+
+

भैंसेपाटीको नयाँ आवासमा बस्न थाले मन्त्री

बगैंचासहित २५ भवन भइसकेका छैनन् तयार

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०८१ असार २१ गते १३:५९
फाइल तस्वीर

२१ असार, काठमाडौं । ललितपुरको भैंसेपाटी संघीय मन्त्रीहरुको नयाँ निवासमा मन्त्रीहरु बस्न सुरु गरेका छन् । सरकारी र ठेकेदार कम्पनीहरुको उदासीनताका कारण निर्माणमा ढिलाइ भएको नयाँ आवास क्षेत्रमा बल्ल तयार भएका भवनहरुमा २ जना मन्त्रीहरु बस्न थालेका हुन् ।

करिब ३ अर्ब लागतको आयोजनाको काम नसकिए पनि तयार भएका केही भवनहरुमा मन्त्रीहरु बस्न सुरु गरेका हुन् । तीन वटा प्रयोगमा नै आइसके पनि अहिलेसम्म २५ वटा आवासीय भवनको इन्टेरियर तयार भइककेको छैन ।

शहरी विकास मन्त्रालय अन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका आयोजना निर्देशक मचाकाजी महर्जन भवनको निर्माणको काम सकिएर आवश्यक सामग्री राखेर कोठाहरु सजाउने काम चलिरहेको बताउँछन् ।

उनका अनुसार मन्त्री निवासमा दुई हप्ताअघि वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडी र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादव भैंसेपाटीको मन्त्री निवासमा बस्न थालेका हुन् । २ मन्त्रीबाहेक राष्ट्रिसभाका उपाध्यक्ष बिमला घिमिरे पनि मन्त्री निवासस्थित सरकारी आवासमा सरेको महर्जनले बताए । पुल्चोकमन्त्री निवासबाहिर  रहेका मन्त्रीहरूलाई नयाँ आवासमा राखिएको हो ।

तोकिएको समयभन्दा करिब साढे २ वर्ष भइसक्दा पनि मन्त्री निवासा पूर्ण रुपमा तयार भने भइसकेको छैन । भैंसेपाटीमा २४ मन्त्रीका लागि छुट्टाछुट्टै भवन बनाइएको छ भने सो स्थानमा राष्ट्रिय सभाका अध्यक्षका लागि पनि विशेष भवन तयार गरिएको छ । त्यसबाहेक अरु दुई भवन प्रतिनिधिसभाका उपसभामुख र राष्ट्रिय सभाको उपाध्यक्षका लागि तयार गरिएको छ ।

आयोजना निर्देशक महर्जनका अनुसार नयाँ मन्त्री निवासका भवनहरुमा इन्टरेरियर र सरसफाइको काम चलिरहेको छ । अरु भवनहरु बस्न योग्य हुने गरी सबै काम नसकिएकाले मन्त्रीहरुलाई पुल्चोकबाट भैंसेपाटी नसारिएको उनले बताए । ‘अब नयाँ मन्त्रीमण्डलका मन्त्रीहरुलाई भैंसेपाटीको मन्त्री निवासमै सार्ने गरी काम गरिरहेका छौं,’ उनले भने,‘तर, काम सक्न चुनौती छ ।’

सकिएको छैन काम

पुल्चोकको मन्त्री निवास साँघुरो र अपर्याप्त भएको भन्दै सरकारले मन्त्रीहरुका लागि भैंसेपाटीका छुट्टै निवास तयार गरिएको हो । सुरुको सरकारी योजनाअनुसार ‘केसी–समानान्तर जेभी’ले काम गरेको भए २७ कात्तिक, २०७८मा नै संघीय मन्त्रीहरुको निवास भैंसेपाटी सरिसक्थ्यो । पहिलो चरणको कामका लागि १ अर्ब ३ करोड रुपैयाँको ठेक्का लगाइएको थियो ।

भवनबाहेकका बाहिरी पूर्वाधार निर्माण गर्न दोस्रो चरणको कामका लागि लगाइएको ३४ करोड लागतको ठेक्काको काम नसकिए पनि भवनहरु तयार भएपछि मन्त्री निवास सारिहाल्ने योजना थियो ।

तर, समयमै काम नहुँदा आयोजनाको निर्माण झण्डै अढाइ वर्षभन्दा बढी ढिला भइसकेको छ ।

दोस्रो चरणको ठेक्काअन्तरगत मन्त्री निवासभित्र सुरक्षाकर्मी बस्ने भवन, स्विमिङ पुल, सामुदायिक भवन, बगैंचा लगायतका पूर्वाधार बनाउने काम पनि चल्दैछ । आयोजना निर्देशक महर्जनका अनुसार दोस्रो चरणको ठेक्कामा करिब करिब ८० प्रतिशत काम सकिएको छ ।

भवनभित्र इन्टेरियरको काम गर्न अर्को १ अर्बको ठेक्का पनि लागेको छ । अहिले इन्टेरियरको काम धमाधम भइरहेको छ । मन्त्री बस्ने भवनहरुमा भुइँ तल्लामा लबी, लिभिङ रुम, बैठक कक्ष, गोप्य बैठक कक्ष, कार्यालय राखिएको छ । माथिल्लो तल्लामा भान्सा र डाइनिङसहित मास्टर बेड रुम र बेड रुम छन् । त्यसभन्दा माथिको तलामा योगा कक्षसहित बेड रुम पनि राखिएका छन् ।

भवनहरुको इन्टेरियर वास्तुलाई ध्यानमा राखेर तयार गरिएको अधिकारीहरु बताउँछन् । प्रत्येक मन्त्री निवासमा गार्डका लागि छुट्टै कक्ष छ भने निवास क्षेत्र छिर्नुअघि विमानस्थलमा जस्तै एक्सरे परीक्षण गर्ने गरी सुरक्षा व्यवस्था मिलाउने तयारी छ ।

निवास क्षेत्रसँगैको सडकबारेको विवाद भएपछि पश्चिमतर्फ अग्लो पर्खाल लगाउने काम भने अलपत्र छ । मन्त्री निवासको पश्चिमतर्फका स्थानीयले सडकको मुद्दा उठाएपछि कम्पाउण्ड पर्खाल बनाउने काम पनि हुन सकेको छैन । पश्चिमतर्फका स्थानीयवासीले लामो समयदेखि मन्त्री निवासको पर्खाल लगाउँदा ११ मिटरको सडक छोड्नुपर्ने माग गर्दै आएका छन् । तर, आयोजनाले भने ८ मिटर मात्रै छोड्न सकिने अडान राख्दै आएको छ ।

स्थानीयको मागअनुसार पर्खाल लगाउँदा मन्त्री निवासको गुरुयोजना नै प्रभावित हुने अवस्था रहेको आयोजनाको भनाइ छ । स्थानीयलाई ११ मिटरको सडक चाहिने भए ‘सेन्टर लाइन’ राखेर त्यसबाट दुवैतर्फ आयोजना र स्थानीयले जग्गा दिने सहमति गर्न सरकारले आग्रह गरेको छ । तर, त्यसमा पनि स्थानीयले चित्त नबुझाएपछि मन्त्री निवासलाई पक्की पर्खालले घेर्ने काम अलपत्र परेको छ  ।

मन्त्री निवासको गुरुयोजना अनुरुपको डिजाइन समेत नसकी १३ असोज २०७६मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले हतार–हतार शिलान्यास गरेका थिए । दोस्रो चरणको ठेक्का गर्न भएको ढिलाइ, सुस्त निर्माण र स्थानीय क्षेत्रमा उत्पन्न विवादले मन्त्री निवास निर्माण्मा भएको हो ।

अझै पनि सबै मन्त्रीहरु कहिलेबाट पुल्चोकको भवन छाडेर भैंसेपाटीमा बस्न पाउँछन् भन्ने तय छैन ।

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?