+

कपालमा चाया किन पर्छ ?

२०८१ असार  २० गते १८:१७ २०८१ असार २० गते १८:१७
कपालमा चाया किन पर्छ ?

झट्ट टाढाबाट हेर्दा कपाल राम्रो छ । तर नजिकबाट हेर्दा सेताम्मै चाया देखिन्छ । चायाले टाउको पनि अत्याधिक चिलाउने समस्याले पनि सताउँछ ।

यिनै समस्याले गर्दा अरूको छेउमा पर्न पनि हिच्किचाहट हुनसक्छ । र, घरबाट बाहिर निस्कन संकोच लाग्छ । यसले  मानसिक रूपमा लज्जाबोध त गराउँछ नै, शारीरिक रूपमा पनि असर गर्छ । तर यो समस्या हुँदैमा आत्तिनु पर्दैन । समयमा उपचार गरे यसलाई व्यवस्थापन गर्न सकिन्छ ।

चाया पर्ने समस्यालाई कसरी बुझ्ने ?

यो एक किसिमको फंगल इन्फेक्सनबाट लाग्ने समस्या हो । सरल भाषामा भन्दा यो एकप्रकारको ढुसी हो, जुन म्यालसेसिया फरफर नामक जीवाणुको कारण लाग्छ ।

हाम्रो टाउकोमा छाला क्षति हुने र नयाँ पैदा हुने क्रम निरन्तर चलिरहन्छ । यसरी टाउकोमा छाला मर्ने र नयाँ पैदा हुने क्रम चलिरहँदा टाउकोमा सेता, मसिना, फुस्रा दाग र धुलो देखिन थाल्छन् । जसलाई चाया भनिन्छ ।

कस्तो अवस्थामा पर्छ चाया ?

सामान्यतया चाया जुनसुकै उमेरमा देखिन सक्छ । बच्चाहरूमा आमामा हुने हर्मोनल गडबडीका कारण नौ महिनाभित्र देखा पर्छ । जुन बच्चाको टाउकोको अघिल्लो भागमा पाप्राको रूपमा रहेर बसेको हुन्छ ।

युवावस्थामा भने यो विभिन्न स्वास्थ्य समस्याका कारण देखा पर्न सक्छ ।

कारण

चाया पर्नुमा हार्मोनल परिवर्तन, सरसफाइको कमी, कपालमा बढी चिल्लोपन आउनु वा अत्याधिक सुक्खा हुनु जस्ता कारण जिम्मेवार हुन्छन् । यसैगरी टाउको अत्याधिक पसिनाले भिज्दा, नुहाउने बित्तिकै धेरै समय कपाल रुमालमा गुटमुटाएर राख्ने वा धेरै हेलमेटभित्र गुम्सिने गरेमा, बढी धुलोधुवाँमा र फोहोरमा बस्नु, पाकिन्सन्स रोग, एक्जिमा जस्ता स्वास्थ्य समस्याका कारण चाया पर्छ ।

चायाको समस्याबाट छुटकारा कसरी पाउने ?

हाम्रो शरीर र कपालमा एउटै फङ्गसका कारण चाया पर्ने हुँदा कतिपय अवस्थामा यो अत्याधिक मात्रामा बढी भई शरीरभरि नै फैलिन सक्छ ।

यस्तो अवस्थामा चायाले कतिको भाग ओगटेको छ । र, यसले कतिको असर पारेको छ भन्ने कुरा ध्यानमा राखेर औषधि उपचार गर्नुपर्छ ।

त्यसका लागि सबैभन्दा पहिला चिल्लोपना बढी भएको ठाउँमा फस्टाउने हुँदा बढी चिल्लो आउने कपालमा तेल हाल्न कम गर्नुपर्छ । चाया परेको बेलामा कपालमा तेल लगाउनै हुँदैन । र, कपालको सरसफाइमा ध्यान दिनुपर्छ ।

चाया प्रतिरोधात्मक शक्ति भएका किटोपनाजोल र किम्बाजोल जस्ता स्याम्पु तथा औषधिहरू पनि प्रभावकारी हुनसक्छन्, जुन चिकित्सकको सल्लाहमा मात्र लिनुपर्छ ।

यी स्याम्पुमा जिङ्क पैरिथियोन, केटाकोनाजोल नामक फङ्गस नाशक औषधि, पाप्रा बन्न नदिने कोल टार, सेलिसैलिक एसिडजस्ता औषधि राखिएको हुन्छ । जुन चिकित्सकको सल्लाहमा लगाउन सकिन्छ । यी उत्पादन कति पटक प्रयोग गर्ने भन्ने कुरा चाया कति मात्रामा पर्छ भन्ने कुरामा पनि भर पर्छ ।

हप्तामा दुई पटक एन्टिड्यान्ड्रफ स्याम्पुको प्रयोग गर्दा पनि चाया गइरहेको छैन भने अझ सक्रिय स्याम्पुको प्रयोग गर्न चिकित्सकहरू सुझाव दिन्छन् । यी स्याम्पु प्रयोग गर्दा तालुमा लगाएर एकछिन मसाज गरेर मात्र पखाल्नुपर्छ ।

तर यस्ता औषधिले पनि ठीक भएन, चायाले सतायो वा चायाका कारण चिलाएको ठाउँ रातो देखिन गई त्यहाँको छाला जान थालेको अवस्थामा तुरुन्त अस्पताल गई सम्बन्धित चिकित्सकसँग सम्पर्क गरी परीक्षण र थप उपचार आवश्यक हुनसक्छ ।

चायाबाट बच्न अत्याधिक धुलोधुवाँ भएको वातावरणबाट जोगिनुपर्छ । यदि त्यस्तो वातावरणमा हिंड्नैपर्ने भए टाउको तथा शरीर पूरा ढाकिने कपडा लगाउनुपर्छ । साथै, पर्याप्त पौष्टिक तथा भिटामिनयुक्त खानेकुरा खानुपर्छ ।

त्यस्तै, शारीरिक व्यायाम गर्दा कपालमा धेरै पसिना आउँछ भने दैनिक हल्का खालको स्याम्पुले नुहाउन सकिन्छ।

कपाल चाया प्रा. डा. सविना भट्टराई
प्रा. डा. सविना भट्टराई
लेखक
प्रा. डा. सविना भट्टराई
छाला तथा कस्मेटिक सर्जन

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : २७०१ एमबीबीएस (कोलकाता मेडिकल कलेज), एमडी (बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान) काठमाडौं मेडिकल कलेजकी पूर्वउपाध्यक्ष तथा विभागीय प्रमुख, हाल काठमाडौंको नागपोखरीस्थित लाभना स्किन एण्ड हेयर क्लिनिककी कार्यकारी निर्देशकको रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

अमेरिकाको स्वास्थ्य सेवाबाट नेपालले सिक्नुपर्ने कुरा

अमेरिकाको स्वास्थ्य सेवाबाट नेपालले सिक्नुपर्ने कुरा

कपालमा चाया किन पर्छ ?

कपालमा चाया किन पर्छ ?

महिलाले दैनिक आहारमा समावेश गर्नुपर्ने ५ तत्व

महिलाले दैनिक आहारमा समावेश गर्नुपर्ने ५ तत्व

डेंगु बढेसँगै सिटामोलको अभाव हुनसक्छ  

डेंगु बढेसँगै सिटामोलको अभाव हुनसक्छ  

के छ सेतो दुभीको उपचार ?

के छ सेतो दुभीको उपचार ?

एउटा जोखिमपूर्ण शल्यक्रिया गर्दाको क्षण

एउटा जोखिमपूर्ण शल्यक्रिया गर्दाको क्षण