+
+

सदाबहार डेंगु : अबको तीन महिना एकदमै कठिन

वर्षायाममा घर नजिकका खाल्डामा मात्र होइन, गमला र पुरानो टायरमा जमेको पानीमा पनि डेंगु रोग फैलाउने एडिज नामक लामखुट्टेले फुल पार्छ ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८१ असार २१ गते २०:२०

२१ असार, काठमाडौं । मनसुन भर्खर–भर्खर सक्रिय भएको छ । तर डेंगुका संक्रमित देशभर भेटिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार पुसदेखि हालसम्म ७३ जिल्लामा डेंगु सक्रिमित भेटिएका हुन् ।

हालसम्म १ हजार ४३२ जना संक्रमित भएका छन्, जसमा सबभन्दा बढी बागमती प्रदेशमा ४८२ जना संक्रमित भए । कोशीमा ३५०, गण्डकीमा २१२, लुम्बिनीमा १७१, सुदूरपश्चिममा १५९, मधेशमा ३८ र कर्णालीमा २० जना संक्रमित भए ।

कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार एक दशकको तथ्यांकलाई हेर्दा डेंगु सबैभन्दा बढी असार, साउन, भदौ र असोजसम्म रहने देखिन्छ ।

‘गत वर्ष मनसुन चाडै सक्रिय भएकाले डेंगु चाँडै फैलिन सुरु गरेको थियो । यस वर्ष भखरै मनसुन संक्रिय भएको छ, अबका दिनमा डेंगुका बिरामी बढ्छन्,’ डा. दाहालले भने, ‘यो तीन महिनाको अवधिमा कुनै पनि ठाउँमा डेंगु फैलिन सक्छ ।’

सदाबहार डेंगु

एडिस एजेप्टाई र एडिस एलल्वौपेक्टस नामक लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु संक्रमण नेपालमा पहिलो पटक २००४ मा चितवनमा आएका एक विदेशी नागरिकमा भेटिएको थियो ।

त्यसपछि २००६ मा तराई र भित्री मधेशका केही जिल्लामा डेंगुका बिरामी भेटिएका थिए । २०१६ मा चितवन, झापा र रूपन्देहीमा महामारीकै रूपमा डेंगु देखियो ।

२०२० मा धरानबाट फैलिएको डेंगुबाट १८ हजार मानिस संक्रमित भए, ४३ जिल्लामा फैलिएको डेंगुले १२ जनाको मृत्यु भयो । त्यसयता क्रमशः डेंगु संक्रमितको संख्या मात्रै बढेन संक्रमण अन्य जिल्लामा समेत फैलियो ।

सन् २०२२ मा आइपुग्दा डेंगु संक्रमित ७७ वटै जिल्लामा फैलिँदा ५४ हजारभन्दा बढी संक्रमित भए । उनीहरूमध्ये ८८ जनाको मृत्यु भएको थियो ।

२०२३ मा भने कोशी प्रदेशमा डेंगु फैलिएको थियो । २० जना मृत्यु हुँदा ५२ हजारभन्दा बढी संक्रमित भएका थिए । ईडीसीडीको तथ्यांक अनुसार संक्रमितमध्ये ३१ प्रतिशत सुनसरीका थिए ।

‘पछिल्ला दिनमा चिसो मौसममा समेत डेंगुका बिरामी देखिएका छन्,’ डा. दाहालले भने, ‘अघिल्लो वर्षमा कुनै पनि महिना डेंगुका बिरामी शून्य भएन । अब डेंगु सदाबहादर देखिने आकलन गर्न सकिन्छ ।’ अझ संक्रमित हुने दर बढ्दो छ ।

२०१८ मा प्रतिलाख ३ जना संक्रमित भएका थिए । २०१९ मा ६०, २०२२ मा १८५ थिए । सन् २०२३ मा आइपुग्दा प्रतिलाख १७८ जना संक्रमित भएका छन् । ‘विगतका तथ्यांकले पनि डेंगु फरक फरक ठाउँमा फैलिएको देखिन्छ,’ डा. दाहालले भने, ‘अबको केही हप्तामा डेंगुको बिरामी बढ्ने निश्चित छ ।’

लामखुट्टेले संक्रमण सार्ने दर, नागरिक नियन्त्रणको चेतनाको स्तर, मनसुनको अवस्थाले पनि डेंगुले कस्तो रूप लिन्छ भन्नेमा निर्भर हुने डा. दाहाल बताउँछन् ।

