+

कसैको प्रेममा पर्दा शरीरमा के कस्ता परिवर्तन देखिन्छन् ?

२०८१ असार  २३ गते ११:३७ २०८१ असार २३ गते ११:३७
कसैको प्रेममा पर्दा शरीरमा के कस्ता परिवर्तन देखिन्छन् ?

काठमाडौं । प्रेम, त्यो उत्साहपूर्ण अनुभूति हो जसले हिजोभन्दा आजको दिन प्रिय बनाउन सक्छ । प्रेमिल भावमा डुबेपछि सोच्ने तरिका, अनुभव गर्ने तरिका, आफूलाई मनपर्ने, मन नपर्ने र आफ्नो विचारधारा प्रेमको आवास गराउने प्रेमी वा प्रेमिकातर्फ पग्लिंदै जान्छ ।

त्यो भावनात्मक अनुभवमा मात्र सीमित रहँदैन । जब मायाको तीर प्रहार हुन्छ, हाम्रो शरीरभित्र शारीरिक प्रतिक्रियाहरूको एक उल्लेखनीय शृंखला सुरु हुन्छ ।

मस्तिष्क, रसायन र हर्मोन

शक्तिशाली न्यूरो रसायन प्रवाहदेखि लिएर मुटुको गति र श्वासप्रश्वासको लयसम्म परिवर्तनहरू ल्याउँछन् । यसको मतलब प्रेममा हुँदा जैविक प्रक्रियाहरूबीच जटिल अन्तरक्रिया हुन थाल्छ ।

मनोवैज्ञानिक गुरलिन बरुआ भन्छिन्, ‘जब व्यक्तिमा प्रेमको भावना जोडिन्छ, तब वास्तवमा मस्तिष्क नै हो, जसले अधिकांश परिवर्तनहरू ल्याउँछ । तर हामीलाई लाग्छ त्यो काम मुटुको हो ।

‘हाम्रो मस्तिष्कले डोपामाइन र अक्सिटोसिन लगायत रसायनहरूको ककटेल निकाल्छ, जसले प्रेमप्रति हाम्रो भावनात्मक र शारीरिक प्रतिक्रियाहरूलाई आकार दिन र आनन्द र मीठो पीडासँग सम्बन्धित भागहरू सक्रिय गर्न महत्त्वपूर्ण भूमिका खेल्छ।’ यस्ता रसायनिक गतिविधिले शारीरिक र मनोवैज्ञानिक प्रभाव पार्छ ।

हार्बर्ड मेडिकल स्कुलमा प्रकाशित एक आलेखअनुसार  प्रेममा पर्दा भावनाहरु एक किसिमको अलग्गै उचाइमा पुग्छन्, तनाव कम हुन्छ र मनपर्ने पार्टनरको सामीप्यबारे दिमागले कल्पिन्छ । यी रासायनिक परिवर्तनले गर्दा प्रेम शारीरिक संवेदनामा पनि प्रकट हुन्छ । जस्तै, दुईबीच सामीप्य बसेको कल्पिएर नै मन बेचैन हुने, मुटु ढुकढुक हुने र ओठमा मीठो मुस्कान आउने हुन्छ ।

शारीरिक सामीप्य जस्तै, हात समाउने, घण्टौं गफ, आँखामा गहिरिनु, अंकमाल र चुम्बन गर्दा वा त्यस्ता पल सम्झिंदा पनि अक्सिटोसिन हर्मोन रिलिज हुन्छ, जसलाई मायाको हर्मोन पनि भनिन्छ । जसले आफ्नो पार्टनरप्रति विश्वास, मधुरता र सुरक्षाको प्रत्याभूति गराउँछ ।

मायामा पर्दा न्युरोट्रान्समिटर र हर्मोनले भावना र व्यवहारलाई कसरी परिवर्तन गर्छ ?

