+

मुटुरोगको जोखिम : पुरुष र महिलामा के अन्तर हुन्छ ?

२०८१ असार  २२ गते ७:०० २०८१ असार २२ गते ७:००
मुटुरोगको जोखिम : पुरुष र महिलामा के अन्तर हुन्छ ?

वार्षिक रूपमा विश्व महिला समुदायमा हुने कुल मृत्यु संख्याको करिब ३५ प्रतिशत मृत्यु मुटुरोगबाट हुन्छ, जुन सबै प्रकारका क्यान्सरबाट हुने महिलाको मृत्युभन्दा बढी देखिन्छ । महिलामा हुने मुटुरोगको अध्ययन, पहिचान, निदान र उपचार कम रहने प्रवृत्ति छ, जुन गम्भीर विषय हो ।

महिलामा मुटुरोगका केही लक्षण पुरुषमा देखिने लक्षण भन्दा पृथक् हुन सक्छन्, जसले गर्दा महिलामा प्राय: मुटुरोगको गलत निदान गरिन्छ । सर्वसाधारणका साथै स्वास्थ्यकर्मी दुवैमाझ महिलामा हुने मुटुरोगसम्बन्धी ज्ञान बढाउन अत्यन्त आवश्यक छ ।

मुटुका रक्तनली ‘आर्टरी’ ले पर्याप्त मात्रामा अक्सिजन रहेको रगत मुटुलाई प्रदान गर्न सकेन भने ‘कोरोनरी मुटुरोग’ नामक प्रकारको मुटुरोग हुने जोखिम हुन सक्छ । त्यस्तै, मस्तिष्कको एक भागलाई केही समयका लागि पर्याप्त मात्रामा रगत उपलब्ध हुन नसकेको अवस्थामा ‘मस्तिष्कघात’ (स्ट्रोक) अन्तर्गतको ‘ ईस्केमीक स्ट्रोक’ हुने जोखिम हुन्छ ।

अधिकांश विकसित देशमा महिलाको मृत्यु हुनुका दुई मुख्य कारण कोरोनरी मुटुरोग र मस्तिष्कघात हुन् । विभिन्न सञ्चारमाध्यमले महिलाको मृत्युको प्रमुख कारण ‘स्तन क्यान्सर’ रहेको कुरा त्रुटिगत रूपमा प्रकाशन प्रसारण गर्दै आएको पाइन्छ । यो गलत धारणा सम्बोधित हुनुपर्छ किनकि मुटुरोगको तुलनामा स्तन क्यान्सरबाट महिलामा हुने कुल मृत्युको संख्याको थोरै प्रतिशत मात्र पर्दछ । वि. सं. २०७९ सालमा विश्वभरि २३ लाख महिलामा स्तन क्यान्सरको निदान भयो र सोही साल ६ लाख ७० हजार महिलाको सोही कारणले मृत्यु भयो ।

महिला समुदायलाई मुटुरोगसम्बन्धी सचेतना फैलाउन अत्यन्त जरुरी छ किनकि महिलामा मुटुरोगबाट हुने अधिकांश मृत्यु पूर्वलक्षणै नभएका बिरामीको हुन्छ । गर्भावस्थामा पुग्ने उमेरका क्षमता भएका महिलामा मुटुरोग सम्बन्धी समस्या हुने जोखिम कम हुन्छ । तर रजोनिवृत्ति (अङ्ग्रेजीमा मेनोपज) अर्थात् स्थायी रूपमा महिनावारी रोकिएपछि जोखिम यसरी कम रहेको अवस्था हट्छ ।

सामान्य अवस्थामा दुवै लिङ्गमा हुने मुटुरोगका जोखिमका कारक

– हाईपर्टेन्सन (सिस्टोलीक रक्तचाप १४० वा बढी भएको अवस्था)

– डिस्लीपीडीमीया (रक्त संचारमा लीपीडको असामान्य तह)

– डाईबीटीस (मधुमेह) : मधुमेह भएका पुरुषहरूको तुलनामा मधुमेह भएका महिलालाई मुटुरोग हुने सम्भावना बढी हुन्छ ।

– ओबेसीटी (अत्यधिक मोटोपन)

– धुम्रपान : धुम्रपान गर्ने पुरुषको तुलनामा धुम्रपान गर्ने महिलाहरूमा मुटुरोग हुने सम्भावना बढी हुन्छ ।

– भौतिक क्रियाकलापरहित जीवनशैली

– पारिवारिक इतिहास

–  अपर्याप्त पोषण

– वातावरणीय प्रदूषण

गर्भवती महिलालाई हुने मुटुरोगका गर्भवतीसम्बन्धी जोखिमका कारक

– प्रिक्लाम्पसीया (हाईपर्टेन्सन डिसअर्डर)

– जेस्टेस्नल हाईपर्टेन्सन

-जेस्टेस्नल मधुमेह

-प्रि-टर्म डेलिभरी (गर्भावस्था ३७ हप्ता पूरा हुनुअघि बच्चा जन्मिनु)

-सामान्य वजनभन्दा कम वजनको बच्चा जन्मिनु

-प्रत्येक गर्भावस्थामा गर्भपतन

महिलासम्बन्धी मुटुरोगका अन्य जोखिमका कारक

-पहिलो महिनावारी : पहिलो महिनावारी सामान्य उमेरभन्दा अघि हुनसक्छ ।

-रजोनिवृत्ति : रजोनिवृत्ति भएपछि ईस्ट्रोजेनको निम्न तहले साना रक्तनलीहरूमा रोग विकसित हुने जोखिम बढाउँछ ।

-सामान्य उमेर भन्दा अघि रजोनिवृत्ति हुनु ।

-हर्मोनमा आधारित परिवार नियोजन ।

-पोलिसिस्टीक ओभेरीयन सिन्ड्रोम

-अटो-ईम्यून डिसअर्डर

-क्रोनिक ईन्फ्लमेटरी अवस्था

-तनाव : तनाव र डिप्रेसनले पुरुषको तुलनामा महिलाका मुटुलाई बढी असर गर्छ । डिप्रेसनले स्वास्थ्य जीवनशैली कायम गर्न पनि असहज पार्न सक्छ ।

-ईस्केमिक मुटुरोग (आईएचडी) : यो पुरुषका तुलनामा महिलामा वृद्ध उमेरमा विकसित हुन्छ । यद्यपि, युवतीहरूमा आईएचडीको दर बढ्दै गएको छ ।

-ईम्पेर्ड ग्लुकोजको दर : यो पुरुषको तुलनामा महिलामा बढी हुन्छ ।

निद्राका क्रममा हुने अवरोध, डिप्रेसन आदि रजोनिवृत्तिका क्रममा सामान्य हुन्, जुन मुटुरोगको वृद्धिसँग सम्बन्धित भएको पाइन्छ ।

मुटुरोगको सिकार वृद्ध व्यक्ति मात्र हुन्छन् भन्नु भ्रम   

स्वस्थ जीवनशैली अपनाएपनि मुटुरोगको जोखिम सबै उमेरका महिलालाई हुन्छ । उमेरका अतिरिक्त  मुटुरोगको जोखिम बढाउने कारकमा यी पर्दछन् ।

-गर्भावस्था

-धेरै खाना खानु वा अस्वस्थ भोजन गर्नु

-भौतिक रूपमा शिथिल जीवन शैली हुनु

-जन्मावस्थामै मुटुरोगबाट ग्रसित हुनु

ईन्डोजिनस हर्मोन तह, शरीरको तल्लो भागको वजन र उच्च बोसोको अनुपातका कारणले कुनैपनि मुटुरोगको उपचारका क्रममा महिला बिरामीलाई दिइने थेरापीको परिणाम पनि त्यस्तो बिरामीअनुसार फरक हुनसक्छ । केही प्रतिवेदनअनुसार एस्पिरिनको प्रयोगबाट महिलामा हुने मस्तिष्कघातविरूद्ध संरक्षणीय प्रभाव भएको भेटिन्छ, तर हृदयघातको सन्दर्भमा भने भेटिंदैन ।

