+
+

मुकुल प्रतिवेदनको स्वामित्व रास्वपाले नलिने

‘मुकुल र रवि लामिछानेको सम्बन्ध बिग्रेपछि रिस पोख्न समीक्षा यात्राको नाम दिनुभएछ, पार्टीमा सुधार चाहियो भनेर निष्कर्ष निकाल्न यात्रामा गइराख्नुपर्छ ?’

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २१ गते १८:४९

२१ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले निलम्बित महामन्त्री मुकुल ढकालको समीक्षा प्रतिवेदनको स्वामित्व नलिने भएको छ ।

ढकालले ६ जेठदेखि एक महिना ३८ जिल्ला पुगेर तयार गरेको समीक्षा प्रतिवेदन बुधबार पार्टी केन्द्रीय समिति बैठकमा पेस गरिएको थियो । समीक्षा यात्रा नाम दिएर ढकालले आफ्नो व्यक्तिगत कुण्ठा प्रतिवेदनमार्फत पेस गरेको रास्वपाका नेताहरूले दाबी गरेका छन् ।

पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले ढकालको प्रतिवेदनलाई पार्टीले स्वामित्व नलिने बताए । उनले भने, ‘उहाँको व्यक्तिगत कुण्ठालाई पार्टीले स्वामित्व लिँदैन । त्यो पार्टीको पुँजी हुन हुन सक्दैन ।’

समीक्षा यात्रा सकेर फर्केका मुकुलले पार्टी सभापति रवि लामिछाने माथि पहिलोपटक प्रश्न उठेको प्रतिवेदनमा उल्लेख गरेका छन् । सभापतिको कार्यशैलीलाई लिएर १० प्रश्न उठेको उनले समीक्षा प्रतिवेदनमा लेखेका छन् ।

रास्वपाका शीर्ष तहका एक नेताका अनुसार ती प्रश्न शुभेच्छुकबाट आएका हुन् कि ढकाल स्वयंका हुन् भनी पार्टीमा विश्लेषण सुरु भएको छ । सभापति नै किन सरकारमा जान परेको ? जिबी राई कहिले समातिन्छन् ? सचिवालयमा किन ग्यालेक्सीको टीम धेरै ? निर्मला पन्तलाई न्याय कहिले मिल्छ? सभापतिमा त्यागको भावना नभएको लगायत प्रश्न प्रतिवेदनमा उठाइएको छ ।

सभापतिका बारेमा प्रश्न उठेको र पार्टीमा सुधारको खाँचो रहेको विषयलाई एक महिना यात्रामा निस्कन नपर्ने नेताहरूको तर्क छ । ‘उहाँको र सभापतिको सम्बन्ध बिग्रिएको रहेछ । सम्बन्ध बिग्रेपछि आफ्नो रिस पोख्न यात्राको नाम दिइयो,’ रास्वपाका शीर्ष तहका नेताले भने,‘पार्टी सुधारको आवश्यकता छ भनेर हामी भनिरहेकै छौं । त्यसका लागि यात्रामा जानुपर्छ?’ निलम्बित ढकालले सभापतिसँग गृहमन्त्री भइसकेपछि सम्बन्ध बिग्रन थालेको स्वीकार गरिसकेका छन् ।

नेताहरू सुविधाभोगी भएको विषय आफूतिर फर्केर हेर्न ढकाललाई सुझाव दिइएको छ । पार्टीले दिएको गाडी प्रयोग गर्ने, इन्धन खर्च लिने, सवारी चालक आफूले राखेर अरुलाई टिप्पणी गर्नु उचित नहुने नेताहरूको तर्क छ । उपसभामुख पदको राजनीतिक लाभ लिन ढकालले प्रतिवेदनमा लेखेका छन् । उपसभामुख साझा व्यक्ति भएकाले पार्टीले राजनीतिक लाभ लिनुपर्ने तर्क अनुचित भएको केन्द्रीय सदस्य गणेश कार्कीले बताए । ‘प्रतिवेदनमा राजनीतिकरण गर्न हुँदैन भनी पनि लेख्नुभएको छ,’ कार्की भन्छन्,‘साझा व्यक्ति उप सभामुखसँग राजनीतिक लाभ लिन सकिएन भन्नुहुन्छ । कसरी मिल्छ यो कुरा ?’

रास्वपा राजनीतिक दल नभई गैरसरकारी संस्था जस्तो देखिएको ढकालले प्रतिवेदनमा उल्लेख गरेका छन् । त्यसप्रति पनि नेताहरूले प्रतिवाद गरेका छन् । एनजीओ जस्तो पार्टी भएको भए ‘डे वान’ देखि महामन्त्री ढकालले त्यसको जिम्मेवारी लिनुपर्ने रास्वपा नेताहरूको तर्क छ । ‘विधान, कार्यविधि, निर्देशन सबै बनाउने प्रमुख भूमिकामा उहाँ हुनुहुन्थ्यो अनि अहिले पार्टी एनजिओ जस्तो भन्न मिल्छ?’ कार्यवाहक प्रवक्ता झाले भने, ‘एनजिओ जस्तो किन बनाएको ?’

