+
+

ऐन अभावले आदिवासी फिल्म ओझेलमा : भुवन केसी

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २१ गते १७:०७

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपालमा निर्माण भएका आदिवासी फिल्मले विश्वमा नेपाललाई चिनाउने काम गरेको बताएका छन् । आदिवासी जनजातिले आफ्नो भाषासंस्कृतिलाई मध्यनजर गर्दै फिल्म निर्माण गरेपनि नेपालमा ऐन अभावका कारण ओझेलमा पर्ने गरेको पनि उनको भनाइ छ ।

चलचित्र विकास बोर्ड अन्तर्गतको ‘आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समिति’ ले बिहीबार इटहरीमा गरेको ‘बृहत् विचार गोष्ठी कार्यक्रम-२०८१’ मा बोल्दै केसीले आदिवासी जनजातिका विषयमा फिल्म निर्माण गर्नेहरु बढ्दै गएकोमा खुसी व्यक्त गरे । उनले नेपाली कला संस्कृति नेपालको गौरव भएको भन्दै यसलाई विश्वमाझ पुर्‍याउने सबैभन्दा सजिलो माध्यम नै फिल्म भएको उल्लेख गरे ।

आदिवासी जनजाति चलचित्रकर्मी महासंघ, कोशी प्रदेशको सहआयोजना रहेको कार्यक्रममा आदिवासी जनजाति समुदायका विभिन्न झाँकी समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा बोल्दै चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष अरुणकुमार प्रधानले चलचित्र विकास बोर्ड अब काठमाडौंमा मात्रै सीमित नभएको बताए । चलचित्र विकास बोर्डले पछिल्लो समय देशव्यापी कार्यक्रम आयोजना गरिरहेको उनको भनाइ थियो ।

अभिनेत्री मिरुना मगरले फिल्म क्षेत्र आफ्ना लागि विद्यालय जस्तै भएको बताइन् । उनले आफूले धेरै समुदायको पात्र बनेर अभिनय गर्न पाएकोमा खुसी व्यक्त गरिन् ।

कार्यक्रममा फिल्म क्षेत्रमा योगदान पुर्‍याएवापत अभिनेत्री मिरुना मगर, गीतकार मीना सिंगक, फिल्म निर्माता तथा निर्देशक लाखबहादुर तामाङ, कलाकार डा. सञ्जय खतिवडा, कलाकार तथा निर्माता नवीन पराजुली, लिम्बू फिल्म ‘हाङनाङ्ग’ का निर्देशक तथा अनाम रंगमञ्चका अध्यक्ष विजय सन्योक सुब्बा, भुजेल चलचित्रकर्मी संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राजकुमार भुजेल, संस्कार संस्कृति अध्ययन मञ्चका कार्यवाहक अध्यक्ष डिकबहादुर भुजेल, कलाकार सुरज भुजेल लगायतलाई सम्मान समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?