+
+

चिरिबाबुले आयुक्तको घरमा डोजर चलाए, अख्तियारले बयानमा बोलायो

आयुक्त अमात्यको निवास बाहिरको जग्गामा बाटो र पार्क बढाउने प्रक्रियामा अवरोध भएपछि अख्तियारले ललितपुर महानगर मेयर चिरीबाबुलाई बयानका लागि डाकेको छ ।

कृष्ण ज्ञवाली कृष्ण ज्ञवाली
२०८१ असार २० गते २०:५३

२० असार, काठमाडौं । बुधबार दिउँसो ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन नगर प्रहरी र केही सहयोगी लिएर वडा नं – १० चाकुपाट निस्किए । त्यहाँ सरस्वती मन्दिरछेउमा रहेको डा. सुमित्रा अमात्य र दिवस अमात्यको घरको दक्षिणपट्टि बनाएको गेट र पर्खालको केही भाग भत्काए । अनि महानगर फर्र्किए ।

भोलिपल्ट अख्तियारको टोली उनको कार्यकक्षमा पुग्यो र, दुई छुट्टाछुट्टै उजुरीको बयानका लागि काटिएको पत्र थमायो ।

एउटा पत्रमा पत्रमा लेखिएको थियो, ‘धापाखेलको पहिरो पीडितलाई आर्थिक सहयोग बाँडिएको उजुरीको अनुसन्धानका सिलसिलामा तपाईसँग केही कुरा बुझ्नुपर्ने भएकाले उपस्थित भई अनुसन्धानमा सहयोग गरिदिनुहोला ।’

अर्को पत्रमा भने अर्को प्रेस संयोजक नियुक्तिको विषयमा बुझ्नुपर्ने भएकाले अख्तियारमा आउन भनिएको छ । घटना एकाएक भएजस्तो देखिएपछि यसका पछाडि लामो कथा छ ।

पर्खालबाट शुरु भएको आक्रोश

ललितपुर महानगरपालिका –१० स्थित चाकुपाटमा सरस्वतीको मन्दिर र त्यसको परिसरमा सार्वजनिक जग्गा छ । त्यसको छेवैमा डा. दिवस अमात्य र डा. सुमित्रा अमात्यको घर कम्पाउण्ड छ ।

१५ आना ३ दाम १ पैसा क्षेत्रफलमा फैलिएको यो सम्पत्ति अमात्य दम्पतीले १ असोज, २०७८ सालमा किनेका थिए । अख्तियारको आयुक्तमा नियुक्त भएको तीन महिनापछि आयुक्त अमात्यको परिवार ६ नयाँ घरजग्गा किनेर पाटनबाट चाकुपाट सरेको थियो । ललितपुर मालपोत कार्यालयको अभिलेख अनुसार, उनीहरुले ६ करोड रुपैयाँ बुझाएर उक्त घर कम्पाउण्ड किनेका हुन् । अमात्य दम्पती त्यसपछि नयाँ घरमा बस्दै आएको छ ।

यही बीचमा उनीहरुले घर कम्पाउण्डको पुरानो पर्खाल भत्काएर नयाँ बनाउन थाले । पर्खाल बनाउँदा अमात्य दम्पतीले सम्पदाको जग्गा मिचेको भन्दै ५ माघ, २०८० सालमा ललितपुर महानगरपालिकामा उजुरी पर्‍यो ।

महानगरले दुवै पक्षलाई छलफलका लागि बोलायो । त्यतिबेला सुमित्राका श्रीमान् डा. दिवस अमात्य छलफलमा पुगेका थिए । स्थानीय गुठियारहरु आफूहरुको कुलपूजा गर्ने जग्गा अतिक्रमण हुन लागेकोमा आक्रोशित थिए ।

