+
+
टिप्पणी :

सकिए कि बाँकी नै छन् प्रचण्डका उथलपुथल ?

प्रचण्डको यो मौका अन्तिम नै हो भन्न सकिने आधार अझै प्रष्ट छैन । देउवा र ओलीले खेल फेरि नबिगार्लान् र पासा पल्टिएर प्रचण्डकै हातमा नआउला भन्न सकिन्न ।

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २१ गते १९:५०

कसैलाई मन परोस् वा नपरोस्, परिणाम जे आओस्; आफ्नै हत्केलाको ‘भाग्यरेखा’ मेटियोस् वा आफ्नै हातको बञ्चरोले आफ्नै घुँडा ताछोस्— प्रचण्डलाई बेलाबेला उथलपुथल त गर्नै पर्छ ।

नेपाली राजनीतिमा यो ‘नेचुरल क्यारेक्टर’ हो उनको । यही चरित्रले उनलाई देशको राजनीतिमा करिब तीन दशक एक ‘जबर्जस्त व्यक्तित्व’ बनाइरह्यो ।

२०४३ सालमा एउटा सानो राजनीतिक समूह नेकपा (मशाल) बाट नेतृत्वमा उनको उदय भएको थियो । अनौपचारिक भाषामा त्यसलाई ‘मोटो मशाल’ मनिन्थ्यो ।

अरूले मोहन वैद्य ‘किरण’ लाई प्रचण्डका ‘दार्शनिक गुरु’ भनिदिन्छन् । प्रचण्डलाई भने यस्तो कुुरा कत्ति मन पर्दैैन । प्रचण्डलाई यो ‘गुरु–शिष्य’ सम्बन्ध खासै सहज लाग्दैन । पुष्पलाल श्रेष्ठ, मोहनविक्रम सिंह, निर्मल लामालाई त उनले ‘गुरु’ स्वीकार गरेनन्, वैद्य कामरेडको के कुरा !

तर, वैद्यकालको ‘सेक्टर काण्ड’ नै त्यस्तो घटना थियो– जसले एउटा सानो राजनीतिक समूहकै सही प्रचण्डलाई मूल नेता बनायो । विगत ३८ वर्षदेखि उनी त्यही समूहको नेता छन् ।

तिनै प्रचण्डको राजनीतिक भविष्यबारे गम्भीर प्रश्न उठेको छ आज । उनी तीन पटक देशको प्रधानमन्त्री भएर सत्ताबाट बाहिरिंदैछन् भने उनको राजनीतिक भविष्यबारे अनेक प्रकारका अनुमान र विश्लेषण गरिंदैछन् ।

फेरि छप्ल्याङ आयो

२०५१ सालमा युद्ध सुरु गर्नुअघि तत्कालीन (एकता केन्द्र) अर्थात् माओवादीभित्र ‘छप्ल्याङको कथा’ खुबै चर्चित थियो । कथा अनुसार जंगलको बीचमा एक चउर थियो र त्यसको बीचमा एक पोखरी थियो । जंगली जनावर भोजन, आहारपछि पानी खान पोखरीमा आउँथे र चउरमा सुस्ताउँथे ।

एक मध्यदिन पोखरीबाट आवाज आयो– छप्ल्याङ ! पोखरीमा के खस्यो, को हाम फाल्यो, आवाज किन र कसरी आयो कसैले देखेन ।

सबै जनावर उग्राउन मस्त थिए । एकाएक छप्ल्याङको आवाज आएपछि एकपछि अर्को गर्दै जनावर भाग्न थाले र एकअर्कालाई भन्न थाले– छप्ल्याङ आयो, छप्ल्याङ आयो !

सेक्टर काण्डपछि प्रचण्ड नेतृत्वको मोटो मशाल भूमिगत रहेर कम्युनिस्ट सशस्त्र विद्रोहको तयारी गर्दैथियो । निर्दलीय पञ्चायत र निरंकुश राजतन्त्रको कालो बाक्लो रातको समय थियो त्यो । उनीहरूले २०४६ को आन्दोलन किन आयो, कसरी आयो थाहै पाएनन् । तर त्यसलाई उनीहरूले भनिदिए– छप्ल्याङ आयो ।

२०४६ सालको आन्दोलनले केही वर्षलाई ‘मोटो मशाल’ को कार्यदिशा नै फेरियो । पार्टीलाईं चुनावतिर लैजानुपर्‍यो, पुनः युद्धमा फर्किन २०५१ सालको फागुनसम्म पर्खिनुपर्‍यो ।

यसपटक पनि प्रचण्डलाई लागेको होला मनमा कि फेरि छप्ल्याङ आयो । कांग्रेस–एमालेलाई खेलाउनु त उनको ‘भागको काम’ थियो । यसपटक कांग्रेस–एमालेले नै उनलाई मज्जाले ‘हाराबारा’ खेलाइदिए, ‘तोरीको फूल’ देख्ने गरी ।

यतिका वर्षपछि फेरि योे ‘अर्को छप्ल्याङ’ कताबाट आयो ?

न उत्तर न दक्षिण : पश्चिमबाट पो हो कि ?

न कथाका जंगली जनावरले छप्ल्याङ कताबाट कसरी आयो बुझे न २०४६ सालअघिका कम्युनिस्ट विद्रोहीले । यस पटकको छप्ल्याङ पनि प्रचण्ड खेमाका लागि अनौठो र विस्मयकारी भएको छ ।

प्रचण्ड एउटा अर्को ‘बखेडा’ झिक्न चाहन्छन्, तर यो बखेडा ‘उथलपुथल’ नै हुन्छ भन्ने ग्यारेन्टी चाहिं छैन ।

दक्षिणतिर उनी भर्खरै गएर आएका थिए– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको शपथ ग्रहण कार्यक्रममा । जानकारहरू भन्छन्– दक्षिणको रणनीति भिन्नै थियो । प्रचण्डलाई प्रधानमन्त्रीमा कायम राखेरै फेरि कांग्रेससँगको गठबन्धनमा फिर्ता गराउने ।

त्यसका लागि केही महिना पर्खिन उनले आश्वासन दिएका थिए । दक्षिणले यो सन्देश कांग्रेस सभापति शेरबहादुुर देउवासम्म पुर्‍याइदिएको पनि थियो । तसर्थ, धेरैको अनुमान थियो– मंसिरसम्म यही सरकार जान्छ । त्यसपछि एमाले बाहिरिन्छ, कांग्रेस भित्रिन्छ ।

उत्तरको रणनीति पनि प्रचण्डको सूचनाभन्दा बाहिर थिएन । सी जिनपिङ पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई बेइजिङ बोलाएर २०८४ को चुनाव अघि फेरि कम्युनिस्ट एकता र वामपन्थी गठबन्धनको मन्त्रणा गर्न चाहन्थे । विद्या भण्डारीको चीन भ्रमण अन्तिम समयमा आएर किन रोकियो, त्यसको भिन्नै सोधीखोजी हुनुपर्नेछ ।

तर अहिलेको यो ‘ओली–देउवा सहमति’ न दक्षिणको रणनीतिसँग मिल्छ, न उत्तरको । फेरि यो छप्ल्याङ कताबाट आयो ? कतै पश्चिम अर्थात् अमेरिकातिरबाट त आएन ? कतै अमेरिकाले एमसीसी बेलाको प्रतिशोध साध्न र बीआरआई रोक्न त छप्ल्याङ गराएन ? प्रचण्डको मन अझै कुनै ठेगानमा पुगेको छैन ।

छप्ल्याङ त हो, के थाहा कसरी आउँछ !

निर्मल लामा र रुपलाल विश्वकर्मालाई ढाँटेर ढाँटगिरीको सुरुआत कांग्रेस–एमालेको स्पष्टीकरण छ– प्रचण्डले धेरै ढाँटे, धेरै धोका दिए । धेरै अवसरवाद देखाए । त्यसैले यो स्थिति आयो ।

ढाँट्नु प्रचण्डका लागि के कुनै नयाँ कुरा थियो र ? यो त उनको राजनीतिको मूल नेतृत्व सम्हाल्नु अघिदेखिकै कला थियो ।

प्रचण्ड राजनीतिका प्रारम्भिक दिन सम्झिनेहरू भन्छन्– ‘एकता केन्द्र काल’ मा निर्मल लामा र रूपलाल विश्वकर्मालाई ढाँटेर उनले ‘ढाँटगिरी’ सुरु गरेका थिए । निर्मल लामा नेतृत्वको ‘चौम’, प्रचण्ड नेतृत्वको ‘मोटो मशाल’ र रूपलाल विश्वकर्मा नेतृत्वको ‘सर्वहारावादी श्रमिक संगठन’ मिलाएर एक नयाँ पार्टी बनाउनु थियो– नेकपा (एकता केन्द्र) ।

त्यसका लागि प्रचण्डले लामा र विश्वकर्मा दुवैलाई एकीकृत पार्टीको महासचिव बनाउने वचन दिएका थिए । त, जब पार्टी एकीकृत भयो– केन्द्रीय समितिको बहुमतले महासचिव छान्ने प्रस्ताव आयो । केन्द्रीय समितिमा मोटो मशाल समूहको बहुमत भइसकेको थियो ।

लामा र विश्वकर्मा जिल्ल भए । दुवैले एकअर्कालाई ढाँटिएको गुनासो गरे । यतिखेरैदेखि प्रचण्डको मनोविज्ञानमा यो छाप बस्यो कि राजनीतिमा ढाँट्नु पनि एक ठूलो कला हो । अन्यथा नेकपा (एकता केन्द्र) बन्ने नै थिएन । २०४८ सालको आम निर्वाचनमा ९ सिट जितेर तेस्रो ठूलो दल बन्ने संसदीय मोर्चा ‘संयुक्त जनमोर्चा’ तयार नै हुने थिएन । त्यो समूहको नेतृत्वमा उनको उदय नभएको भए जनयुद्ध नै हुन्थेन । कांग्रेस–एमालेले गन्गन र गुनासो गरेर हुन्छ– ढाँट्नु कसरी नराम्रो हो ?

क्रमभंगताको मोह र आफैंतिर फर्किएको महाविपत्ति

कुनै बेला प्रचण्डले आफ्नै नाममा सिद्धान्त बनाएका थिए–प्रचण्डपथ । यसको दार्शनिक विश्वास यसरी सूत्रीकरण गरिएको थियो– धक्का, क्रमभंगता, महाविपत्ति र छलाङ । प्रचण्डपथ त स्थगन भयो तर, प्रचण्डको राजनीति भने सधैं यही विश्वासमा हिंडिरह्यो ।

सीमान्तकरणमा परेर समाप्त हुन लागेका स–साना कम्युनिस्ट समूहलाई एकठाउँमा ल्याएर नेकपा (एकता केन्द्र) बनाउनु र २०४६ सालको पहिलो जनआन्दोलन पछिको पहिलो आम निर्वाचनमा तेस्रो ठूलो दलको स्थान र हैसियत दिलाउनु उनको पहिलो ठूलो सफलता थियो ।

संसद्को नाम सुन्नै नचाहने दललाई उनले संसद्मा पनि लगे । संसद्बाट निकालेर फेरि युद्धमा पनि पनि होमे । पुनः शान्ति प्रक्रियामा पनि ल्याए । उस्तै संसदीय खेलाडी पनि बनाए । निर्वाचनमा पहिलो ठूलो दल पनि बनाए । मान्छेले जेलाई अस्थिरता र अवसरवाद भन्छन्, प्रचण्डको दर्शनशास्त्रमा त्यही नै गतिशीलता हो । क्रमभंग हो । त्यो नगरी यी सबै कुरा कसरी हुन्थे ?

कहिले कांग्रेससँग कहिले एमालेसँगको गठबन्धन, गठबन्धन जोडजाड र तोडताड उनका लागि क्रमभंगताकै अभ्यास थियो । फरक कति हो भने यसपालि ओली–देउवाले क्रमभंग गरिदिए, महाविपत्ति उनी आफैंतिर फर्कियो ।

खेल सकियो, मन भरिएन

एउटा विज्ञापन सुनिन्छ– पेट भरियो, मन भरिएन ! कांग्रेस–एमालेको सोमबार मध्यरातको सहमतिपछि अर्को कुनै उल्कापात नभए प्रचण्डका लागि तत्काल सत्तामा रहिरहने सबै विकल्प बन्द भएका छन् । तैपनि उनले राजीनामा दिएका छैनन् । राजीनामा पत्र बोकेर बालुवाटार पुगेका रास्वपा मन्त्रीहरूलाई उनले रोके । सम्झाएर फिर्ता गरे ।

उनी भन्दैछन्– उनी विश्वासको मत सामना गर्नेछन् । विश्वासको मत पाउने कुनै सम्भावना छ र ? यदि छैन भने केको खेलको हो ? ३० दिन थप सत्तामा बस्ने ? यदि हैन भने खेल सकियो तर प्रचण्डको मन किन भरिएन !

स्रोतका अनुुसार प्रचण्ड एउटा अर्को ‘बखेडा’ झिक्न चाहन्छन्, तर यो बखेडा ‘उथलपुथल’ नै हुन्छ भन्ने ग्यारेन्टी चाहिं छैन ।

प्रचण्डको नयाँ ‘बखेडा’ सफल भए अर्को ‘उथलपुथल’ हुन सक्दछ तर, त्यो सम्भावना भने कम छ । त्यो हो– संविधानको धारा ७६ (३) को बखेडा । संविधानको धारा ७६ (२) को अभ्यास भइसकेको हुँदा अब सीधै ७६ (३) को अभ्यास हुनुपर्छ भन्ने प्रचण्ड–बखेडाको सार हो । यसका लागि उनले ३० दिनमा के तयारी गर्नेछन्, त्यो भने थाहा छैन ।

पहिलो संविधानसभामा करिब ३० प्रतिशत मत पाएर पहिलो भएको पार्टीं दोस्रोमा पुग्दा १७, तेस्रोमा १३ र चौथो चुनावमा पुग्दा करिब ११ प्रतिशत मतमा सीमित भयो । भन्न सकिन्न यो ओरालो ग्राफ अर्को चुनावसम्म कति प्रतिशतमा झर्छ ?

यसो भए सबैभन्दा ठूलो दलको संसदीय दलको नेताका हैसियतमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सीधै प्रधानमन्त्री नियुक्त हुन सक्नेछन् । न एमालेको समर्थन चाहिन्छ न ओलीको पहिलो पालो नै कार्यान्वयन हुन्छ ।

ओलीसँग बदला लिन कति राम्रो तरिका ! देउवाको सरकारलाई विश्वासको मत दियो, फेरि सरकारको साझेदार भयो । ३० दिनको सुविधा उनले यो प्रयोजनका लागि उपयोग गर्न त खोज्लान् तर लागू हुन गाह्रो छ ।

किनकि संविधानको धारा ७६ (२) को सम्भावना समाप्त नहुन्जेल धारा ७६ (३) प्रयोग हुन सक्दैन । राष्ट्रपति रामचन्द्र पौडेलले शायद यस्तो जोखिम उठाउँदैनन् । उनले सीधै ७६ (३) को सरकार आह्वान गर्लान् भनेर पत्याउन गाह्रो छ । साथै, त्यसो भए मुद्दा सर्वोच्च अदालतमा पुग्नेछ । सर्वोच्च अदालतले त्यस्तो आह्वान र सरकार उल्टाइदिन सक्दछ । कांग्रेस आफैं एमालेसँगको सम्झौता उल्लंघन गर्न तयार भएछ भने त्यो भिन्नै कुरा ।

‘तेस्रो’ हो कि ‘अन्तिम’ ?