हर्मोनरोग विषेशज्ञ डा. विनय राउतका अनुसार जब प्रेम दुईबीच सुरुवात हुन्छ, तब न्युरोट्रान्समिटर र हर्मोन डोपामाइन, अक्सिटोसिन र सेरोटोनिन मिलेर हाम्रो माया र व्यवहारलाई आकारप्रकार दिन थाल्छन् । पहिलोपटक प्रेममा पर्दा दिमागको १२ भागबाट डोपामाइन, अक्सिटोसिन र एन्ड्रोलिन रिलिज हुन्छ ।

जसकारण कोही मायामा परेको छ भने उसको हाउभाउ नै बदलिएको देख्न सकिन्छ । उनी भन्छन्, ‘मायामा हुने व्यक्ति पहिला भन्दा रोमाञ्चित हुने, चिटिक्क भएर हिंड्न थाल्ने, हेर्दा प्रफुल्ल देखिने हुन्छन् । यो सबै प्रेममा बसेपछि हर्मोनहरुले गराउने अनुभव हो ।’

उनका अनुसार डोपामाइनलाई खुसीको हर्मोन भनिन्छ, जसले मस्तिष्कमा हुने ‘रिवार्ड सेन्टर’ मा भरिन्छ । जसले मुडलाई विस्तारै सुधार गर्ने र आनन्दको भावना सिर्जना गर्छ । यही हर्मोनकै देन हो, जसले पहिलाको भन्दा फूर्तिलो, उत्प्रेरित र जीवनमा केही गर्नु छ भने भावना ल्याउँछ । अति केन्द्रित, प्रेरित र रोमाञ्चक गतिविधि वा लक्ष्य प्राप्त गर्न उत्सुक बनाउँछ । जुन भावना पछि गएर परिवर्तन हुनसक्छ ।

अर्को हर्मोन हो, सेरोटोनिन । जसले पनि मुडलाई ठीक पारी प्रफुल्लित पार्न र भावनामा स्थिरता ल्याउन मद्दत गर्छ । यसले त कुनै किसिमको भय र तनावलाई समेत शान्त पारी दिमागलाई शान्त बनाउँछ । फलस्वरुप, प्रेमले मानिसको मानसिक स्वास्थ्यलाई सुधार डा. भट्टराई बताउँछन् ।

‘लामो समयसँगै व्यतीत गरिसकेको वा आकर्षणकै कारण जोडिएको दुई व्यक्तिबीच भावनात्मक सम्बन्ध अन्य व्यक्तिको तुलनामा अत्यधिक हुन्छ । र, ती व्यक्तिबीच हुने अनुभूति पनि उनीहरूलाई सो कुराको प्रत्याभूति दिन्छ,’ उनी भन्छन् ।

र्घकालीन स्वास्थ्यमा प्रभाव

मायाले स्वास्थ्यमा दीर्घकालीन रूपमा सकारात्मक र नकारात्मक दुवै पक्ष ल्याउने डा. भट्टराई बताउँछन् । ‘सकारात्मक प्रभावमा सबैप्रति मायामोह, सन्तुष्टि, एकअर्काको भावना नजिकबाट बुझ्ने, समस्या भए मिलेर सुल्झाउने,  घर बसाउन आफ्नो कर्तव्यप्रति उत्तरदायी हुन सिकाउँछ ।

यस्तोमा सकारात्मक भावना पैदा हुन्छ । र,  अक्सिटोसिन र इन्डोर्फिनको उत्पादन तथा प्रतिक्रिया गर्छ, जसले तनावको स्तर कम गर्न र मानसिक स्वास्थ्यमा सुधार गर्न मद्दत गर्छ । यसबाहेक प्रेमले भरिएको नाताले नै हामीलाई एक सहायक वातावरण मिल्छ । जसले वैचारिक भावना र अनुभव खुलेर एकअर्कालाई पोख्न सकिन्छ । आफूले रुचाएको मान्छेले भावनात्मक समर्थन र साथले मानिसको दैनिक काम र मन दुवै राम्रो रहन सक्छ ।

प्रेममा पर्नु वा प्राप्त गर्नुमा हरेक दिन खुसी मात्र हुन्छ भन्ने हुँदैन । कहिलेकाहीं यसले नकारात्मक प्रभाव पनि पार्न सक्छ ।

Happy young couple with digital tablet and coffee cup at park

नकारात्मक प्रभाव के हुनसक्छ ?