मेयर चिरिबाबुका अनुसार, त्यो छलफलमा दिवस अमात्यको साथमा एक सुरक्षाकर्मी अख्तियारबाट खटिएका रहेछन् । त्यहाँ भएको छलफल र वादविवाद रेकर्ड गरेर उनले आयुक्त अमात्यलाई बुझाएको मेयर महर्जनको दाबी छ । भन्छन्, ‘जो–जो स्थानीयहरुले चर्को विरोध गरेका थिए, पछि उनीहरुलाई बोलाएर झपार्ने र गाली गर्ने काम भयो ।’

त्यो घटनाअघि ललितपुर महानगरपालिकाका कामकारवाहीवारे अख्तियारमा फाट्टफुट्ट उजुरी परिरहेका थिए । अख्तियारले जवाफ माग्थ्यो, महानगरले पत्र पठाएपछि टुंगिन्थ्यो । थप अनुसन्धान अघि बढेको थिएन ।

तर सार्वजनिक जग्गा मिचिएको त्यो विवादपछि अख्तियार आयुक्त अमात्य आफैंले चासो दिएर उजुरी हेर्न थालेको अख्तियार स्रोतको दाबी छ । अख्तियारले अमात्यलाई स्थानीय तहको अनियमितता हेर्ने जिम्मेवारी समेत तोकेको छ ।

अख्तियारले एकाएक नीजि विद्यालयलाई आर्थिक सहयोग बाँडेको, पहिरो पिडितलाई रकम बाँडेको, गैरकानूनी रुपमा प्रेस संयोजक नियुक्त गरेको भन्ने लगायतका उजुरीहरुमाथि छानविन अघि बढायो । अमात्यको निर्देशनमा अख्तियारका अनुसन्धान अधिकृतहरुले एकपछि अर्को पत्र लेखेर जवाफ माग्न थाले ।

अर्कोतर्फ अख्तियार आयुक्त सुमित्रा अमात्य आफ्नो घर अगाडीको खाली जग्गामा पार्क बनाउने योजना अघि बढाइन् । उनकै निर्देशनमा शहरी विकास मन्त्रालयले ४० लाखको बजेट छुट्यायो र त्यहाँ पार्क बनाउन थाल्यो ।

आफूले योजनाका लागि कुनै प्रक्रिया शुरु नगरेको र अघि नबढाएको अवस्थामा स्थानीय समूदायले धार्मिक काममा प्रयोग गरेको जग्गामा शहरी विकास मन्त्रालयले पार्क बनाउन खोजेको भन्दै महानगरपालिकाले आपत्ति जनायो, अनि कार्यक्रम कार्यान्वयनमा रोक लगाइदियो । एकातिर जग्गा मिचेको उजुरी, अर्कोतर्फ पार्क निर्माणमा अवरोध भएपछि अख्तियार आयुक्त अमात्य आक्रोश बढ्दो क्रममा थियो ।

पहिरो पीडितसँग बयान

१ असार, २०७८ मा काठमाडौंमा परेको ठूलो पानीपछि धापाखेलमा पहिरो गएको थियो । पहिरोले केही घर भत्किएको थियो भने केहीमा क्षति पुगेको थियो ।

महानगरपालिकाले घरबारविहीन भएकाहरुलाई साढे २ लाख र क्षति पुगेका घरधनीहरुलाई डेढ लाख रुपैयाँ राहत वितरण गर्‍यो । त्यतिबेला मेयरले आकस्मिक रुपमा निर्णय गर्न पाउने कार्यक्रम शीर्षकबाट महानगरपालिकाले २३ लाख बाँडेको थियो ।

आयुक्त अमात्य र मेयर महर्जनको द्वन्द्वपछि अख्तियारले त्यो निर्णयमाथि अनुसन्धान थाल्यो ।

मेयर महर्जन ५ चैत, २०८० देखि करिव तीन साता लामो अमेरिका भ्रमणमा थिए । अख्तियारले एकाएक धापाखेलका पहिरो पीडितहरुलाई बोलायो, बयान लिन थाल्यो । महानगरपालिकालाई नोक्सान हुने गरी रकम बाँडिएको र त्यसमा पीडितहरुले गैरकानूनी रुपमा लाभ लिएको भनी अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

‘त्यतिबेला दैवीप्रकोप समितिले निर्णय गरेर रकम बाँडिएको थियो, सरकारी बैंक नेपाल बैंक लिमिटेडमा नै खाता खोल्न लगाएर रकम जम्मा भएको थियो’ मेयर महर्जन भन्छन्, ‘म अमेरिकाबाट फर्केर आउनासाथ पीडितहरु मलाई भेट्न आए । अख्तियारले बोलाएको र बयान लिएको भन्दै उनीहरु आतंकित भएका थिए ।’

एकपछि अर्को उजुरी देखाउने र महानगरपालिकामा पत्र काटेर हैरान बनाउने क्रम बढेपछि चिरिबाबु अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईलाई भेट्न अख्तियारमा पुगे । उनले अख्तियार प्रमुखलाई पछिल्लो घटनाक्रम, आयुक्त अमात्यको विषय र त्यसपछि अख्तियारबाट भइरहेको कामकारवाहीवारे जानकारी गराए । मेयर अमात्यका सबै कुरा सुनेका राईले ‘मैले थप कुरा बुझ्छु’ भन्ने आश्वासन दिए र उनलाई विदावारी गरे ।

मेयर विरुद्ध अनेक उजुरी

आफूलाई असहयोग गरेको महसुस गरेकी आयुक्त अमात्यले केही महिना पहिले मेयर महर्जनलाई आफ्नो कार्यकक्षमा बोलाएकी थिइन् । त्यहाँ एउटा पुस्तिका देखाउँदै आयुक्तले कोरोनाको लकडाउनका बेला महानगरपालिकाले गरेको निर्णय देखाइन् ।

२०७६ को फागुनदेखि कोरोना भाइरसको महामारी शुरु भएको थियो । विद्यालय र कलेज बन्द हुनुअघि जावलाखेलस्थित चिडियाखाना बन्द भएको थियो । चिडियाखाना बन्द भएपछि त्यसको आयस्रोत घट्यो । जनावरको हेरचाह गर्नेहरुले आधा तलब पाउन थाले । जनावरहरुलाई खानेकुराको अभाव हुन थालेको खवर मेयर चिरिबाबुसम्म पुग्यो ।

मेयर महर्जनका अनुसार, उनले चिडियाखानाका व्यवस्थापकलाई बोलाए । र, चिडियाखानाका लागि १० लाख सहयोग गर्ने घोषणा गरेर चेक दिन खोजे । चिडियाखानाका व्यवस्थापकले त्यसरी सहयोग लिन मानेनन् । सार्वजनिक कार्यक्रम गरेर महानगरपालिकाले चिडियाखानालाई १० लाख सहयोग दियो । मेयर चिरिबाबुले चिडियाखानाको हात्तीलाई पृष्ठभूमिमा राखेर सहयोग रकम हस्तान्तरण गरे । उनी भन्छन्, ‘त्यसपछि सहयोगहरु थपिदै गयो, चिडियाखानाले केही सातामै एक करोड ५२ लाख सहयोग जुटायो ।’

तर अख्तियार आयुक्त डा. सुमित्रा अमात्यले आफ्नो कार्यकक्षमा बोलाएर चिरिबाबुलाई चिडियाखानाको सहयोगबारे सोधिन् । ‘म नराम्रोसँग जंगिए, के कुरा गरेको तपाईँले भनेरै रिसाएँ’ महर्जन भन्छन्, ‘महानगरभित्र रहेको चिडियाखानाका जनावर भोकभोकै मर्दा मेयरले सहयोग गर्न नपाउने ? तपाईँहरुले स्थानीय तहलाई के ठान्नुभएको छ ?’

मेयर महर्जनले ‘अब म तपाईको कार्यकक्षमा आँउदिन’ भन्दै त्यहाँबाट निस्किए । त्यसपछि त्यो प्रसंग त्यत्तिकै टुंगियो ।

ललितपुर महानगरपालिकाले दुई वर्षदेखि एसइइमा ४ जीपीए ल्याउने विद्यालय ४ लाख र विद्यार्थीलाई १ लाखका दरले पुरस्कार बाँड्ने निर्णय लिएको छ ।

नगरसभाबाट पारित योजना अनुसार महानगरपालिकाले विद्यालय र विद्यार्थीलाई नगद पुरस्कार दियो । सामूदायिकको तुलनामा नीजि विद्यालयबाट ज्यादा विद्यार्थीले ४ जीपीए ल्याएकाले नीजि विद्यालयहरुले पनि स्वतः पुरस्कार पाए ।

गत वर्ष नै त्यसबारेमा केही अनुसन्धान गरेपछि अख्तियारले फाइल तामेलीमा पठाएको थियो । र, त्यसको जानकारी महानगरपालिकालाई दिएको थियो । तामेलीमा पठाएको उजुरीमाथि फेरि अनुसन्धान अघि बढाउन भ्रष्टाचार भएको बल पुग्ने बलियो प्रमाण भेटिनुपर्छ । तर मेयर चिरीबाबुको दाबीमा, पूर्वाग्राहका कारण अख्तियारले फेरि अनुसन्धान शुरु गरेको छ ।

‘मैले आयुक्तलाई असहयोग गरेपछि तामेलीमा पठाइएको उजुरीमाथि फेरि छानविन गर्ने काम भयो’ मेयर महर्जन भन्छन्, ‘यति उपलब्धी हासिल गरेपछि पुरस्कार दिन्छु भनेको महानगरपालिकाले भेदभाव गर्न मिल्दैनथ्यो । महानगरपालिकाले नीजि र सामूदायिक विद्यालयलाई समान व्यवहार गरेको हो । नीजि विद्यालयलाई पैसा बाँड्ने भनेर दुःख दिने काम भयो ।’

ललितपुर महानगरपालिकाले रमा लुईंटेललाई प्रेस संयोजक र रुपकृष्ण कर्माचार्यलाई प्रेस सहजकर्ताको रुपमा नियुक्त गरेको छ । अख्तियारले त्यसमा प्रश्न गरेको छ । ‘कानून विना तोक आदेशको भरमा नियुक्ति गरी मासिक सेवा सुविधा समेत दिने गरेको उजुरी परेको’ भन्दै अख्तियारले छानविन अघि बढाएको छ ।

अख्तियारले बिहीबार बुझाएको पत्रमा त्यही विषयमा बयान दिन आउनु भनिएको छ ।

अख्तियार आयुक्त डा. अमात्यले ललितपुर महानगरपालिकासँग सम्बन्धित उजुरीको अनुसन्धानमा आयोग पूर्वाग्रही नभएको जिकिर गरिन् । उजुरी परेपछि अनुसन्धान हुने र त्यसक्रममा सम्बन्धित पक्षलाई बोलाउनु स्वाभाविक भएको उनको भनाइ छ ।

‘उजुरी परेपछि अनुसन्धानमा बोलाइएको हो । बहालवाला मन्त्री र मुख्यसचिवमाथि समेत हुने प्रक्रिया यही हो’ उनले भनिन्, ‘हामीले सबै अधिकार अनुसन्धान अधिकृतलाई प्रत्यायोजन गरेका छौं । म केही दिनदेखि आयोगको कामको सिलसिलामा सुर्खेतमा छु । डोजर चलाएपछि बयानमा बोलायो भन्ने आरोप सही होइन ।’

पार्क बनाउन नदिएको झोँक

ललितपुर–१० स्थित सरस्वती मन्दिर परिसरछेवैमा अमात्यको घरकम्पाउण्ड छ । अमात्यले आफ्नो कम्पाउण्डबाहिर सार्वजनिक बाटो रहेको दाबी गर्छिन् ।

