+

दीर्घकालीन दुखाइको कारण र उपचार

२०८१ असार  २१ गते १२:३० २०८१ असार २१ गते १२:३०
दीर्घकालीन दुखाइको कारण र उपचार

कुनै पनि दुखाइ तीन महिना भन्दा लामो समय रहन्छ भने त्यसलाई दीर्घकालीन दुखाइ भनिन्छ । लामो समयसम्म टाउकोको दुखाइ, घुँडाको दुखाइ, क्यान्सर भएपछि शरीरमा हुने दुखाइ दीर्घकालीन हुन्छ ।

दुखाइले शरीरमा भइरहेको र हुनसक्ने समस्यालाई संकेत गर्छ । यदि दुखाइ लामो समयसम्म भइरह्यो भने त्यसले हाम्रो दिनचर्यामा नै असर गर्छ ।

दीर्घकालीन दुखाइको समयमै उपचार गरिएन भने यो उमेरसँगै बढ्न थाल्छ । साथै, यो अस्थायी दुखाइ भन्दा लामो समयसम्म रहन्छ । यसको कारण अनिद्रा र थकानको समस्या हुन्छ । दुखाइ तीन महिना भन्दा लामो समयसम्म रहन्छ भने त्यसलाई पनि एउटा रोगकै रुपमा लिइन्छ ।

विश्व स्वास्थ्य संगठनले पनि दीर्घकालीन दुखाइलाई रोगकै रुपमा लिने गरेको छ । दीर्घकालीन दुखाइ टाउकोदेखि खुट्टासम्म शरीरको कुनै पनि अंगमा हुनसक्छ ।

दीर्घकालीन दुखाइको कारण

आर्थराइटिस दीर्घकालीन दुखाइको कारण हो । यो रोगमा शरीरमा युरिक एसिड बढ्छ, जसले गर्दा टाउकोदेखि खुट्टासम्म शरीरका सबै जोर्नी दुख्ने गर्छ । धेरैबेर एकै ठाउँमा बस्ने व्यक्तिमा घाँटी र ढाडको तल्लो भाग दुख्ने गर्छ । धेरै मानिसले यसको उपचार गर्दैनन्, तर यसको समयमा उपचार गरिएन भने यो पनि दीर्घकालीन दुखाइमा परिणत हुन्छ ।

माइग्रेनको दुखाइ पनि दीर्घकालीन दुखाइको रुपमा देखा पर्छ । यस्तो अवस्थामा टाउकोको जुनसुकै भागमा जुनसुकै बेला दुख्न थाल्छ । यदि स्नायुमा क्षति पुग्यो भने पनि दुखाइ लामो समयसम्म रहन्छ । तनाव र अनिद्राको कारण पनि दीर्घकालीन दुखाइ निम्तिन सक्छ ।

क्यान्सर, जनैखटिरा जस्ता समस्यामा पनि दुखाइ लामो समयसम्म रहन्छ । हड्डी खिइने, ढाडको डिस्कहरू चिप्लिएर नसा च्याप्दा ढाडसम्बन्धी दीर्घ दुखाइ हुन्छ ।

उपचार

दीर्घकालीन दुखाइ विभिन्न कारणले हुने भएकाले सुरुमा त दुखाइको कारण नै पत्ता लगाउनुपर्‍यो । के कारणले दुखेको हो, शरीरको कुन अंगको कुन भागले दुखाइ सुरुवात गरेको छ पत्ता लगाउनुपर्छ ।

त्यसका लागि एमआरआई, ब्लड टेस्ट, इन्भेस्टिगेसन एक्स-रे, डाइग्नोस्टिक इन्जेक्सन आदिको मद्दत लिइन्छ ।

