमा खर्च भयो । यसले आम जनतालाई के छ भन्दा सरकारले ठूलो बजेट खेलकुद पूर्वाधारमा लगानी गरेको छ भन्ने भाछ । हामी त ठूलो खेलकुद आयोजना गर्दैछौँ । किनकी यो २ वर्ष त हो । त्यसपछि त हामीले बनाउनु छैन । कर्णालीकै सबै पालिका यो कुरा पुगेको छ । पालिकालाई सरकारले ठूलो काम गरिरहेको छ भन्ने थाहा छ । यो आमजनमानसमा तलतल सम्म पुगेको छ कर्णालीले गर्दैछ भनेर ।

कर्णालीमा अहिलेसम्म यति ठूलो आयोजना अहिलेसम्म भाको पनि छैन अब कतिवर्षपछि आयोजना हुन्छ थाहा पनि छैन । ठेगान छैन ।

तर कर्णलीका लागि हामीले पनि गर्न सक्छौँ भन्ने कुरा यहीबाट पुष्टि गर्ने अवसर पनि छ । कर्णालीले पनि गर्न सक्छ भने प्रमाणित गर्न सकिन्छ ।

जहाँ चुनौती छ । त्यो चुनौती समाधान गर्न सकिन्छ । तर सबै कुरा जुट्यो भने यसले गर्न सकिन्छ भन्ने सन्देश दिने हो ।

कर्णालीमा दशौँ आयोजना गर्ने भनेर नवौँमा झण्डा लिँदै गर्दा भात खानका लागि कर्णालीलाई दशैँ कुर्नुपर्छ अनि यत्रो दशौँ आयोजना गर्न कसरी सकिन्छ होला भन्ने थियो । तर त्यसलाई आयोजना गर्न समाधान गर्दै बसोबाससम्म हामी केन्द्रित भइसक्यौँ ।

‘८० मा गरेको लगानीले ९० को दशकमा समग्र राष्ट्रिय टिममा कर्णालीका खेलाडीको वर्चस्व कायम गर्ने गरी लक्ष्य राखेर तयारी गरिरहेका छौं ।’

बसोबासको कुरा यहाँ ढेड लाख मान्छे सुर्खेत भ्याली भित्रै बस्ने हो । त्यसमा ६-७ हजार मानिस थपिने भन्ने कुरा हो । मान्छेमा मान्छे थपिने कुरा हो । छुट्टै अर्को ग्रहबाट आएको भन्ने छैन ।

खाना  र बसोबासको कुरा गर्दा त्यसमा कसरी एडजस्ट गर्ने भन्ने हो । नेपालभरिका खेलाडीहरु सबै फाइभ स्टारमा बस्ने भन्ने पनि होइन । हामीसँग भएका स्रोत साधानलाई परिचालन गरेर व्यवस्थित गर्ने हो ।

खेल खेल्दा त्यसको राष्ट्रिय अन्तर्राष्ट्रिय मान्यता हुन्छन् । त्यो नियम भित्र बसेर हामीले खेलाउनुपर्छ । हामी पनि राष्ट्रिय खेलकुदमा त्यो प्राक्टिस गर्दै जाउँ । त्यसलाई सुधार गर्दै जाउँ ।

राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरका खेलहरु कस्ता हुन्छन् ? त्यो अलि फरक हो है भनेर यहाँबाट पनि सिकून् ।

हिजोको संस्करणबाट हामीले सुधार गर्दै ल्याएका छौँ ।

एसियन गेम्समा पनि सहभागी भयौँ । आफूले सुधार गर्दै जाने हो । विदेशमा खेलाडीहरुलाई भिलेजमा बसाउँछन् । हामी त्यो प्राक्टिस गर्दै छौँ त्यहाँ पुग्न सकेका छैनौँ ।

अब भोलिका दिनमा त्यो प्रक्टिस गरौँ विस्तारै सुधार गर्दै जाउँ । हिजो चउरमा खेलाएको आज रंगशालमा खेलाउँदैछौँ । अब यो विषयलाई केही अपग्रेड गर्दै लैजाउँ भन्ने हो ।

मान्छे जम्मा हुने र भेला हुने विषयलाई ठूलै चुनौतीका रुपमा लिएर त्यसकै कारण सार्नु पर्छ वा कर्णाली गर्न सक्दैन, हुन सक्दैन भन्ने यसले कुनै अर्थ राख्दैन ।

कर्णाली प्रदेश आफैँले पनि आयोजना गर्दा दुई अंकमा स्वर्ण जित्ने लक्ष्य राखेको छ । त्यसमा कत्तिको चुनौती छ?

कर्णाली खेलकुदमा पनि पछाडि छ । राज्यको नजरमा कर्णाली पछाडि नै पर्‍यो  । प्रादेशिक संरचनामा गएपछि त ६० वर्षको खेलकुद इतिहासमा कर्णालीमा पहिलो पटक जिरोबाट सुरु गर्दै छौँ । स्थित हो यो ।

एकै पटक हामी राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्दैछौं । पूरै जित्छौँ भन्ने लक्ष्य होइन । हाम्रो लागि त्यो सपना देख्न पनि गाह्रो हो तत्कालका लागि । सपना नदेख्ने भन्ने कुरा त होइन ।

तर दुई वर्षको तयारीमा कम्तीमा २ अंकको स्वर्ण पदकको लक्ष्य त राखूम् न त भन्ने हो । लक्ष्य हो । लक्ष्य प्राप्ति गर्नका लागि कम्तीमा एउटा लक्ष्य राखियो भने त्यहाँ मान्छेलाई मिहिनेत गर्ने प्रयास गर्छ । कोसिस गर्ने कुरा हो त्यहा पुग्नलाई ।

दशौँ राष्ट्रिय खेलकुद कर्णालीमा हुँदै गर्दा हामी दुई अंकको स्वर्णको लक्ष्यमा अघि बढ्यौँ भन्ने इतिहास कायम गर्ने हाम्रो तयारी हो ।

८० मा गरेको लगानीले ९० को दशकमा समग्र राष्ट्रिय टिममा कर्णालीका खेलाडीको वर्चस्व कायम गर्ने हो । यो दिर्घकालीन लक्ष्यका साथ रणनीतिक लक्ष्य हो । यो लक्ष्यका साथ खेलकुद अघि बढाउनुपर्छ भनेर हामीले अघि बढाएको हो ।

पछिल्लो पटक दशौंलाई केन्द्रित गरेर यहाँ केही खेलका राष्ट्रिय प्रतियोगिता पनि भयो । अब यति ठूलो संरचना तयार हुँदैछ । हरेक खेलको छुट्टै पूर्वाधार छ । दशौँ सकिएपछि पूर्वाधार बचाइराख्नआगामी दिनमा अन्यतर्राष्ट्रिय प्रतियोगिता गर्न के तयारी छ ?

खेलकुदमा हिजो भएको संस्करणमा पनि राज्यले गरेको ठूलो लगानी अपरेसन, मेन्टेन्स हुन सकेर संरचनाहरु कुरुप भएका स्थिति पनि छन् ।

त्योचाहिँ दशौँबाट नहोस् भनेर त्यसमा पनि केही हामीले सिकेका छौँ । पूर्वाधार बनाउँदा थोरै यसलाई व्यावसायिक बनाउनुपर्छ भनेर खेलकुदका संरचनाहरुलाई पनि व्यावसायिक बनाउनुपर्छ भनेर हामीले तयारी गरेका छौँ र त्यहीअनुसार पूर्वाधार निर्माण गरेका छौँ ।

दशौँ पछि यसलाई हामीले कसरी सञ्चालन गर्ने भनेर छुट्टै कानुनी कार्यविधि बन्दैछ । एउटा ड्राफ्ट गरिरहेका छौँ । संरचनाहरु त्यहीअनुसार तयार भएका छन् । ठूला हलहरु छन् । स्विमिङ पुल छ । होस्टलको रुपमा प्रयोग गर्न सकिने खालको संरचना पनि छ ।

भोलि कुनै पनि हिसाबले यसलाई बिजिनेस मोडलमा अघि बढाउनुपर्छ भन्ने सोचेर नै बनाएका छौँ ।

खेलका स्तरहरु आफैं प्रायोजनका लागि छँदैछ । अन्य पूर्वाधार पनि त्यही अनुसार बनेकोले टुरिजम् प्लेसको रुपमा विकास गर्ने । खेलकुदलाई पनि टुरिजम्‌को रुपमा प्रमोसन गर्नुपर्छ ।

अहिले पनि चिनमा गयो भने ओलम्पिक भएको बर्डनेस्ट रंगशाला हेर्न पैसा तिर्नुपर्छ । त्यो खालको संरचना विकास गर्नुपर्छ भन्ने हिसाबले यसलाई पर्यटनसँग पनि जोड्नुपर्छ । यो संरचनाहरु सेल्फ सस्टेन हुन र यसबाट रेभेन्यु जेनेरेट हुन केही न केही आउँछ भन्ने छ ।

दशौँ राष्ट्र गरेपछि तपाईंहरुको लक्ष्य के हो ?

अब राष्ट्रिय प्रतियोगिता गर्न त हामीलाई समस्यै छैन । अब हामी इन्डिभिजुअल्ली रुपमा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न तयारी गर्नुपर्छ । राष्ट्रियस्तरमा त हामीले गरेरै देखाइसक्यौँ ।

७ प्रदेश र तीन विभागीय टोली आएर थुप्रै गेमहरु गराइसक्यौँ । अब हामीले सोच्ने भनेको दशौँ पछि यसलाई पर्यटनको रुपमा प्रबर्द्धन साथसाथै अब यसमा अन्तर्राष्ट्रिय गेमहरु पनि आयोजना गर्नुपर्छ भन्ने हो । त्यो गर्‍यो भने यो चलायमान हुन्छ र बनाएका संरचनाहरु राज्यले खेलकुदमा गरेको लगानीले केही सार्थकता पाउँछ । यसैमा अघि बढ्नुपर्छ ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्‌ दशौं राष्ट्रिय खेलकुद विश्वामित्र सन्ज्याल
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय