
२० असार, जनकपुरधाम । धनुषामा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ ।
धनुषाको धनौजी गाउँपालिका– ५ बअुहर्वाको एक सार्वजनिक पोखरीमा डुबेर १० देखि १२ वर्ष उमेरका तीन बालिकाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुन रहेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।
वडा नं. ५ का अध्यक्ष याकुव कवारीका अनुसार अजमेरी र जिनत दाजुभाइका छोरीहरु हुन् । अजमेरी कलिम खानकी र जिनत हलिम खानकी छोरी हुन् । मुस्कान उनीहरुका छिमेक अब्दुल खानकी छोरी हुन् ।
स्थानीय घोंघा पोखरीमा चारजना बालिका नुहाउन पसेका थिए । हामफालेपछि तीनजनालाई डुबेको देखेपछि किनारमा रहेकी अर्की बालिकाले स्थानीयलाई खबर गरेकी थिइन् । त्यसपछि स्थानीय युवाले तत्कालै हामफालेर सिकिस्त अवस्थामा बालिकाहरुको उद्धार गरेका थिए ।
उनीहरुलाई तत्कालै उपचारका लागि जनकपुर प्रादेशिक अस्पताल लगिएको थियो । एक जनाको अस्पताल लैजाँदै गर्दा र बाँकी दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बालिकाहरुको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
केही दिनयता परेको वर्षाले मधेशका पोखरीहरुमा पानीको सतह बढेको छ । पानीको गहिराइको अन्दाज नहुँदा नुहाउन पसेका बालिकाहरुले ज्यान गुमाउन पुगेको स्थानीयको भनाइ छ ।
प्रतिक्रिया 4