+
+

किअर स्टार्मर बन्नेछन् बेलायतको नयाँ प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २१ गते १२:१९

काठमाडौं । बेलायतमा लेबर पार्टी ऐतिहासिक जितका साथ १४ वर्षपछि सत्तामा फर्किने भएको छ ।

आम चुनावमा लेबरले अहिलेसम्म ३९५ सिट जितिसकेको छ, जुन बहुमतभन्दा बढी हो । नराम्रो हार व्यहारेको कन्जरभेटिभ पार्टीले भने १०४ सिट मात्र जितेको छ ।

६५० सदस्यीय संसदमा सरकार बनाउन ३२६ सिट जित्नुपर्छ । योभन्दा बढी सिट जितिसकेको लेबर पार्टी २०१० पछि सत्तामा फर्किने पक्का भयो । यदि लेबरले ४१० सिट जिते सन् १९९७ मा टोनी ब्लेयरको समयपछि लेबरको सबभन्दा ठूलो जित हुनेछ ।

बेलायतमा राजाले सबभन्दा धेरै सिट जितेको दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

लेबर पार्टीका नेता किअर स्टार्मर प्रधानमन्त्री हुनेछन् ।

उनी अफूलाई वर्किङ क्लासको पृष्ठभूमिबाट आएको बताउँछन् । उनका बुवा एक टूलमेकर थिए भने आमा नर्स । अक्सफोर्ड विश्वविद्यालयबाट कानुन पढेका स्टार्मरले मानवअधिकार कानुनमा विशेषज्ञता हासिल गरेका छन् ।

उनले अफ्रिकामा गएर मृत्युदण्डको सामना गरिरहेका कैदीहरुको मुद्दा लडेका थिए । ९० को दशमा उनले तथाकथित म्याक्लिबेल कार्यकर्ताको मुद्दा निःशुल्क लडेका थिए ।

बेलायतका प्रधानमन्त्री ऋषि सुनक र लेबर पार्टीका नेता कियर स्टार्मर (दायाँ)

म्याकडोनल्ड्स कर्पोसरन भर्सस स्टील एण्ड मोरिस १९९७ केसलाई म्याक्लिबेल मुद्दाका रुपमा चिनिन्छ । म्याकडोनल्ड्स कर्पोसरनल कम्पनीको आलोचना गर्ने पर्यावरण कार्यकर्ताविरुद्ध मानहानीको मुद्दा चलेको थियो, जसले म्याकडोनल्ड्स कम्पनीको पर्यावरणसम्बन्धी दाबीमा प्रश्न गरेको पर्चा बाँडेका थिए ।

राजनीतिक यात्रा

किअर स्टार्मर २०१५ मा उत्तरी लण्डनको होबेन एण्ड सेन्ट प्यान्क्रस क्षेत्रबाट सांसद चुनिए । उनले पूर्व लेबर नेता जर्मी कर्बिनको फ्रन्टबेन्च टिममा उनको ब्रेग्जिट सचिवका रुपमा काम गरे ।

२०१९ मा पार्टीले नराम्रो हार व्यहोरेपछि किअर स्टार्मरले लेबर नेताको पदमा चुनाव लडे र २०२० मा पार्टीको नेता बने । जीतपछि उनले भनेका थिए, ‘लेबरको विश्वास र आशाको नयाँ युगमा लैजाने छौं ।’

तर सुरुमा उनलाई पार्टीको लोकप्रियता बढाउन निकै सकस भयो । २०२१ को उपचुनावमा लेबरको हारपछि उनको ध्यान रेड वाललाई फेरि जित्नेमा थियो ।

रेड वाल उत्तर इंग्ल्याण्ड र मिडल्याण्डको त्यो सिट हो, जहाँ विगतमा लेबरले जित्ने गरेको थियो । तर २०१९ को चुानवमा कन्जरभेटिभ पार्टीले जितेको थियो ।

किअर स्टार्मरले पार्टीको नीति पुनर्विचार गरे र विश्वविद्यालयमा ट्युशन फि अन्त्य गर्ने तथा पानी र बिजुली कम्पनीलाई राष्ट्रियकरण गर्ने बाचा अगाडि सारे ।

अरु के छ चुनावी बाचा ?

किअर स्टार्मरले बेलायतको स्वास्थ्य सेवा एनएचएसमा विरामीका लागि वेटिङ लिस्ट (पालो कुर्नुपर्ने अवस्था) कम गर्ने बाचा गरेका छन् । उनले सीमा सुरक्षा कमाण्ड सुरु गर्ने बताएका छन् ताकि साना र खतरनाक डुंगाबाट हुने मानव तस्करीमा रोक लगाउन सकियोस् ।

किअर स्टार्मरले १५ लाख नयाँ घर बनाउने बताएका छन् । त्यसमा पहिलो पटक घर किन्नेहरुको पहिलो अधिकार हुने भनिएको छ । ६ हजार ५०० शिक्षक भर्ती गरिनेछ र यसको खर्च निजी स्कुलले पाउने गरेको ट्याक्स ब्रेक रोकेर जुटाइने उनको चुनावी बाचा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?