प्रचण्डको पछिल्लो पतन ‘तेस्रो विकेट’ मात्र गिरेको हो कि यो प्रधानमन्त्री पदबाट उनको ‘अन्तिम पतन’ हो ! अन्तिम नै हो भन्न सकिने आधार अझै प्रष्ट छैन । उनका समकक्षी र प्रतिस्पर्धी भनिएका ओली र देउवा उनीभन्दा कता हो कता योग्य र सक्षम हैनन् ।

उनीहरूले खेल फेरि नबिगार्लान् र पासा पल्टिएर प्रचण्डको हातमा नआउला भन्न सकिन्न । लुँडोको खेल जस्तो राजनीतिमा कसको गोटी कतिखेर माथि चढ्छ, कतिखेर तल झर्छ कसले भन्न सक्दछ ? तर, एउटा कुरा निश्चित छ– अब उनको पार्टी उनको जीवनकालमा पहिलो, ठूलो र हिजोको जस्तो करिब ३० प्रतिशत भोट ल्याउने चाहिं हुनेछैन ।

तर, कम्युनिस्ट एकता र वाम गठबन्धनको विकल्प उनका लागि अझै सकिएको छैन । कदाचित ओली ‘बुमर्‍याङ’ भए, कांग्रेसको ओलीसँग असहज मान्यो काठमाडौंमा बेइजिङ हात बलियो भयो वा कम्युनिस्ट एकता र वाम गठबन्धनको लू चल्यो भने प्रचण्डका उथलपुथल मृत्युशय्याबाट फेरि ब्युँझिन सक्दछन् । तसर्थ, प्रचण्डलाई अहिल्यै ‘खुच्चिङ्’ गरिहाल्न जरुरी छैन ।

इतिहासमा कस्तो देखिएला छविलालको छवि ?

मान्छे हो, सबैले कुनै दिन मर्नै पर्छ । अजम्बरी कोही छैन यो दुनियाँमा । र, राजनीतिज्ञहरूको खाँटी मूल्यांकन त इतिहासमा उसको जीवन उप्रान्त नै लेखिने हो । भनिरहनु परेन, प्रचण्डको पहिलो नाम घनश्याम थियो, दोस्रो छविलाल, तेस्रो पुष्पकमल र चौथो– प्रचण्ड ।

 

इतिहासले चाहिं उनलाई के नाम देला ? माओ वा गोञ्जालो झैं कम्युनिस्ट विद्रोही, छापामार कमान्डर वा क्रान्तिकारी नेता मात्र त उनी अवश्य मानिने छैनन् । एउटा कालखण्डको चित्रण त्यसरी होला तर समग्र छवि अवश्य त्यस्तो बन्ने छैन ।

उनको दोस्रो चित्र यो हुन सक्दछ– युद्धबाट शान्ति प्रक्रियामा फर्किएको, एक ‘र्‍याडिकल पपुलिष्ट कम्युनिस्ट’ जसले जनआन्दोलन २०६२/६३, गणतन्त्र, संविधानसभाको निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ संविधानका लागि योगदान गर्‍यो ।

आफ्नै पूर्व सिद्धान्त र मान्यता विपरीत बहुदलीय लोकतन्त्र र संसदीय व्यवस्थालाई स्वीकार गर्‍यो । संवैधानिक राजतन्त्रवादी दलहरूलाई गणतन्त्रवादी बन्न बाध्य बनाएर आफू ‘कम्युनिस्ट विद्रोही’ बाट ‘संसद्वादी कम्युुनिस्ट’ मा रूपान्तरण हुन राजी भयो ।

इतिहासमा लेखिने छविलालको तेस्रो छवि यो हुन सक्दछ– संसदीय विकृतिको संवाहक, संसदीय खेलको एक ‘खप्पिस खेलाडी’ । जसले आफ्नो शक्तिको चाहना, सत्तास्वार्थ र पदलोलुपताका लागि लोकतन्त्र, संविधानवाद, संसदीय प्रणाली र जनादेश सिद्धान्तका कैयौं मूल्यमान्यतालाई ध्वस्त गर्‍यो । राज्यलाई एक ‘करप्ट–सेटिङ राज्य’ मा भ्रष्टीकरण गर्ने संयन्त्रको औजार बन्यो ।

आफूले बनाएको पार्टी आफ्नै जीवनकालमा सिध्यायो । पहिलो संविधानसभामा करिब ३० प्रतिशत मत पाएर पहिलो भएको पार्टीं दोस्रोमा पुग्दा १७, तेस्रोमा १३ र चौथो चुनावमा पुग्दा करिब ११ प्रतिशत मतमा सीमित भयो । भन्न सकिन्न यो ओरालो ग्राफ अर्को चुनावसम्म कति प्रतिशतमा झर्छ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?