कोरोनरी मुटुरोगका जोखिम

महिलामा हुने कोरोनरी मुटुरोगका प्रमुख जोखिममा यी पर्दछन् ।

-धुम्रपान

-हाईपर्टेन्सन

-मधुमेह

-ओबेसिटी

-अभ्यासरहित जीवनशैली

-अपर्याप्त पोषण

-डिस्लीपिडीमिया

यी जोखिममध्ये मधुमेह र डिस्लीपिडीमियामा लैङ्गिक अन्तर अवलोकन गरिएको छ ।

दुवै पुरुष र महिला बिरामीका ‘उमेर’ ले जोखिमको गाम्भीर्य निर्धारण गर्छ । यद्यपि महिला सर्वप्रथम कोरोनरी मुटुरोगको बिरामी हुँदा पुरुषको तुलनामा समग्रमा १० वर्षभन्दा बढी उमेरका हुन्छन् ।

ब्रिटिश हार्ट फाउन्डेसनका तथ्यांकअनुसार वि. सं. २०७८ सालमा विश्वभर करिब ११ करोड पुरुष र ८ करोड महिला कोरोनरी मुटुरोगबाट ग्रसित थिए ।

कोरोनरी मुटुरोग हुने जोखिमको सर्वाधिक प्रमुख कारक धुम्रपान हो, कैयौं हृदयघात तम्बाकूको प्रयोगबाट हुन्छन् । विश्व स्वास्थ्य संगठनले वि. सं. २०७७ साल असोज १३ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार हरेक वर्ष कोरोनरी मुटुरोगबाट विश्वभर ९४ लाख मानिसको मृत्यु हुन्छ, जसमध्ये करिब १९ लाख (करिब २१ प्रतिशत) मृत्यु तम्बाकूको प्रयोगबाट तथा त्यसको प्रयोगको प्रभावबाट अरूलाई (सेकेन्ड-ह्यान्ड स्मोकबाट) हुन्छ । धुम्रपान गर्ने व्यक्तिले धुम्रपान गर्न रोकेमा एक वर्षभित्र मुटुरोगका जोखिम आधाले घट्छ र कालन्तरमा जोखिम सामान्य अवस्थमा पुग्छ ।

यो अचम्मको कुरा हो कि विश्व जनसंख्यामा धुम्रपान गर्ने युवतीको संख्यामा वृद्धि भएको पाइन्छ भने धुम्रपान गर्ने युवकको संख्या घटेको पाइन्छ । साथै, धुम्रपान गर्ने युवतीहरूले मुखबाट लिइने परिवार नियोजन औषधि अर्थात् ‘पिल्स’ प्रयोग गरेमा उनीहरूमा मुटुरोगको जोखिम बढी हुन्छ ।

पुरुषको तुलनामा महिलालाई उमेर बढ्दै गएपछि हाईपर्टेन्सन बढी हुन्छ । हाईपर्टेन्सनको नियन्त्रणले दुवै मस्तिष्कघात र मुटुरोगका जोखिम घटाउँछन् । केही तथ्यांक अनुसार रजोनिवृत्ति भइसकेका एवं डिस्लीपिडीमियाबाट ग्रसित महिलाको उपचारका महत्वपूर्ण फाइदा छन् ।

मधुमेहसँग सम्बन्धित कोरोनरी मुटुरोगबाट हुने मृत्युको जोखिम पुरुषभन्दा महिलामा बढी हुन्छ । यो लैङ्गिक अन्तर हुनुको कारण मधुमेहको लिपीड र रक्तचापमाथि हुने विशेष हानिकारक प्रभावले गर्दा हुनसक्छ । ओबेसिटी र अभ्यासरहित जीवनशैलीबाट दुवै पुरुष र महिलामा मुटुरोगको उत्तिकै जोखिम हुन्छ ।

मुखबाट लिइने परिवार नियोजन औषधि (पिल्स)

पिल्सको प्रयोगले रक्तचाप बढाउनुका साथै धुम्रपान गर्ने महिलामा अतिरिक्त जोखिम हुन्छ । यद्यपि पिल्सको प्रयोगले मुटुरोगका अन्य जोखिम नभएका महिलामा हृदयघात हुने जोखिम बढाउँदैन । सामान्यतया पिल्स प्रयोग गर्ने महिलामा मस्तिष्कघातको जोखिम केही गुणाले बढ्छ भने पिल्स प्रयोग गर्नुका साथै धुम्रपान समेत गर्ने महिलामा मस्तिष्कघातको जोखिम कैयौं गुणाले बढ्छ । यद्यपि कम डोसेज भएको एवं ५०० ग्राम भन्दा कम ईस्ट्रोजेन भएका पिल्स धुम्रपान नगर्ने महिलाले मात्र प्रयोग गर्दा जोखिम नभएको भेटिन्छ । साथै, ६५ वर्षभन्दा बढी उमेरका व्यक्तिमा अधिकांश मस्तिष्कघातका उपचारमा पुरुषभन्दा महिलाका लागि बढी खर्चालु हुन्छ ।