अख्तियारकी आयुक्त डा. सुमित्रा अमात्य आफ्नो घरकम्पाउण्ड बाहिर सार्वजनिक बाटो रहेको र त्यतातिर गेट बनाउनु स्वभाविक हुने बताउँछिन् । उनले पुरानो र कमजोर भएको पर्खाल भत्काएर नयाँ बनाउने बाहेक अरु काम नभएको बताउँछिन् ।

तर अहिले आएर मेयर महर्जनले आफूमाथि पूर्वाग्रह राखेर पर्खाल भत्काएको उनको दाबी छ । अख्तियारको कार्यक्रमको सिलसिलामा सुर्खेतमा रहेकी उनले अनलाइनखबरसँग भनिन्, ‘अख्तियारले मेयरलाई बयानका लागि बोलाएपछि महानगरपालिकाले ममाथि अन्याय गरेको छ । पूर्वाग्रही भएर कुनै सूचना जारी नगरी मलाई म्याद समेत नदिएर घर भत्काएको छ ।’

महानगरपालिकाका कर्मचारीहरुका अनुसार, त्यो सार्वजनिक बाटो नभई सरस्वती मन्दिर परिसरको सार्वजनिक जग्गा हो । जहाँ कतिपय नेवार समूदायले आफ्नो कुलपूजा, धार्मिक गतिविधि लगायतका काम गर्छन् ।

यसमा विवाद उठेपछि आयुक्त डा. सुमित्रा अमात्यले आफूलाई सहज हुनु गर िपार्क बनाउन चाहिन्, जसमा महानगरपालिकाले प्रक्रिया अघि बढाइदेओस् भन्ने चाहन्थिन् । तर स्थानीय ज्यापु समूदाय, आफ्नो कुलपूजा समेत गर्ने सरस्वती मन्दिर परिसरको जग्गामा पार्क बनाउन नहुने र जग्गा मिचिएको संरचना हटाउनुपर्ने माग गरी महानगरपालिकामा डेलिगेसन गयो । आर्थिक वर्ष अन्त्य हुनलाग्दा पनि महानगरले पार्क निर्माणमा सहजीकरण गरेन ।

ललितपुर महानगरपालिकाका कर्मचारी, शहरी विकास मन्त्रालयका कर्मचारी र ठेकेदारबीच चाकुपाट सरस्वती मन्दिरमा पार्क निर्माणवारे छलफल पनि भयो । स्थानीय समूदायले आफूहरुले माग नगरेको, महानगरपालिकाले पनि अघि नबढाएको अवस्थामा अख्तियार आयुक्त अमात्यको चाहनामा पार्क निर्माणको योजना अघि बढाइएको भन्दै त्यसमा अवरोध गर्ने चेतावनी दिए ।

अख्तियारकी आयुक्त अमात्य भने सार्वजनिक जग्गामा पार्क बनाउने विषयमा विवाद नै नभएको दाबी गर्छन् । महानगरपालिकाले उपभोक्ता समितिमार्फत काम गराउन चाहेको तर आफू ठेक्काको पक्षमा रहेपछि विवाद झिकिएको दावी गरिन् । भनिन्, ‘अहिले श्रमदान गर्ने कोही पनि छैनन्, ठेक्कामार्फत काम गर्नु उचित हुन्छ भनेपछि उपभोक्ता समितिबाट काम गराउन खोज्नेहरुले विरोध गर्न थाले ।’

महानगरपालिकाबाट सहयोग नभएपछि आयुक्त अमात्यले १० नम्बर वडा कार्यालयबाट पार्क निर्माणमा सहजीकरणको अपेक्षा गरेकी थिइन । वडाध्यक्ष रविनमान व्यञ्जनकारले गुठीयार र स्थानीय समूदायको चाहना विपरित पार्क निर्माणमा सहजीकरण गरेनन् ।

