+

अर्जेन्टिना र इक्वेडर पहिलो क्वाटरफाइनलमा भिड्दै

२०८१ असार  २० गते २०:४६ २०८१ असार २० गते २०:४६
अर्जेन्टिना र इक्वेडर पहिलो क्वाटरफाइनलमा भिड्दै

२० असार, काठमाडौं । अमेरिकामा जारी कोपा अमेरिका २०२४ को क्वाटरफाइनलका खेलहरु शुक्रबार बिहान सुरु हुँदैछ ।

पहिलो क्वाटरफाइनलमा साविक विजेता अर्जेन्टिनाले इक्वेडरसँग खेल्नेछ । उक्त खेल शुक्रबार बिहान नेपाली समयअनुसार ६:४५ बजे सुरु हुनेछ ।

अर्जेन्टिना समूह ए को विजेता बन्दै क्वार्टरफाइनल पुगेको हो भने इक्वेडर समूह बी को उपविजेता हो ।

अर्जेन्टिना अहिले उच्च लयमा छ । उसका लागि लाउटारो मार्टिनेजले सर्वाधिक ४ गोल गरिसकेका छन् । उनले समूह चरणको सबै तीन खेलमा गोल गरेका थिए ।

कप्तान लिओनल मेसीले चोटका कारण पेरुविरुद्ध समूहको अन्तिम खेल खेलेका थिएनन् । मेसी इक्वेडरविरुद्धको खेलमा मैदान फर्कन सक्छन् । तर उनले खेल्ने नखेल्ने निश्चित छैन ।

मेसी नखेलेमा अग्रपंक्तिमा लाउटारो र जुलियन अल्भारेजले सम्हाल्न सक्छन् ।

उता इक्वेडरले समूहको अन्तिम खेलमा मेक्सिकोलाई बराबरीमा रोक्दै अन्तिम आठमा स्थान बनाएको थियो । इक्वेडरका मोइसेस साइसेडो उच्च लयमा छन् । यस्तै केन्ड्री पाएजले पनि युवा उमेरमै राम्रो सम्भावना देखाएका छन् ।

अर्जेन्टिना र इक्वेडर कोपा अमेरिकामा अहिलेसम्म १६ पटक खेल्दा अर्जेन्टिना अपराजित छ । अर्जेन्टिनाले ११ खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ ।

नकआउट चरणमा भने अहिलेसम्म यी दुई टोली एक पटक भिडेका थिए । सन् २०२१ को क्वार्टरफाइनलमा अर्जेन्टिनाले इक्वेडरलाई ३-० ले पराजित गरेको थियो ।

अर्जेन्टिना-इक्वेडर खेलको तथ्याङ्क

-अर्जेन्टिनाले सबैखाले प्रतियोगितामा गरेर पछिल्लो ८ खेल जितेको छ । प्रशिक्षक लियोनल स्कालोनीको प्रशिक्षणमा यो कीर्तिमानी जितयात्रा हो । यदि क्वार्टरफाइनलमा इक्वेडर विरुद्ध जित हात पारे सन् २०१८ मा डेब्यु गरेका प्रशिक्षक स्कालोनीका लागि नयाँ कीर्तिमान बन्नेछ ।

-लाउटारो मार्टिनजेल २०२४ को कोपामा अहिलेसम्म ४ गोल गरेका छन् । २१औं शताब्दीमा अहिलेसम्म अर्जेन्टिनाका लागि दुई खेलाडीले मात्र एकै संस्करणमा त्यो भन्दा धेरै गोल गरेका छन् । जुवान रोमन रिक्वेल्मले २००७ र मेसीले २०१६ मा ५-५ गोल गरेका थिए ।

-इक्वेडरका केन्ड्री पाएजले सबैभन्दा धेरै १९ पटक बल रिकभरी गरेका छन् । यस्तै समूह बी मा धेरै सुट गर्नेमा उनी सालोमोन रान्डोन भन्दा पछि दोस्रोमा छ । रान्डोनले १३ र पाएजले १० सुट प्रहार गरेका छन् ।

-अर्जेन्टिनाको गोलकिपर एमिलियानो मार्टिनजेले कोपा अमेरिकाको समूह चरणमा गोल बेहोरेका छैनन् । यदि उनले क्वाटरफाइनलमा क्लिनसिट राखेमा गत संस्करणमा ब्राजिलमा राखेको चार क्लिनसिटको कीर्तिमान बराबरी गर्नेछन् । अर्जेन्टिनाका लागि यसअघि एक गोलकिपरले मात्र दुई फरक संस्करणमा ४-४ क्लिनसिट राखेका छन् । सर्जियो रोमेरोले सन् २०१५ र २०१६ मा चार क्लिनसिट राखेका छन् ।

कोपा अमेरिका २०२४
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय