+
+

विपद् व्यवस्थापनको तयारीमा गम्भीर भएर लाग्न प्रधानमन्त्रीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २१ गते १६:१३

२१ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपद् व्यवस्थापनका लागि गम्भीर भएर काम गर्न निर्देशन दिएका छन् ।

शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मनसुनजन्य जोखिमको न्यूनीकरण तथा जोखिम प्रतिकार्यसम्बन्धी उच्चस्तरीय बैठकमा प्रधानमन्त्रीले तयारीका लागि निर्देशन दिएका हुन् ।

बैठकमा प्रधानमन्त्रीले नेपाल प्राकृतिक विपत्तिको उच्च जोखिमयुक्त देश भएकाले तीनवटै सुरक्षा अंगको समन्वयात्मक पहलमा विपद् व्यवस्थापनको तयारी व्यवस्थित गर्न निर्देशन दिए ।

‘राजनीतिमा उतारचढाव भइरहन्छ । तर, सरकार र राज्यका निकायहरूले आफ्नो जिम्मेवारी भुल्नु हुँदैन । नेपाल यसै पनि विपद्का दृष्टिले उच्च जोखिमयुक्त देश हो ।

त्यसमाथि यस वर्ष मौसम आक्रमक हुने पूर्वानुमान छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यसैले व्यवस्थित तयारी गरौं । विपद् व्यवस्थापनमा हामीसँग पैसा पनि छ । तर, कार्यविधिको झन्झटले पैसा परिचालन गर्न नसकेको कुरा बोध गर्दै यसलाई सहज परिचालन गर्न सकिने गरी परिमार्जन गरौं । राज्यका सबै निकायहरूको सम्पूर्ण ध्यान तयारी र जोखिम न्यूनीकरणमा केन्द्रित गरौं ।’

छलफलमा नेपाली सेना र गृह मन्त्रालयका तर्फबाट विपद् व्यवस्थापनको तयारी र जोखिम पूर्वकार्यसम्बन्धी गरिएको तयारीबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको थियो ।

बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, प्रधानसेनापति प्रभुराम शर्मा, निमित्त मुख्यसचिव लिलादेवी गड्तौला, गृहसचिव एकनारायण अर्याल, रक्षासचिव किरणराज शर्मा, प्रहरी महानिरीक्षक वसन्त कुंवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल लगायतका अधिकारीहरूको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?