ब्रिटिश हार्ट फाउन्डेसनको २०७८ सालको तथ्यांक अनुसार विश्वभर करिब ५ करोड ६० लाख महिला र ४ करोड ५० लाख पुरुष मस्तिष्कघात भएर बाँचेका छन् ।

साथै, असामान्य छाती दुखाइ, पेट दुखाइ, बान्ता आए जस्तो (वाकवाक) हुनु, थकान महसुस हुनु र श्वास फेर्ने समस्याबाट ग्रसित हुने सम्भावना पुरुष भन्दा महिलामा तुलनात्मक रूपमा बढी हुन्छ । पुरुषको तुलनामा महिलामा हृदयघात जीवनको उत्तरार्धतिर हुन्छ, सो क्रममा महिलामा प्राय: अन्य रोग पनि हुन्छन् जसले मुटुरोगका लक्षण ‘लुकाउँछन्’ ।

भौतिक रूपमा क्रियाशील तथा नियमित रूपमा भौतिक अभ्यास गरिरहने महिलालाई मुटुरोगले प्रभावित गर्दैन भन्ने मिथ्या मात्र हो । तथ्य के हो भने योगाप्रेमी, म्यारथनको उत्साही भएपनि कसैमा पनि मुटुरोगको जोखिम शून्य हुँदैन । व्यक्तिको कोलेस्टेरोल, भोजन गर्ने र धुम्रपान गर्ने बानीले अन्य स्वस्थ्य बानीलाई ‘न्यूट्रलाइस’ गर्न सक्छ ।

केही मुटुरोगका लक्षणहरू पुरुषभन्दा महिलामा भिन्न हुनसक्छन्, जसकारण महिलामा नियमित रूपमा मुटुरोगको गलत निदान हुने गरेको भेटिन्छ ।

मुटुरोगका लक्षण

पुरुष

१. वाकवाक हुनु वा बान्ता आउनु

२. च्यापु, घाँटी वा ढाड दुख्नु

३. छातीमा निचरेको जस्तो दबाब वा दुखाइ महसुस हुनु

४. श्वासप्रश्वासमा समस्या हुनु

महिला

१. वाकवाक हुनु वा बान्ता आउनु

२. च्यापु, घाँटी वा ढाडको ‘उपल्लो’ भाग दुख्नु

३. छातीमा कहिलेकाहीं दुखाइ महसुस हुनु

४. श्वाप्रश्वासमा समस्या हुनु

५. बेहोस हुनु

६. अपच हुनु

७. अत्यधिक बाह्य थकान हुनु

पुरुषलाई जस्तै महिलालाई हृदयघात हुनुका लक्षणमा सर्वाधिक सामान्य लक्षणमा छाती दुखाइ वा छातीमा असहजता पर्छन् । यद्यपि हृदयघात हुने क्रममा पुरुषभन्दा महिलामा श्वासप्रश्वास, बान्ता आउनु/हुनु र ढाड वा च्यापु दुखाइ जस्ता सामान्य लक्षण देखिनु झन् स्वाभाविक हो ।

महिलाको सन्दर्भमा कोरोनरी मुटुरोग प्राय: विना लक्षण हुन्छ । साथै, मुटुरोगको निदान गर्ने टीएमटी (ट्रेड मिल टेस्ट) जस्ता परीक्षण महिलाको सन्दर्भमा कम प्रभावकारी हुन्छन् । साथै एचआरटी (हर्मोन रिप्लेस्मेन्ट थेरापी) ले गलत परिणाम देखाउन सक्छ । महिलाको सन्दर्भमा टीएमटी मार्फत मुटुरोगको निदान गर्ने क्रममा एसभीडी (सिंगल भेसल डीसीस) को निदान नहुने बढी सम्भावना हुन्छ ।

त्यस्तै, म्योकार्डीयल पर्फ्युसन थालीयम टेस्ट जस्ता मुटुरोगका आधुनिक निदान परीक्षण प्रयोग गर्ने क्रममा समेत महिलाका स्तन (ब्रेस्ट) टिस्युले गलत परिणाम देखाउन सक्छ । यद्यपि एसपीईसीटी (सिङ्गल-फोटन ईमिसन कम्पुटेड टोमोग्राफी), क्याल्सियम स्कोरीङ र एक्सर्साइस एको महिला बिरामीका लागि महत्वपूर्ण निदान प्रक्रियामा पर्छन् ।

तसर्थ मुटुरोगबाट ग्रसित महिलामा प्राय: दुवै ‘कम उपचार’ र ‘कम निदान प्रक्रिया’ प्रयोग गरिएका अवस्थामा हुन्छन्, जबकि महिलामा मुटुरोगको जोखिम बढी हुन्छ ।

युरोपियन सोसाइटी अफ कार्डियोलोजी (ईएससी) को वैज्ञानिक सम्मेलन ‘हार्ट फेलियर’ सन् २०२३ मा प्रस्तुत गरिएको अनुसन्धानात्मक पत्रअनुसार पुरुषको तुलनामा महिलामा मुटुरोग भएपछि मृत्यु हुने सम्भावना दोब्बर हुन्छ । समग्रमा, पुरुषभन्दा महिलामा कोरोनरी रक्तनली साना हुन्छन् । साथै, एन्जlयोप्लास्टी र बाईपास शल्यक्रिया जस्ता इन्टर्भेन्सन प्रक्रिया महिलामा गर्ने क्रममा तथा तत्कालै गरेपछिको अवस्थामा रक्तस्राव र रक्तनली विच्छेद हुने जस्ता प्रतिकूल परिणाम बढी देखिन्छन् । तसर्थ कोरोनरी मुटुरोगबाट ग्रसित महिलाले जोखिम न्यूनीकरणका उपाय अपनाउँदा उनीहरूलाई सर्वाधिक लाभ हुन्छ ।

एचआरटी (हर्मोन रिप्लेस्मेन्ट थेरपी)

वास्तवमा एचआरटी विवादास्पद छ । विगतमा रजोनिवृत्ति हुने क्रममा त्यसका लक्षणबाट छुटकारा पाउन तथा ओस्टियोपोरोसिस र मुटुरोगबाट संरक्षण पाउनका लागि धनाढ्य महिलालाई चिकित्सकबाट हर्मोनहरू नियमित रूपमा दिइन्थ्यो । यद्यपि नवीनतम तथ्यांक अनुसार एचआरटीबाट मुटुलाई कुनै पनि प्रकारको फाइदा भएको भेटिंदैन । तसर्थ मुटुरोगबाट संरक्षण पाउन मात्र एचआरटी गरिंदैन । ईस्ट्रोजेन हर्मोन प्रयोग गर्छु भन्ने निर्णय लिने महिला शिक्षित थिए र यसर्थ उनीहरूमा रक्तचाप, कोलेस्टेरोल, ईन्सुलीन, शरीरको वजन, मदिरा सेवन र भौतिक अभ्यास अनुकूल तहमा हुन्थे । तसर्थ ईस्ट्रोजेनको संरक्षण परिमाण भनिए जस्तो नहुन सक्छ ।

साथै, एचआरटी गरिने अवधि अनुसार एचआरटीसँग सम्बन्धित अधिकांश जोखिम पनि बढ्ने गरेको देखिन्छ । केही व्यक्तिले एचआरटी न्यूनतम अवधिका लागि सफलतापूर्वक प्रयोग गरेर रजोनिवृत्तिका क्रममा देखिने लक्षणको अल्पकालीन निराकरणलाई महत्वपूर्ण ठान्छन् । उनीहरूले यसबाट हुने स्तन क्यान्सर, ईम्बोली र यसबाट मुटुरोगका हुने निश्चित साना जोखिमका वृद्धि ‘स्वीकार्य’ ठान्छन् । यद्यपि अझ भरपर्दो तथ्यांक उपलब्ध नभएसम्म महिलाको मुटुरोगका प्रारम्भिक जोखिमका आधारमा एचआरटी प्रयोग गर्नुपर्छ, जसमा स्वास्थ्यमा हुने समग्र फाइदालाई मध्यनजर गर्नुपर्छ ।

