+
+

बागमती सरकारबाट बाहिरिँदै एमाले

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २१ गते ११:५१

२१ असार, हेटौंडा । नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।

केन्द्रीय सत्ता समीकरणमा फेरबदल आएसँगै नेकपा माओवादी केन्द्रले नेतृत्व गरिरहेको बागमतीमा एमालेले समर्थन फिर्ता लिन लागेको संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले जानकारी दिए । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा समर्थन फिर्तासहित मन्त्रीहरूको सामूहिक राजीनामा बुझाउने उनले बताए ।

थपलिया र मुख्यमन्त्री शालिकराम जम्कट्टेल दुवै काठमाडौंमा छन् । उनीहरु शुक्रबार हेटौंडा फर्किने तयारीमा छन् ।

बागमतीमा एमालेबाट पाँच जना मन्त्री छन् । नेता थपलियासहित रामेश्वर श्रेष्ठ, केशव पोख्रेल, एकालाल श्रेष्ठ र प्रकाश श्रेष्ठ मन्त्री छन् ।

प्रदेशको दोस्रो कार्याकालमा एमाले दोस्रो पटक सरकारबाट बाहिरिँदै छ । २५ पुस २०७९ मा एमाले, राप्रपा, माओवादी केन्द्र र एकीकृत समाजवादीको सत्ता समीकरणबाट दोस्रो कार्यकालको पहिलो सरकार गठन भएको थियो । उक्त सरकार साढे २ महिनामात्रै टिक्यो र एमाले सरकारबाट बाहिरियो । १० चैत २०७९ मा मुख्यमन्त्री जम्कट्टेलले कांग्रेस र एकीकृत समाजवादीसँगको गठबन्धन सरकारका लागि विश्वासको मत लिएका थिए ।

२० फागुन २०८० मा फेरि एमालेसँग माओवादीको केन्द्रीय सत्ता समीकरण बनेसँगै बागमतीमा एमाले चैत पहिलो साता सरकारमा गएको थियो । एमाले, माओवादी, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको सरकार गठन भयो । तर वर्तमान सरकार पनि लामो समय नटिक्ने निश्चित प्रायः छ ।

केन्द्रीय राजनीतिमा कुनै नाटकीय परिवर्तन नभए बागमतीमा अब चौथो पटक एमाले र कांग्रेसको गठबन्धन सरकार बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?