अख्तियारले एकाएक वडा नं. १० बाट आर्थिक वर्ष २०७९/८० र ८०/८१ मा सम्पन्न भएका सबै योजना र कार्यक्रमहरुको विवरण पठाउनु भनी महानगरपालिकामा पत्र पठायो । पत्रका आधारमा महानगरपालिकाले ९१ वटा योजनाहरुको विस्तृत विवरण अख्तियारमा पठाएको छ । मेयर महर्जनका अनुसार, कुनै योजना वा कार्यक्रममा उजुरी परेको भए त्यही अनुसार पत्र पठाएको भए हुन्थ्यो, तर भएरभरका सबै विवरण मगाउने, आतंकित पार्नेमात्रै काम भयो ।

यही घटनाक्रम चलिरहेका बेला ललितपुर महानगरपालिकाले १९ असार, २०८१ मा डोजर लगेर आयुक्त अमात्यको दक्षिणपट्टिको गेट भत्काइदियो । मेयर महर्जन आफैं नगर प्रहरी र डोजर लिएर पुगेका थिए । उनका अनुसार, नक्सापासकै क्रममा घरकम्पाउण्डको पूर्वतिर बाहेक अरुतिर गेट बनाउन नपाइने शर्त थियो । त्यसैले महानगरको टोली अख्तियारका आयुक्तको घरको गेट भत्काएर फर्कियो ।

अख्तियार आयुक्त डा. अमात्य आफ्नो घरको कम्पाउण्ड र गेट भत्काउँदा ललितपुर महानगरपालिकाले कानूनसम्मत रुपमा काम नगरेको दावी गर्छिन् । उजुरी परेपछि त्यसमाथि छानविन, थप जाँचबुझका साथै स्थलगत अध्ययन र नापजाँच गरेर जग्गा मिचेको देखिएमा ३० दिनको समय दिनुपर्ने प्रक्रिया उल्लंघन भएको उनको जिकिर छ । उनले अनलाईनखबरसँग भनिन्, ‘ममाथि अन्याय भएको छ । क्षतिपूर्तिको माग सहित म अदालतमा जान्छु ।’

जवाफमा प्रेस संयोजक र सहजकर्ता नियुक्ति गरिएको अनि २०७६ सालमा बाढीपीडितलाई रकम बाडिएको विषयमा अनुसन्धान गर्नुपर्ने र त्यस सिलसिलामा बयान लिनुपर्ने भन्दै अख्तियारले पत्र काट्यो । एउटा पत्र मंगलबार (१८ असार) र अर्को पत्र बुधबार (१९ असार)को मिति राखेर जारी भएको छ । अख्तियारले महर्जनलाई २६ र २८ असारमा बयान दिन आउनु भनी लेखेको छ ।

महानगरका मेयर महर्जन आफूविरुद्धको उजुरी र अनुसन्धानको सामना गर्ने मनस्थितिमा छन् । तर अख्तियारबाट सामान्य प्रकृतिको विषयमा एकपछि अर्को पत्र आएपछि कर्मचारीवृत्त आतंकित भएको र त्यसले महानगरपालिकाको नियमित कामकारवाही नै प्रभावित हुने उनको चिन्ता थियो ।

‘आयुक्तको स्वार्थमा एकपछि अर्को आतंक शुरु भएपनि कर्मचारीहरुलाई करियरको चिन्ता हुन्छ, उनीहरुले काम गर्न चाहँदैनन्’ मेयर महर्जन भन्छन्, ‘मसँग काम गरेकोमा कर्मचारीहरुले गर्व गरुन् भन्ने मेरो चाहना छ, त्यही भावनाले काम गरेको छु । तर संवैधानिक निकायका एउटा पदाधिकारीले यसरी निरन्तर मनोबल खस्काइएदिएपछि हामीजस्ता जनप्रतिनिधिले कसरी काम गर्ने ?’

अख्तियारकी आयुक्त डा. अमात्यले ललितपुर महानगरपालिका कुशासनको नमुना भएको आरोप लगाइन् । उनले भनिन्, ‘त्यहाँजति बेथिती मुलुकका अरु स्थानीय तहमा छैन, आयोगले उजुरी परेपछि मात्रै छानबिन गरेको हो ।’

लेखकको बारेमा
कृष्ण ज्ञवाली

न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?