मनोविद् गोपाल ढकाल भन्छन्, ‘माया पायो भने त ठीक छ । तर कहिलेकाहीं भावनालाई नियन्त्रण गर्न नसक्दा मानिसमा अनावश्यक झमेला हुनसक्छ । जति मायालाई सहज बनायो त्यति प्रगाढ हुँदै जान्छ । जति हाबी हुँदै गयो त्यति नराम्रो हुँदै जान्छ ।’

उनका अनुसार सुरुवातमा आकर्षण हुन्छ । सबै कुरा राम्रो लाग्छ । तर समय बित्दै जाँदा र समय धरै बिताउँदा आकर्षण सदा झैं रहँदैन । सधैं सँगै बस्दा विचारमा द्वन्द्व आउन सक्छ । र, यस्तोमा एकजना अर्कोमाथि हाबी हुँदा सम्बन्ध बिग्रिन सक्छ । त्यतिखेर तनावको हर्मोन कोर्टिसोल उत्पन्न हुन्छ, जसले गर्दा झगडा पर्ने भइराख्छ । यही क्रम बढ्दै गयो भने सम्बन्ध बिग्रिन सक्छ ।

‘माया प्रेम भन्ने कुरा भावनात्मक कुरा हो । घृणा , आक्रोश , आवेग जस्ता कुरा पनि भावनात्मक कुरा हुन । जुन मस्तिष्कबाट निस्कने मस्तिष्क रसायन कै उपज हो । सोच , विचार , भावना परिपक्व हुनु आवश्यक हुन्छ । अपरिपक्व भावना भएमा यसले समस्या निम्त्याउन सक्छ । चाहे त्यो माया प्रेम कै भावना किन नहोस् । बुद्धि , विवेक, चेतनाले भावनालाई नियन्त्रणमा वा सन्तुलनमा राख्ने काम गर्छ, ‘मनोविद् ढकाल भन्छन् ।

यसरी सम्बन्ध बिग्रिन सक्नुमा पनि हर्मोनको खेल हुनसक्ने डा. भट्टराई बताउँछन् । ‘कसैसँग प्रेम गरेको १३ महिनापछि नोरपेनेफ्रिन, सेरोटोनिन र अक्सिटोसिन हर्मोन घट्दै जान्छ, जसकारण सम्बन्धमा खटपट आउन सुरु हुन्छ,‘ उनी भन्छन्, ‘यसको कमी हुँदा कोर्टिसोल हर्मोन बढ्छ ।

फलस्वरुप यसले क्रोधित गराउने,  तनाव बढाउने, आफ्नो प्रेमिका वा प्रेमीबाट वाक्क हुने, झर्को लगाउने, सबैभन्दा बढी माया गर्ने व्यक्तिसँगै रिसाउने र झगडा हुने हुँदै ब्रेकअप वा बिछोड समेत गराउन सक्छ । लामो समयसम्म एकअर्कासँग टाढा बसेको अवस्थामा त झन् बढी सम्बन्ध टुट्न सक्छ ।

किनभने उनीहरुको एकापसमा अक्सिटोसिन बढाउने खालको अंकमाल, चुम्बन पहिला जस्तो नहुँदा सम्बन्ध चिसिन सक्ने मनोविद् ढकाल बताउँछन् । त्यसैले माया प्रेम बढाउन यी हर्मोनहरुको सन्तुलन पनि आवश्यक हुन्छ ।

यस्तोमा प्रश्न आउँछ, के गर्ने ?

डा. भट्टराईका अनुसार प्रेम हर्मोनलाई कायम राख्न उपहार दिने, घुम्न जाने, समय बिताउने, सामीप्य बढाउने, सम्मान गर्ने, काम र सौन्दर्यको प्रशंसा गर्ने, अंकमाल गर्ने र चुम्बन गर्ने जस्ता क्रिया कायम राख्नुपर्छ, यसले अक्सिटोसिन जस्ता खुसी प्रदान गर्ने हर्मोनलाई सन्तुलनमा राख्न मद्दत गर्छ ।

त्यति मात्र होइन, आफ्नो पाटर्नरबाट चाहिनेभन्दा बढी अपेक्षा राख्नु हुँदैन। यसले पनि सम्बन्धमा फाटो ल्याउन सक्छ ।

प्रेम मानसिक स्वास्थ्य
लेखक
मनिषा थापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?