+

अमेरिकाको स्वास्थ्य सेवाबाट नेपालले सिक्नुपर्ने कुरा

२०८१ असार  २१ गते ७:०० २०८१ असार २१ गते ७:००
अमेरिकाको स्वास्थ्य सेवाबाट नेपालले सिक्नुपर्ने कुरा

नेपालमा क्यान्सर, हृदयरोग, मधुमेह, मिर्गौलासम्बन्धी रोगजस्ता दीर्घकालीन रोग बढ्दै गएको छ । स्वास्थ्य सेवाको खर्च पनि आकाशिंदै गएको छ । यस्तो अवस्थामा कतिपय बिरामीले उपचार गर्न घरबारै बेच्नुपर्ने वा औषधोपचार गर्न नसकी देह त्याग गर्नुपर्ने अवस्था आउँछ ।

अमेरिकामा भने कुनै पनि नागरिक उपचारबाट आर्थिक वा कुनै कारणले वञ्चित हुनुपर्दैन । अस्पताल पुग्ने बित्तिकै बिरामीको उपचार सुरु भइहाल्छ । साथै कोही व्यक्तिलाई कुनै गम्भीर प्रकारको रोग लाग्यो भने पनि उसलाई सरकार र अस्पतालले नै हेरचाह गर्छन् ।

नेपालमा कुनै दुर्घटना भयो र मानिस इमर्जेन्सी अवस्थामा अस्पताल पुग्यो भने अस्पतालमा पैसा जम्मा नगरी बिरामी भर्ना नै हुन पाउँदैन, जसकारण उसको उपचार नै सुरु हुँदैन ।

अमेरिकामा भने बिरामी अस्पताल पुग्ने बित्तिकै उसको परिवारमा सूचना नपुग्दा नै बिरामीको उपचार सुरु हुन्छ । उसको उपचारमा कति खर्च भयो त्यो सबै बिलपछि अस्पतालबाट छुट्ने बेलामा मात्र आउँछ । त्यो बेला बिरामीले तिर्न सकेनन् भने पछि पनि तिर्न सक्छन् । अमेरिकामा बस्ने व्यक्तिको सोसल सेक्युरिटी नम्बर हुन्छ । त्यही नम्बरको आधारमा अस्पतालले बिरामीलाई ‘ट्रयाक’ गरेको हुन्छ ।

स्वास्थ्य सेवामा प्रविधि, सुविधा, पूर्वाधारका हिसाबले अमेरिका अगाडि छ । त्यसमा त अमेरिका र नेपाललाई तुलना गर्न मिल्ने कुरा पनि भएन ।

डा. शारदा काफ्ले त्रिपाठी

प्रभावकारी स्वास्थ्य बीमा

अमेरिकामा अधिकांश नागरिकको स्वास्थ्य बीमा हुन्छ । स्वास्थ्य बीमाले बिरामी वा घाइते भएमा डाक्टर वा अस्पताललाई धेरै पैसा तिर्नबाट जोगाउँछ । स्वास्थ्य बीमा गर्न स्वास्थ्य बीमा कम्पनीलाई नियमित प्रिमियम भुक्तानी गर्नुपर्छ ।

सार्वजनिक र निजी बीमा कम्पनीहरूले स्वास्थ्य बीमा प्रदान गर्छन् । मेडिकेयर, मेडिकेड, बाल स्वास्थ्य बीमा कार्यक्रम र अन्य सार्वजनिक योजना मार्फत त्यहाँ स्वास्थ्य बीमा सेवा प्राप्त गर्न सकिन्छ । स्वास्थ्य बीमा भन्नाले सामान्यतया स्वास्थ्य खर्च बेहोर्ने कार्यक्रम भन्ने बुझिन्छ । यो रोग तथा दुर्घटनाका कारण हुने स्वास्थ्यसम्बन्धी खर्चको जोखिमविरुद्धको बीमा हो । स्वास्थ्य बीमामा दुर्घटनाबाट भएको हानि–नोक्सानी, स्वास्थ्य खर्च, अपाङ्गता वा आकस्मिक मृत्यु र अंगभंगताको बीमा संलग्न हुन्छ । यसले बीमित व्यक्तिको रोग तथा चोटपटकको उपचारमा लाग्ने खर्च बेहोर्छ ।

अमेरिकाको मेडिकेयर प्रणाली पनि सामाजिक स्वास्थ्य बीमाको एउटा उदाहरण हो । मेडिकेयरले ज्येष्ठ वा अपाङ्गता भएका व्यक्तिलाई स्वास्थ्य बीमा प्रदान गर्छ । सामाजिक स्वास्थ्य बीमा सामान्यतया अनिवार्य हुन्छ । यस किसिमको योजना नेपालमा पनि लागू गरिनुपर्छ ।

नागरिकको आम्दानी कति छ त्यही अनुसारको बीमा शुल्क तिर्नुपर्छ । कसैको आम्दानीको स्रोत राम्रो छैन भने उसले थोरै पैसामा पनि बीमा गर्न पाउँछ । तर कसैको आम्दानीको स्रोत राम्रो छ भने उसको बीमाको भुक्तानी पनि त्यही अनुसार गर्नुपर्छ ।

अस्पतालले गर्छ बिरामीको सम्पूर्ण स्याहार

नेपालमा परिवारको कुनै एक जना सदस्यलाई गम्भीर प्रकारको रोग लाग्यो भने उसको हेरचाह गर्न परिवारको दुई जना सदस्यले त आफ्नो काम नै छोड्नुपर्ने हुन्छ । बिरामीको हेरचाह गर्नका लागि अस्पतालमा नर्स त हुन्छन् तर उनीहरूले बिरामीको राम्ररी हेरचाह गर्न भ्याउँदैनन् । किनकि एक जना नर्सले दैनिक २५ देखि ३० जनासम्म बिरामी पनि हेर्नुपर्ने हुन्छ ।

अमेरिकामा एक जना नर्सले दैनिक चार जना बिरामी मात्र हेर्नुपर्ने हुन्छ । त्यसैले बिरामीको सम्पूर्ण हेरचाह अस्पतालका नर्सहरूले नै गर्छन् । सबै औषधि बिरामीको आवश्यकताअनुसार अस्पतालमा नै उपलब्ध हुन्छ र नर्सले ल्याएर बिरामीलाई दिन्छन् । खाना पनि अस्पतालमा नै उपलब्ध गराइन्छ । त्यसैले बिरामी कुरुवाको रुपमा बस्नै पर्दैन । बिरामीको मनोबल बढाउन परिवारका सदस्य अस्पताल जान सक्छन् तर काम नै छोडेर बिरामीको हेरचाह गरेर बस्नु पर्दैन ।

आर्थिक अवस्था कमजोर भएकालाई सामाजिक अभियन्ताले पनि गर्छन् सहयोग

बिरामीले बीमा मार्फत सहुलियत पाउँछन् । तर यदि बिरामीसँग बीमा छैन र अस्पतालको खर्च बेहोर्ने आर्थिक अवस्था छैन भने सामाजिक अभियन्ताले बिरामीको उपचारमा सहयोग गर्छन् । अमेरिकाको हरेक अस्पतालमा सामाजिक अभियन्ताहरु हुन्छन् ।

सम्पन्न व्यक्तिहरूले स्वास्थ्य सेवाका लागि आर्थिक सहयोग गरेका हुन्छन् । त्यो सहयोगबाट नै सामाजिक अभियन्ताले आर्थिक अवस्था कमजोर भएका व्यक्तिको स्वास्थ्य सेवामा प्रयोग गर्छन् । नेपालमा डाक्टरलाई भगवान् मानिन्छ भने अमेरिकामा बिरामीलाई भगवान् । किनकि बिरामीकै कारण डाक्टरको पेशा रहन्छ र डाक्टरले सेवा गर्ने मौका पाउँछन् ।

कुनै बिरामी अस्पतालमा उपचार नपाएर मर्नु हुँदैन । आर्थिक अवस्था नाजुक भएको कारण उपचारपछि बन्धक भएर पनि बस्नुपर्दैन भन्ने कुरा नेपालले अमेरिकाबाट सिक्नैपर्छ ।

अमेरिका डा. शारदा काफ्ले त्रिपाठी स्वास्थ्य सेवा
डा. शारदा काफ्ले त्रिपाठी
लेखक
डा. शारदा काफ्ले त्रिपाठी

डा. त्रिपाठी अमेरिकाको कोलोराडोको नर्थग्लेनस्थित रिभाइभ मेडिकल वेलनेसकी निर्देशक हुन् । उनले कोलोराडो विश्वविद्यालय, आन्सचुट्ज मेडिकल क्याम्पसमा डाक्टर अफ नर्सिङ प्राक्टिस (डीएनपी) मा स्नातक गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

अमेरिकाको स्वास्थ्य सेवाबाट नेपालले सिक्नुपर्ने कुरा

अमेरिकाको स्वास्थ्य सेवाबाट नेपालले सिक्नुपर्ने कुरा

कपालमा चाया किन पर्छ ?

कपालमा चाया किन पर्छ ?

महिलाले दैनिक आहारमा समावेश गर्नुपर्ने ५ तत्व

महिलाले दैनिक आहारमा समावेश गर्नुपर्ने ५ तत्व

डेंगु बढेसँगै सिटामोलको अभाव हुनसक्छ  

डेंगु बढेसँगै सिटामोलको अभाव हुनसक्छ  

के छ सेतो दुभीको उपचार ?

के छ सेतो दुभीको उपचार ?

एउटा जोखिमपूर्ण शल्यक्रिया गर्दाको क्षण

एउटा जोखिमपूर्ण शल्यक्रिया गर्दाको क्षण