+
+

नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झाको मोबाइल फरेन्सिक ल्याब पठाइयो

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २१ गते १५:१८

२१ असार, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा एक वर्षपछि पक्राउ परेका बेचन झाबाट बरामद भएका दुई थान मोबाइल जाँचका लागि डिजिटल फरेन्सिक ल्याब (डीएफएल) मा पठाइएको छ ।

नेपाल प्रहरीको विशेष टोलीले भारतबाट पक्राउ गरेका झाबाट बरामद भएका दुई थान मोबाइल जाँचका लागि डीएफएलमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले बताएको छ । तर ती मोबाइलबाट थप प्रमाण खुल्नेमा भने प्रहरी अधिकारीहरू ढुक्क छैनन् ।

एक वर्षसम्म फरार रहेकाले झाले मोबाइल नै परिवर्नत गरेको हुनसक्ने भएकाले बरामद मोबाइलबाट थप प्रमाण फेला पर्न गाह्रो हुने प्रहरीको बुझाइ छ । यद्यपी झाले भने बरामद मोबाइल भने पुरानै रहेको दाबी गरेका छन् ।

भारतबाट पक्राउ गरी स्थलमार्ग हुँदै काठमाडौं ल्याइएका झाविरुद्ध दोस्रो पटक बिहीबार मात्रै ५ दिनको म्याद थप भएको छ । एक साताअघि शुक्रबार पक्राउ परेका झाविरुद्ध पहिलो पटकका लागि ७ दिनको म्याद थप भएको थियो ।

परिसर काठमाडौंले डीएसपीको कमाण्डमा भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेको छ । झाविरुद्ध संगठित ठगीको कसुरमा ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने सुविधा प्रहरीलाई छ । प्रहरीले झासँग प्रारम्भिक सोधपुछ गरेको छ । यद्यपी झाले भुटानी शरणार्थी प्रकरणमा भएको ठगीबारे जानकार नभएको दाबी गर्दै आएका छन् । नेताहरूसँग भने चिनजान सम्बन्ध रहेको बताउने गरेको परिसरका एक अधिकारीले बताए ।

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सुरु भएदेखि नै झा फरार थिए । तर उनको संलग्नता भने अनुसन्धानको अन्त्यतिर मात्रै खुलेको थियो । छानबिनका क्रममा उनको नाममा हिमालय बैंकको २ करोड रुपैयाँको चेक रामशरण केसीले काटिदिएको खुलेको थियो ।

प्रकरणका मुख्य आरोपी मध्येका सानु भण्डारीले ‘१३ मंसिर २०७८ को मन्त्रिपरिषद् बैठकबाट भुटानी शरणार्थीबारे हामीलाई फाइदा हुने गरी निर्णय गर्दैछ, यो काम बेचन झाले गराएकाले उनलाई चेक काटिदिनु’ भनेपछि लेनदेन भएको केसीले बयानमा बताएका थिए ।

त्यसैगरी तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले पनि बयानमा बेचन झाको संलग्नता खुलाएका थिए । हाल पुर्पक्षमा रहेका सचिव पाण्डेले भनेका छन्, ‘मन्त्रालयमा राजनीतिक रुपमा सम्पर्कमा आएका बेचन झासँग बयान लिएपछि यस विषयमा थप गहिराइमा पुग्न सकिन्छ ।’

त्यतिबेला झाको ठेगाना नखुलेको र खुलेका बखत पुनः पुरक जाहेरीमार्फत अनुसन्धान अघि बढाउने गरी अन्यलाई मुद्दा चलाइएको थियो ।

३० जेठ २०७६ मा गृहमन्त्री बादलको पालामा पूर्वसहसचिव बालकृष्ण पन्थी नेतृत्वमा भुटानी शरणार्थी समस्या समाधानका लागि भन्दै कार्यदल गठन भएको थियो । पन्थीको संयोजकत्व गठित कार्यदलमा विज्ञको रुपमा गणेशबहादुर केसी र सदस्य सचिवको रुपमा गृहका तत्कालीन शाखा अधिकृत दीपकप्रसाद न्यौपाने थिए । कार्यदल बनेदेखि नै ठगीको प्रक्रिया सुरु भएको अनुसन्धानबाट खुलेको थियो ।

उक्त कार्यदलको प्रतिवेदनमा नक्कली भुटानी शरणार्थीको समेत नाम समावेश गराएर अमेरिका पठाउने भन्दै रकम असुलिएको थियो । यो काम भने खाणको पालमा भएको थियो । खाणको पालामा पन्थी कार्यदलको प्रतिवेदनमा अनसूची नै थपेर नक्कली नाम राख्दै ठगी भएको प्रहरीको अनुसन्धानबाट खुलेको थियो ।

अझै ११ प्रतिवादी फरार

भुटानी शरणार्थी प्रकरणमा यसघि दुई वटा मुद्दा दायर भएकाले बेचन पक्राउपछिको अनुसन्धान तेस्रो रहेको छ । दुई पटक गरेर ३२ जनालाई प्रतिवादी बनाइएको थियो ।

पहिलो चरणमा ११३ जना पीडितबाट परेका २८ वटा जाहेरीहरुको अनुसन्धान गरी २० जनालाई प्रतिवादी बनाउँदै १० जेठ २०८० मा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । त्यसबेला ३० जनाविरुद्ध २८ करोड, १ लाख ७४ हजार ५ सय बिगो मागदाबी गर्र्दै मुद्दा दायर भएको थियो ।

यो मुद्दा अदालतमा गइसकेपछि फेरि पुरक जाहेरी परेको थियो । पुरक जाहेरीको १८ जनाबाट ५ वटा जाहेरी प्रहरीमा परेको थियो । दोस्रो पटक आङटावा शेर्पा, सागर राई, केशवप्रसाद दुलाल, सानु भण्डारी रामशरण केसी, गोकुल थापा र उनकी श्रीमती रमा थापाविरुद्ध मुद्दा दर्ता गरिएको थियो । त्यतिबेला २ करोड १७ लाख ९२ हजार बिगो कायम गर्दै मुद्दा दर्ता गरिएको थियो ।

पहिलो पटक मुद्दा दर्ता गरिएका ३० जना र दोस्रो पटक मुद्दा दर्ता पाँच जना पहिल्यै प्रतिवादी थिए भने गोकुल र रमालाई पनि प्रतिवादी बनाएपछि भुटानी शरणार्थीका प्रतिवादीको संख्या ३२ पुगेको हो । अहिले बेचन पक्राउ परेसँगै ३३ जना प्रतिवादी हुने देखिएको छ । बेचन र रामबहादुर थापा बादलका छोरा प्रतिक गत शुक्रबार पक्राउ परेपछि अझै ११ जना फरार रहेको परिसरले जनाएको छ ।

फरार हुनेमा बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा ५० वर्षीय निरज राई, झापाको गौरादह नगरपालिका–१ का ३१ वर्षीय सुनिल बुढाथोकी, रौहतटको फतुहा हर्साह–९ का ४२ वर्षीय निरन्जनकुमार खरेल, मोरङको शनिश्चरे नगरपालिका–१० कि ४० वर्षीया बिनिता सावदेन लिम्बु, केशव दुलालकी श्रीमती दीपा हुमागाईं छन् ।

त्यसैगरी पाँचथरको मिक्लाजुङ गाउँपालिका–६ का ६० वर्षीय मोहनराज राई, गोकुल थापा र उनकी श्रीमती रमा थापा, काठमाडौंको जितपुर फेदीका ३० वर्षीय राजेश अर्याल, मोरङको कानेपोखरी–५ का ३९ वर्षीय धिरेन राई र इटहरी उपमहानगरपालिका–४ घर भइ अमेरिका बस्दै आएका अशोक पोखरेल छन् ।

को–को छन् थुनामा, को बाहिर ?

भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म प्रतिवादी बनेका ३३ जनामध्ये २२ जना पक्राउ तथा अदालतमा उपस्थित भइसकेका छन् । जसमध्ये १० जना पुर्पक्षमा कारागारमा छन् । ७ जना धरौटीमा रिहा भएका छन् । चार जना साधारण तारेखमा रिहा भएर जेल बाहिरै छन् । एक जना बेचन झा अनुसन्धानका लागि हिरासतमा छन् ।

पूर्वउप्रधानमन्त्री समेत भइसकेका प्रतिनिधि सभाका सांसद तथा एमालेका नेता टोबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाकार इन्द्रजित राई, बादलकै छोरा प्रतिक, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, केशवप्रसाद दुलाल, पूर्वसभासद तथा नेपाली कांग्रेसका नेता आङटावा शेर्पा, सानु भण्डारी, सन्देश शर्मा, गोविन्दकुमार चौधरी र सागर राई गरी १० जना अहिले नख्खु र केन्द्रीय कारागारमा थुनामा छन् ।

त्यसैगरी नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण, उनका पीए नरेन्द्र केसी, हरिभक्त महर्जन, हज कमिटीका अध्यक्ष शमशेर मियाँ, टोपबहादुर रायमाझीका छोरा सन्दीप, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, रामशरण केसी धरौटीमा रिहा भएर अहिले कारागार बाहिर छन् ।

लक्ष्मी महर्जन, आशिष बुढाथोकी, टंककुमार गुरुङ र केशव तुलाधर भने साधारण तारेखमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?