रास्वपा नेताहरुका अनुसार ढकालले समीक्षा प्रतिवेदन तयार गर्दा एकपक्षीय बनाएका छन् । २०७९ जनासँग संवाद गर्दा शतप्रतिशतले पार्टीको नकारात्मक मात्रै धारणा राखेको हुनै नसक्ने रास्वपा नेताको तर्क छ । संवाद, छलफल, अन्तर्क्रिया मार्फत तयार पारिएको प्रतिवेदनमा पार्टीका कमजोरी पक्ष मात्रै औंल्याइएको छ । कार्यवाहक प्रवक्ता झा भन्छन्,‘नकारात्मक पक्ष मात्रै भने होला र ? रास्वपाले गरेका राम्रा काम पनि भनेको हुनुपर्दछ । राम्रा पक्ष प्रतिवेदनमा कही छैन ।’

ढकालले प्रतिवेदनमा उल्लेखित गरेको ‘प्रशिक्षणमा कमी’ प्रति पनि नेताहरूले टिप्पणी गरेका छन् । प्रशिक्षण कमी भएको पार्टी केन्द्रलाई जानकारी रहेको र त्यसका लागि समीक्षा यात्रा आवश्यक नरहेको प्रशिक्षण विभागका प्रमुख अनिलकेशरी शाहले बुधबार पार्टी बैठकमा भनेका थिए । ‘प्रशिक्षण पुगेको छैन, बढाऔं भनेर मैले भन्दै आएको छु,’ पार्टी बैठकमा शाहले भनेका थिए ।

बुधबार बैठकमा प्रतिवेदन पेस गर्नु अघि त्यसका प्रमुख विषयहरु ढकालले बाहिर ल्याइसकेका थिए । प्रतिवेदन पेस गरेपछि सार्वजनिक नहुने चिन्ता ढकाललाई थियो । सार्वजनिक नहुने आशंकाले गर्दा ढकालले सभापति लामिछानेसँग प्रतिवद्धता खोजेका थिए । पार्टी बैठकमा सभापति लामिछानेले प्रतिवद्धता गरेअनुसार बिहीबार ढकालको प्रतिवेदन हुबहु सार्वजनिक गरिएको छ ।

पार्टी शीर्ष तहका नेताका अनुसार ढकालले तथ्यहीन उल्लेख गरेका विषय हटाउने कि भन्ने छलफल समेत भएको थियो । ढकालले पार्टीले अंगालेको नीतिका विरुद्द हुने गरी मनगढन्ते विषयलाई प्रतिवेदनमा राखेको एक पदाधिकारी बताए । पार्टीका सांसदलाई तेजोवध गर्ने गरी प्रतिवेदनमा तथ्यहीन प्रसंग राखिएको उनले बताए ।

‘रास्वपा अरु दलसँग तालमेल गरेर चुनावमा प्रतिस्पर्धा नगर्ने नीति छ । कांग्रेसका महामन्त्री गगन थापाले रास्वपाका दुई जना उम्मेदवारलाई जिताए भनिएको छ,’ ती पदाधिकारी भन्छन्, ‘यो बेकार कुरा हो । हाम्रा सांसद आफ्नै बलमा जित्न नसक्ने थिए ? गठबन्धन नगर्ने निती स्थापना कालदेखि नै रास्वपाले छोडेको थियो भन्न खोजेको हो?’

पार्टी संस्थापना देखि ढकालको केन्द्रीय तहमा हालीमुहाली हुँदै आएको नेताहरुको दाबी छ । ढकालले बनाएको विधि अनुुसार पार्टी सञ्चालन भएको र उनलाई सभापति लामिछानेले हरेक विषयमा साथ दिएको नेताहरू बताउँछन् । ढकाल आफुखुसी गर्न नपाएको कार्य पछिल्लो दस्तावेजमा मात्रै भएको नेताहरुको दाबी छ ।

दस्तावेज तयार गर्नका लागि पार्टीले १७ सदस्यीय कार्यदल बनाएको थियो । उक्त कार्यदलले जलेश्वर बैठकमा दस्तावेजको प्रस्तावना मात्रै पेस गरेको थियो ।

ढकालले दोहोरो भूमिकामा समेत प्रतिवेदनमा विषय उठाएका छन् । स्थापनाकालदेखि महामन्त्री र प्रवक्ता पद आफूुसँग राखेर अरुलाई प्रश्न गर्ने नैतिक धरातल उनीसँग नभएको नेताहरुको तर्क छ । जलेश्वर बैठकमा प्रवक्ताको पद त्याग्न गरिएको अनुरोध ढकालले नमानेको एक सचिवालय सदस्यले बताए ।

केन्द्रीय समिति बैठकमा ढकालले गरेको व्यवहारले उनलाई महामन्त्री पदबाट एक साताका लागि निलम्बन गरिएको छ । उपसभापति डीपी अर्यालले उनलाई निलम्बन नगर्दै महामन्त्री स्वीकार गर्न नसकिने बताएका थिए । बुधबारको बैठकमा अर्यालले ढकाललाई भनेको थिए, ‘तपाईको पदको मर्यादा राखेर महामन्त्रीज्यू भन्दै आएको थिएँ । तपाईले आज देखाएको शैली सैह्य हुँदैन ।’

नेताहरूका अनुसार उनी सोही पदमा फर्कने सम्भावना नरहेको रास्वपा स्रोतको भनाई छ । अनुशासन आयोगले एक साताको म्याद राखेर उनलाई स्पष्टीकरण सोधेको थियो । निलम्बित ढकालले १९ असारमा स्पष्टीकरण बुझाएको प्रतिक्रिया दिएका छन् । स्पष्टीकरण दर्ता गर्न आग्रह गर्दा समेत वेवास्ता गरिएको उनले बताए । ‘स्पष्टीकरणको जवाफ नै नपढी कारबाही गर्नु दूराशयपूर्ण छ । अलोकतान्त्रिक छ,’ ढकालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?