+
+

प्रचण्डकै शैलीमा अध्यक्ष बने माधव

सइन्द्र राई सइन्द्र राई
२०८१ असार २० गते २१:५३

२० असार, काठमाडौं । एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशनले पुरानै नेतृत्वलाई निरन्तरता दिएको छ । बिहीबार साँझ अध्यक्षमण्डलका अध्यक्ष झलनाथ खनालले माधवकुमार नेपाल निर्विरोध अध्यक्ष चयन भएको घोषणा गरेका हुन् ।

सम्मानित नेतामा आफ्नै नाम लिएका पूर्वप्रधानमन्त्री खनालले घनश्याम भूसाल निर्विरोध महासचिव बनेको घोषणा गरेका छन् । अध्यक्ष मण्डलको हैसियतमा खनालले घोषणा गरेका नामहरू अनुमोदन गरिदिन हलमा सहभागी प्रतिनिधिहरुसँग आग्रह गरेका थिए ।

प्रतिनिधिहरुले ताली बजाएर अनुमोदनको जनाऊ दिएपछि खनालले थप कार्यसूची प्रस्तुत गरे । उनका अनुसार, अब बाँकी पदाधिकारी र केन्द्रीय सदस्यहरु सचिवालय बैठकबाट टुंग्याइनेछ । ‘क्षमता, योग्यता र भौगोलिका क्षेत्र हेरेर सचिवालयले बाँकी पदाधिकारी र केन्द्रीय सदस्य टुंगो लगाउनेछ’, खनालले घोषणा गरे ।

बाँकी पदाधिकारी र केन्द्रीय सदस्य टुंग्याउने घोषणालाई पनि अनुमोदन गरिदिन उनले आग्रह गरे । हलबाट उस्तै ताली बज्यो । तर यसपटक मञ्चमै रहेकी पार्टी सचिव रामकुमारी झाँक्रीले असहमतिको हात उठाएकी थिइन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत् झाँक्रीले अध्यक्ष र महासचिव पदमा निर्विरोध गर्ने सहमति भएपनि बाँकी पद र केन्द्रीय सदस्यबारे अध्यक्ष मण्डललाई कुनै म्याण्डेट नरहेको प्रष्ट्याइन् ।

तर उनको असहमति बन्दसत्र हलमा खनालले सुन्ने अवस्था थिएन । खनाल फटाफट अगाडि बढे । अर्को घोषणा गरे, ‘अब तपाईंहरु यहाँ बसिरहन पर्दैन, कमिटीलाई पूर्णता दिन सचिवालयले काम गर्छ ।’

अर्थात् खनालले पाँच दिनसम्म चलेको महाधिवेशन समापन गरे । अरु नेताहरुका अनुसार पनि १६ असारदेखि कमलादीमा जारी महाधिवेशन अधुरो नेतृत्व चयन गर्दै सकिएको छ । ‘मूल नेतृत्व निर्विरोध भयो, बाँकी कुरा अब हुन्छ । तर महाधिवेशन सकियो’, उपमहासचिव प्रकाश ज्वाला भन्छन् ।

उनका अनुसार, नयाँ कमिटी नबनेसम्म चलिरहेकै कमिटी र नेतृत्व क्रियाशील रहने एकीकृत समाजवादीको विधान रहेकाले पुरानै सचिवालयले बाँकी नेतृत्व चयन गर्नेछ । एकीकृत समाजवादीको पछिल्लो सचिवालय बैठकको निर्णय बमोजिम यो महाधिवेशनबाट २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नुपर्नेछ ।


तर दशौं महाधिवेशनमा आएका १८ सय प्रतिनिधिको विवेकमार्फत् नभएर अध्यक्ष मण्डलबाटै निर्विरोध नेतृत्व घोषणा गर्ने प्रयत्नमा शीर्ष नेताहरुबीच केही दिनदेखि लगातार छलफल चलेको थियो । प्रज्ञाभवन कमलादीमा विभिन्न प्रतिवेदनमाथि छलफल चलिरहँदासमेत नेताहरुले नेतृत्वमा निर्विरोधको प्रयत्न गरिरहेका थिए ।

बुधबार साँझ सबै प्रतिवेदन पारित भएपछि निर्विरोध नेतृत्व चयन गर्न राति १ बजेसम्म छलफल चलेको थियो । फेरि आज बिहानदेखि सुरु छलफलले अपरान्ह अबेर सहमति जुटायो ।

अध्यक्ष पदको दाबी गरेका घनश्याम भूसाल फेरि महासचिव बस्न मञ्जुर भएकाले सहमति जुटेको हो । स्रोतका अनुसार, भूसालले अध्यक्ष पद छोड्दा वरिष्ठ उपाध्यक्ष र महासचिव पद आफूले भनेको व्यक्ति हुनुपर्ने अडान लिएका थिए । यसमा माधव नेपाल सहमत थिए ।

त्यो सहमति अनुसार, माधव अध्यक्ष, घनश्याम वरिष्ठ उपाध्यक्ष र प्रकाश ज्वाला महासचिव हुने थिए । तर घनश्याम बाहेक अरुलाई महासचिव स्वीकार्न नसकिने भन्दै निकट नेताहरुले माधव नेपालमाथि दिएका थिए ।

यसपछि पूर्वसहमतिबाट हट्दै माधव नेपाल भूसालसँग अर्को सहमतिका लागि छलफलमा बसे । स्रोतका अनुसार, अध्यक्ष पदको अधिकार कटौती गरेर महासचिवको बढाउने सहमति भएको छ । ‘महासचिव पद त्यसैपनि कार्यकारी हो । तर थप अधिकार सहितको कार्यकारी महासचिव बनाउने सहमति भएको छ’, ती स्रोतले भन्यो ।

यस्तो अभ्यास तत्कालीन एमालेले विगतमा गरिसकेको छ । तत्कालीन नेकपा माक्र्सवादी र मालेबीच एकता भएर २०४६ सालमा एमाले बन्दा मनमोहन अधिकारी अध्यक्ष र मदन भण्डारी कार्यकारी महासचिव थिए । अर्थात् झलनाथ खनालपछि घनश्याम भूसाल समेत मनाएर ७१ वर्षीय माधव नेपाल फेरि पनि पार्टी अध्यक्ष बनेका छन् ।

माधव निकट नेताहरुले यसलाई आवश्यकता भनेका छन् । ‘हामी सामान्य अवस्थाबाट आएका होइनौं । एमाले जस्तो पार्टीबाट विद्रोह गरेर बनेको पार्टीको नेतृत्वमा एकपटक माधव नेपाल हुनुपर्छ भन्ने कार्यकर्ता पंक्ति विशाल छ’, पोलिटब्यूरो सदस्य राजन राई भन्छन्, ‘अधिकांश कार्यकर्ताको भावनालाई सम्मान गर्ने गरी नेतृत्वले निर्णय लिनु राम्रो हो ।’

महाधिवेशनबाट नेतृत्व फेरेर जानुपर्छ भन्ने पंक्ति पनि ठूलै देखिएको थियो । पाँच दशकदेखि राजनीतिको नेतृत्व पंक्तिमा रहेका माधव–झलनाथलाई विदा गरेर जाँदा पार्टीको आकर्षण बढ्ने उनीहरुको तर्क थियो ।

एक/एक पटक प्रधानमन्त्री भइसकेका माधवले तत्कालीन एमालेको १४ वर्ष र झलनाथले १२ वर्ष नेतृत्व गरेका थिए । नेपाल र खनाल दुवैलाई बिदा दिएर घनश्यामलाई नेतृत्वमा लैजादा अरु पार्टीहरुमा पनि दबाब बढ्ने उनीहरुको विश्वास थियो ।

तर नेतृत्व हस्तान्तरणको सन्देश अरु दललाई दिने नभएर एकीकृत समाजवादीले अढाई वर्ष अगाडि कमलादीमै सम्पन्न माओवादी केन्द्रको आठौं महाधिवेशनकै सिको गरेको छ ।

२०७८ पुसमा सम्पन्न माओवादीको महाधिवेशन हलबाट ३२ वर्षपछि पनि पुष्पकमल दाहाल प्रचण्डलाई नेतृत्व अनुमोदन गरेको थियो । आफ्नोसहित केन्द्रीय सदस्यहरुको नाम प्रचण्डले बन्दसत्र हलमा अनुमोदनका निम्ति प्रस्तुत गरेका थिए । हलले ताली बजाएर अनुमोदन गरेको थियो । बाँकी पदाधिकारी बनाउने म्याण्डेट लिएका प्रचण्डले आजसम्म पूर्ण कमिटी तयार पार्न सकेका छैनन् ।

२०७८ मंसिरमा सम्पन्न नेकपा एमालेको दशौं महाधिवेशनमा पनि झण्डै यस्तै दृष्य देखिएको थियो । तर औपचारिकताकै निम्ति भएपनि एमालेमा अध्यक्षसहित निर्विरोध नभएका पदहरुमा मतदान भएको थियो ।

केपी शर्मा ओलीविरुद्ध अध्यक्ष पदमै भीम रावलले उम्मेदवारी दिएका थिए । भलै ठूलो अन्तरले ओलीले अध्यक्ष जिते, भीम रावलले अध्यक्षमा प्रतिस्पर्धा गरेकै कारण भूमिकाविहीन हुँदै आउनु परेको छ ।

तर ओलीलाई निरंकुश शैलीमा पार्टी चलाएको आरोप लगाउँदै फुटेको एकीकृत समाजवादीभित्र पनि लोकतान्त्रिक अभ्यास भने देखिएन । राजनीतिक विश्लेषक झलक सुवेदी यो महाधिवेशनबाट कुनै उत्साहको सन्देश जान नसकेको बताउँछन् ।

‘सबै पार्टीहरुमा पुराना नेताहरुको जाम छ । एकीकृत समाजवादीमा घनश्याम भूसालले त्यो जाम खोल्ला भन्ने आश थियो’ उनी भन्छन्, ‘तर पुरानै नेताहरुलाई निरन्तरता दिएर घनश्याम भूसाल र त्यो पार्टीका युवाहरु पराजित भएको सन्देश गयो ।’

पञ्चायतकालबाटै नेतृत्वमा रहेकाहरुलाई अनुमोदन गरेर सकिएको महाधिवेशनले जनतालाई थप निराश बनाउने काम गरेको उनी बताउँछन् । ‘परिवर्तन चाहने शक्तिको आकार बढिरहेको छ । तर अनेक बाहना गरेर पुरानै अनुहार देखाउँदा नागरिकमा थप निराशा बढेको छ’, सुवेदी भन्छन् ।

एकीकृत समाजवादीका केही नेताहरु भने अझैपनि पार्टीलाई आकर्षक बनाएर लैजाने ठाउँ बाँकी रहेको बताउँछन् । ‘मूल नेतृत्व टुंगियो । सम्मानित नेता र महासचिव चयन हुनुभयो । तर बाँकी ठूलो संरचना तयार पार्नुछ’, केन्द्रीय सदस्य अशेष घिमिरे भन्छन्, ‘बाँकी पदाधिकारी र केन्द्रीय कमिटीलाई युवामय बनाउने अवसर अझै छ ।’

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?