धेरै दुखाइ चाहिं रोगसँग जोडिएर आउँछन् । रोगको उपचार गरेपछि दुखाइ पनि हराएर जान्छ । तर केही दुखाइको कारण भने पत्ता लाग्दैन त्यस्तोमा दुखाइलाई व्यवस्थापन गर्नुपर्छ । दुखाइका प्रकार, अवधि, औषधिको सम्भावित लाभ र जोखिममा निर्भर गर्दै दुखाइ कम गर्ने औषधि छनोट गरिन्छ ।

जोर्नी खिइएको दुखाइ, नसा च्यापिएको दुखाइ वा विभिन्न रोगका कारण निम्तिएको दुखाइका लागि पेन किलर कम प्रभावकारी हुन्छ । त्यसका लागि अरू नै उपचार पद्धति अपनाउनुपर्ने हुन्छ ।

जोर्नी खिइएको दुखाइमा ‘प्लेटलेटरिच प्लाज्मा’ खोपद्वारा बिरामीको उपचार गरिन्छ । प्लेटलेटरिच प्लाज्मा व्यक्तिको आफ्नै रगतबाट उत्पादन गर्न सकिन्छ । खासमा यो एक प्रकारको रक्तकोषिका (प्लेटलेट) हो । प्लेटलेटरिच प्लाज्मामा चोटपटक लागेको बेला पुनः निर्माण गर्न सघाउने ‘ग्रोथ फ्याक्टर’ हुने भएकाले खिइएको ठाउँलाई निको पार्न मद्दत गर्छ । साथै यसले क्षतिग्रस्त लिगामेन्ट, मांसपेशी, हड्डी र जोर्नीहरूलाई निको पार्न पनि सहयोग गर्छ ।

नसा च्यापिएर दुखेको छ भने नसालाई रेडियो फ्रिक्वेन्सी ओवुलेसन भन्ने टेक्नोलोजीले इन्जेक्सन मार्फत सुताएर पनि उपचार गरिन्छ । एक्सरसाइज, इन्जेक्सन, फिजियोथेरापी गर्नुपर्ने हुन्छ । त्यो बाहेक पनि टार्गेटेड ठाउँमा औषधि दिएर त्यसलाई ठीक गरिन्छ ।

कतिपय दुखाइमा ओजोन थेरापी पनि गरिन्छ, यसरी विभिन्न प्रविधिको प्रयोग गरेर दुखाइलाई नियन्त्रणमा ल्याउन सकिन्छ । दीर्घकालीन दुखाइ दीर्घकालीन रोगसँग आउने भएकाले यसको कुनै जादुयी उपचार छैन । च्वाट्टै निको हुन्छ भन्ने हुँदैन । त्यसैले यसलाई नियन्त्रणमा राख्नु नै उपचार हो ।

ध्यान दिनुपर्ने कुरा

कतिपय बिरामी दुखाइ सहेर बस्ने गर्छन् । औषधिको साइड-इफेक्ट हुन्छ भनेर औषधि खान डराउँछन् । दुखाइमा खाने सबै औषधिले किड्नी बिगार्ने, साइड-इफेक्ट ल्याउने भन्ने हुँदैन । कतिपय औषधिहरू लामो समयसम्म प्रयोग गर्दा पनि त्यसले केही असर नगर्ने हुन्छ । त्यसैले औषधि भन्ने बित्तिकै डराउन पर्दैन ।

लामो समयसम्म दुखाइ भइराख्यो भने त्यसले निद्रामा गडबड हुने, एन्जाइटी बढ्ने, तनावग्रस्त बनाउँछ । आफूले पहिले गरिराखेको काम गर्न सक्दैन । दुखाइले एकपछि अर्को समस्या ल्याइराख्छ । दुखाइ पालेर बस्दैमा आफैं हराएर कहिल्यै पनि जाँदैन । दुखाइलाई हेलचेक्र्याइँ गर्न मिल्दैन त्यसको नियन्त्रण गर्नुपर्छ ।

डा. निनादिनी श्रेष्ठ दुखाइ स्वास्थ्य समस्या
लेखक
डा. निनादिनी श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय