
२० असार, काठमाडौं । रामेछाप मन्थली नगरपालिकालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न बीपी कोइरालाको जन्मथलो सिन्धुली दुम्जा र पुष्पलाल श्रेष्ठको जन्मथलो रामेछाप भँगेरी जोडेर ‘बीपी–पुष्पलाल पर्यटन करिडोर’ बनाउनुपर्ने सुझाव सरोकारवालाले दिएका छन् ।
नगरपालिकाले नगरका पर्यटकिय गन्तव्य प्रचार तथा मन्थली विमानस्थल नियमित सञ्चालन पहल गर्न बिहीबार काठमाडौंमा आयोजना गरेको अन्तक्रियामा पर्यटन विकासका लागि मन्थली विमानस्थल बाह्रै महिना सञ्चालन हुने वातावरण बनाउनुपर्ने समेत सरोकारवालाले बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पर्यटन विकासका लागि चासो राखेर तीनै तहका सरकारका प्रतिनिधि तथा सरोकारवाला सहित छलफल गर्नु राम्रो भएको बताए ।
उनले रामेछाप पर्यटनका लागि सम्भावना भएको बताउँदै पर्यटकीय पूर्वाधार विकासमा सरकारका तर्फबाट आवश्यक सहजीकरण गर्ने बताए ।
बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले रामेछापको पर्यटन विकास प्रदेश सरकारको प्राथमिकतामा रहेको बताए ।
उनले रामेछाप र मन्थलीको पर्यटन विकास गर्न प्रदेश सरकारका तर्फबाट आवश्यक सबै सहयोग हुने बताए ।
त्यस्तै बागमती प्रदेशका उद्योग तथा पर्यटन समितिका सभापति आनन्दकुमार श्रेष्ठले पर्यटन क्षेत्रलाई सरकारले आर्थिक उपार्जनको महत्त्वपूर्णका क्षेत्रका रूपमा राखेको बताए ।
उनले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर मन्थलीसहित समग्र रामेछापको पर्यटन क्षेत्र विकास गर्न सकिने बताए ।
बागमती प्रदेशसभा सदस्य युवराज चौलागाईंले एकैपटक सबै सम्भव नहुने भए पनि मन्थली नगरपालिकाले कम्तीमा छलफल र प्रचार सुरु गरेकाले आगामी दिनमा समग्र रामेछापकै पर्यटन विकासका लागि सहयोग पुग्ने बताए ।
त्यसैगरी पूर्वमन्त्रीहरू कमल चौलागाईं र श्यामकुमार श्रेष्ठले रामेछाप र मन्थलीमा केही पनि छैन भन्ने गलत भाष्य निर्माण गरिएको भन्दै यसलाई चिर्न आवश्यक रहेको बताए ।
मन्थली नगरपालिका मेयर लव श्रेष्ठले मन्थली विमानस्थललाई नियमित सञ्चालनका लागि मन्त्रिपरिषद् वा सम्बन्धित निकायबाट निर्णय गराउन पहल भइरहेको र यसका लागि साथ दिन सबै राजनीतिक दलका प्रतिनिधिसहित व्यवसायीलाई आग्रह गरे ।
प्रतिक्रिया 4