बाथ मुटुरोग

बाथ मुटुरोगले पुरुष र महिलालाई असमान रूपमा असर गर्छ । बाथ मुटुरोग हुने जोखिम पुरुषभन्दा महिलामा दुई गुणा बढी हुन्छ । गर्भवती महिलालाई मुटुसम्बन्धी जटिलता हुनुका प्रमुख कारण बाथ मुटुरोग हो । बाथ मुटुरोग भएका गर्भवती महिलालाई हार्ट अरीथ्मीयास र हार्ट फेलियर जस्ता प्रतिकूलताको जोखिम हुन्छ । यो हुनुको कारण रगतको मात्रा बढेर मुटुका भल्बमा थप दबाब पर्नु हो । गर्भवती नभएसम्म महिलालाई आफूलाई बाथ मुटुरोग भएकोमा जानकारी नहुनु सामान्य हो ।

अन्त्यमा,

महिला समुदायमा मुटुरोगका जोखिम न्यूनीकरण गर्नका लागि यी महत्वपूर्ण हुन्छन् ।

-मुटुरोगसम्बन्धी चेतना फैलाउनु र मुटुरोगको पहिचान गर्नु ।

-मुटुरोग रोकथाम गर्नु ।

-निष्पक्ष उपचार र स्वास्थ्य सेवा प्रदान गर्नु ।

-समावेशी तथा लैङ्गिक विशिष्टिकरण गरिएको अनुसन्धान गर्नु ।

मुटुरोगका सन्दर्भमा पुरुषका तुलनामा महिलालाई स्वास्थ्य सेवा पाउन बढी समय लाग्छ । यस्तो हुनुका कारणमा मुटुरोगका क्रममा देखिने लक्षणमा लैङ्गिक अन्तरका अतिरिक्त मानसिक-सामाजिक कारकले भूमिका खेल्लान् ।

समग्रमा, सबै महिला समूहले मुटुरोगका सन्दर्भमा पुरुष र महिलाबीच विद्यमान अन्तरलाई स्वीकार्नुपर्छ । केही चयन गरिएका समूहमा मुटुरोगका प्राथमिक रोकथामका लागि औषधोपचारको भूमिका हुन्छ । यद्यपि, जीवनशैली परिमार्जन, धुम्रपान नियन्त्रण, मधुमेह, ओबेसिटी, आहार र भौतिक अभ्यासमा मुख्य जोड दिइनुपर्छ । साथै, महिलाका सन्दर्भमा हुने मुटुरोग समस्याका साथै उनीहरूको जीवनको उत्तरार्धतिर मुटुरोगको सुरुवात हुने विषयबारे पनि विविध तहका शैक्षिक एवं सेमिनार कार्यक्रममा महत्व दिई सचेतना फैलाउनुपर्छ ।

डब्लुटीएच (वुमेन टेक हार्ट) र डब्लुआईएसई (वुमेन विथ ईस्केमिया सिन्ड्रोम ईभ्याल्युएसन) जस्ता विविध अन्तर्राष्ट्रिय कार्यक्रम वि. सं. २०६३ सालमा जारी भए । महिलाले स्वस्थ दीर्घायु जीवन बाँच्नका लागि मुटुरोगका जोखिमहरू प्रभावकारी ढंगले व्यवस्थापन गर्नुपर्ने निष्कर्ष ती कार्यक्रमले दिएका थिए ।

दीर्घरोग मुटुरोग स्वास्थ्य
डा. रन्जित बराल
लेखक
डा. रन्जित बराल
वरिष्ठ मुटुरोग विशेषज्ञ तथा उड्डयन चिकित्सा परामर्शदाता एवं जनरल फिजिसियन

डा. बराल हाल काठमाडौंस्थित बयोधा अस्पताल र गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यरत छन् । उनले एमबीबीएस (पान्डीचेरी), कार्डियोलोजीमा पीएचडी (जापान) र उड्डयन चिकित्सा (किंग्स कलेज लण्डन) अध्ययन गरेका छन्  । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर १५१६ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?