+

महिला क्रिकेटमा चम्किँदै दीपेन्द्रकी बहिनी राजमती

२०८१ असार  २० गते १८:१२ २०८१ असार २० गते १८:१२
महिला क्रिकेटमा चम्किँदै दीपेन्द्रकी बहिनी राजमती

२० असार, काठमाडौं । अलराउण्डर दीपेन्द्रसिंह ऐरी नेपाली क्रिकेट टिमका प्रमुख अलराउण्डर हुन् । उनले नेपाली क्रिकेटमा ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा आफ्नो प्रभुत्व जमाइसकेका छन् ।

उनकी बहिनी राजमती ऐरी पनि दाजुकै पथमा छिन् । उनी नेपाली महिला क्रिकेट टिमकी अलराउण्डर हुन् ।

२२ वर्षीया राजमतीले नेपालको य–ू१९ राष्ट्रिय टिम, घरेलु क्रिकेटका विभिन्न प्रतियोगिता हुँदै राष्ट्रिय महिला क्रिकेट टोलीमा पहिलो पटक स्थान बनाउन सफल भइन् । एपीएफबाट घरेलु क्रिकेट खेल्ने उनी जुलाई १९ देखि २८ सम्म श्रीलंकामा हुने महिला टी–२० एसिया कप खेल्ने टोलीमा परेकी हुन् ।

बायाँ हाते (लेफ्टी) खेलाडी उनले महिला टिममा पछिल्लो समय ओपनिङमा खेल्दै आएकी छन् । दाजु दीपेन्द्रले जस्तै मध्यक्रम र तल्लोक्रममा पनि खेल्ने गर्छिन् । दीपेन्द्र अफ स्पिन अलराउण्डर हुन् भने राजमती मध्य गतिकी बलर हुन् । फिटनेसमा दाजु बहिनी नै अब्बल छन् ।

‘पहिलो पटक नेपाली महिला टोलीमा पर्दा खुसी लागेको छ । एसिया कप आफैंमा ठूलो प्रतियोगिता हो । त्यसैमा म पहिलो पटक परेको छु’, राजमतीले भनिन् । कडा मिहिनेतको नतिजा आएकी उनी बताउँछिन् ।

महेन्द्रनगर घर भएकी राजमती सुरुवातमा तेक्वान्दो खेलाडी थिइन् । तर दाजु दीपेन्द्रले क्रिकेटमा राम्रो गर्दै गएपछि उनले तेक्वान्दो छाडेर क्रिकेट नै रोजिन् । सानोमा दाजुबहिनीले सँगै गाउँको खेतमा क्रिकेट खेलेका थिए । उनको परिवारमा पनि क्रिकेटकै माहोल छ । तीव्र गतिका बलर कमलसिंह ऐरी र विकेट किपर प्रदीप ऐरी उनीहरुका काकाका छोरा हुन् ।

‘म टिममा परेपछि दाइले बधाई दिनुभएको थियो । अझ राम्रो गर्न भन्नुभयो । मौका पाउँदा सदुपयोग गरेर सकरात्मक सोचले खेल्नु भन्नुभएको छ’, राजमतीले भनिन् ।

कोरोना महामारीमा सरकारले लकडाउन गरेका बेला दीपेन्द्र र राजमतीले घरमा सँगै क्रिकेटको अभ्यास गर्थे । काठमाडौंमा भने नेपालको खेल नहुँदा दीपेन्द्र नेपाल पुलिस क्लब र राजमती नेपाल एपीएफ क्लबमा अभ्यास गर्छन् । फरक विभागीय टोलीमा हुँदा सँगै अभ्यास गर्न पाउदैनन् । कहिलेकाहीँ त्रिविमा भेट हुँदा अभ्यास गर्ने गर्छन् ।

राजमतीले सन् २०१९ मा नेपालबाट चीनमा गएर बीएण्डआर प्रतियोगिता खेलेकी थिइन् । त्यतिबेला उनी मध्यगतिकी बलर मात्रै थिइन् ।त्यसपछि उनले ब्याटिङ गर्न थालिन् । छोटो समयमै बलिङ भन्दा ब्याटिङमा राम्रो प्रभाव छाड्न सफल भइन् ।

एपीएफबाट घरेलु क्रिकेटमा पनि उनले राम्रो प्रभाव छाडेकी छिन् । तर एपीएफले सिनियर खेलाडीलाई प्राथमिकतामा राख्दा प्रतियोगितामा खेल्ने अवसर भने कम पाएकी छन् ।

गत मेमा ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिपमा उनले सुदूरपश्चिम प्रदेशविरुद्ध ४६ बलमा ७ चौकासहित ५० रनको अर्धशतकीय इनिङ खेलेकी थिइन् । गत डिसेम्बरमा प्रधानमन्त्री कपमा कर्णालीविरुद्ध ५५ बलमा ९ चौका र २ छक्कासहित ६७ रन बनाएकी थिइन् । गतवर्ष ललितपुर मेयर्स कपमा ललितपुर–११ विरुद्ध उनले ४१ रन बनाउनुको साथै २ विकेट लिएकी थिइन् ।

‘२०१९ मा नेपालबाट खेल्दा बच्चै थिएँ । त्यस्तो खासै ध्यान दिइएन । अब मेरो लक्ष्य भनेको नेपालको नाम राम्रो राख्ने हो । महिला क्रिकेटलाई माथिल्लो स्तरमा पुर्‍याउने हो’, उनले भनिन् ।

कप्तान सीता रानामगरले उनको प्रतिभाबाट प्रभावित हुँदै २०७७ सालमा एपीएफमा आबद्ध गरेकी थिइन् । केही घरेलु खेलहरुमा सीताले राजमतीलाई ओपनिङमा मौका दिएकी थिइन् । खराब सट खेल्दा पेभेलियनबाट सीताले उनलाई सम्झाई बुझाई गर्ने गर्छिन् ।

‘राजमती एकदमै राम्रो प्रतिभा हुन् । कडा मिहिनेत गर्ने गर्छिन् । उनी सिनियर टोलीमा पर्दा मलाई एकदमै खुसी लाग्छ । आफैंले डोर्‍याएर ल्याएको बच्चाहरु अहिले मसँग नै टोलीको सदस्य भएर खेल्न पाउँदा म जस्तो भाग्यमानी कोही जस्तो लाग्दैन’, सीताले भनिन् ।

बहिनीलाई निरन्तर राम्रो गर्न दीपेन्द्रले सुझाव दिएका छन् । ‘बहिनी टोलीमा पर्दा खुसी लागि नै हाल्छ । अब यसलाई नै निरन्तरता दिनुपर्‍यो । अहिले मात्रै होइन हरेक पटक नेपाली टोलीबाट खेल्नुपर्‍यो । नेपाली टोलीलाई जिताउने प्रदर्शन गर्नुपर्‍यो’, दीपेन्द्रले भने ।

तस्वीर र भिडियो : शंकर गिरी/अनलाइनखबर

हेर्नुहोस् भिडियो

दीपेन्द्र सिंह ऐरी राजमती ऐरी
लेखक
भुपेन्द्र जि.सी.
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय