
काठमाडौं । आख्यानकार पञ्चम अधिकारीको नवीनतम कथासंग्रह ‘प्रवासीको देश हुन्न’ लोकार्पण गरिएको छ । बुधबार काठमाडौंमा आयोजित समारोहमा आख्यानकार नयनराज पाण्डे, समीक्षक राजकुमार बानियाँ, स्रष्टा एवं समीक्षक सुमन वर्षालगायतले कृतिको विमोचन गरे ।
आख्यानकार नयनराज पाण्डेले प्रवासबाट धेरै स्रष्टाका कृतिहरू आउन थालेको भन्दै अधिकारीको कथासंग्रहलाई मानक मानेर नेपाली डायस्पोरा साहित्यको अध्ययन गर्न सकिने बताए । ‘कथाको उठानदेखि बैठानसम्म सन्तुलन राख्ने खुबी नै अधिकारीको शक्ति र सामर्थ्य हो । प्रवासका एकाध स्रष्टाहरूमा मात्र यस्तो सामर्थ्य देखिन्छ,’ उनले भने ।
समीक्षक राजकुमार बानियाँले हत्तपत्त कसैको प्रशंसा नगर्ने आफूले अधिकारीको कथासंग्रह पढेपछि प्रशंसा नगरी चुप बस्न नसकेको बताए । ‘अधिकारीको काव्यशिल्प काव्यिक र बहुआयामिक छ,’ उनले भने, ‘यसले नेपाली कथामा नयाँ स्वाद र शैलीको बीजारोपण गरेको छ।’
यसैगरी समीक्षक सुमन वर्षाले प्रवासीको देश हुन्न भन्ने भाष्यलाई कृतिले स्वीकार नगरेको धारणा राखिन् । ‘अधिकारीका कथाले उत्तराधुनिक चेतना अँगालेका छन्,’ उनले भनिन्, ‘अति यथार्थवाद र जादुयी यथार्थवाद अनि अधिआख्यान (मेटाफिक्सन) को प्रयोग यस कृतिमा सफलतापूर्वक गरिएको छ ।’
संग्रहमा १४ वटा कथा समावेश छन् । युरोपको सेरोफेरोमा रहेर लेखिएको यस संग्रहका कतिपय कथामा मातृदेशको याद, युवावस्थाको पुरानो सम्झना र बहुसंस्कृतिवाद एवं विश्वबन्धुत्त्वको परिष्कृत प्राणीदेखि सपना जस्तै परिदृश्य र सप्तरंगी समग्रताको निष्ठामा बाँच्नेहरूको कहानी छ ।
अमेरिकामा हुर्केको नेपाली बच्चाले नेपाल फर्किंदा कायम राखेको ‘सानो सेक्रेट’, न्युयोर्कबाट फर्केकी अधबैंसे ब्युटिसियन ‘नेहा’ को बच्चा पाउने रहर, हाइस्कुले आइकन ‘लोकल हिरो’, नेताकी छोरीको गुण्डासँगको प्रेमप्रसंग ‘घातक आकर्षण’, काठमाडौं एयरपोर्टमा ‘प्रवासीको देश हुन्न’ भन्ने आत्मज्ञान, प्रवासमा महिलाको यौन शोषण ‘तिम्रो लोग्ने खै?’, राजा महाराजाको कथा भन्ने ‘पिकासो केटी’, एक होनहार प्रतिभाको अन्त्य ‘यो बर्बादी’, प्रेममा आत्म-खोज गर्दै ‘इपिसेन्टर पालुङटार’, तिमी सम्बोधनमा कथिएको यौनकथा ‘तिम्री स्वास्नी’, ढोँगी जीवनको मनोब्लग ‘इडियट’ लगायतका कथाहरू यस संग्रहमा समेटिएका छन् ।
शिखा बुक्सले प्रकाशन गरेको पुस्तकको मूल्य ४२५ रुपैयाँ रहेको छ । यसअघि लेखक अधिकारीको ‘पथिक प्रवासन’ (२०६७) उपन्यास प्रकाशित छ ।
प्रतिक्रिया 4