डेंगु फैलिने मुख्य कारण– शहरीकरण

केही वर्ष अघिसम्म तराई तथा धेरै गर्मी हुने ठाउँमा मात्रै डेंगुको संक्रमण बढी देखिन्थ्यो । पछिल्लो समय पहाड चढ्दै हिमालसम्मै पुगिसके ।

ईडीसीडीका निर्देशक डा. युदुचन्द्र घिमिरेका अनुसार, तराईमा पाइने लामखुट्टेले अब आफूलाई पहाडी र हिमाली वातावरणमा ढाल्दै गएको बताउँछन् । ‘हिजोका दिनमा चिसो हुने ठाउँमा तापक्रम बढेसँगै प्रत्यक्ष रूपमा लामखुट्टे हिमालसम्म पुगेका छन्,’ घिमिरेले भने, ‘ जलवायु परिवर्तनको असर उच्च भू–भागमा देखिएको छ । मौसममा बदलावसँगै अन्य कारणले तराईको रोग पहाड अनि हिमालमा उक्लिएको हो ।’

विज्ञका भनाइमा १२–१३ डिग्रीमा पनि डेंगु सार्ने लामखुट्टै सहजै बाँच्न सक्छ । विज्ञहरू डेंगु फैलिनुको कारण बढ्दो शहरीकरण पनि हो । जनघनत्व बढी भएका शहरमा डेंगु सार्ने लामखुट्टेलाई हुर्कन सहज हुन्छ ।

किनकि, यस्ता घना शहरमा पानी जोहो गर्नका लागि ड्रम र बाल्टी राखिएको हुन्छ । त्यस्तै, ग्यारेज तथा बसपार्कको टायर, घर र कौसी खेतीका लागि राखिएका गमलामा पनि लामखुट्टेले छिट्टै फुल पार्छ । एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेबाट डेंगु संक्रमण हुने गर्छ ।

सामान्यतया एडिस एजेप्टाइ शहरी क्षेत्रमा बासस्थान बनाउने गर्छ । एडिस एल्वौपेक्टस झाडी तथा जंगलमा पाइने हुन्थ्यो । तर अहिले दुवै प्रजातिको बसोबास क्षेत्रमा परिवर्तन आएको देखिएको छ । ईडीसीडीले अघिल्लो वर्ष गरेको एक अध्ययनमा एडिस एल्वौपेक्टसका प्रजाति प्रशस्त मात्रामा भेटिएको छ ।

केही वर्ष अघिसम्म तराई तथा धेरै गर्मी हुने ठाउँमा मात्रै डेंगुको संक्रमण बढी देखिन्थ्यो । पछिल्लो समय पहाड चढ्दै हिमालसम्मै पुगिसके ।

‘काठमाडौं उपत्यकामा एडिस एल्वौपेक्टस पाइन्छ भन्ने अनुमान नै गरेका थिएनौं । तर, उपत्यकाका जिल्लामा प्रशस्त मात्रामा एल्वौपेक्टसका प्रजाति भेटियो,’ दाहालले भने ।
डेंगुका १, २, ३ र ४ गरी चार प्रकारका सेरोटाइप हुन्छ । २०७९ गरिएको सरकारी अध्ययनले डेंगुको फैलिनुमा ‘१,२ र ३ सेरोटाइप ३ को भूमिका रहेको देखाएको थियो । त्यसमध्ये ३ सेरोटाइपको भूमिका बढी देखाएको छ ।

सामान्यतया १५ देखि ३५ डिग्रीको तापक्रममा लामखुट्टेको वृद्धि–विकास हुन्छ । डेंगु भाइरस फैलाउने लामखुट्टेका लागि भने १० देखि ४० डिग्रीसम्मको तापक्रम अनुकूल हुन्छ ।

कीट विज्ञहरूका अनुसार एउटा लामखुट्टेको सरदर आयु ३० दिनसम्मको हुने भए पनि लामखुट्टेले पारेका फुलहरू उपयुक्त वातावरण पाउँदा लामो समयसम्म रहिरहन्छन् । त्यही लार्भा बन्छ । लार्भा सातदेखि १० दिनसम्ममा वयस्क हुन्छ ।

संक्रमित पोथी लामखुट्टेले आफ्नो जीवनचक्रमा एक हजारसम्म फुल पार्नसक्छ । उक्त अण्डा विकसित हुनका लागि ८ देखि १० दिन लाग्ने गर्छ । संक्रमित लामखुट्टेको फुलबाट जन्मिएका सबै लामखुट्टे डेंगु संक्रमित हुने गर्छन् ।

उक्त लामखुट्टको शरीर कालो–सेतो छिरबिरे रंगको देखिन्छ । डेंगु सार्ने लामखुट्टेले प्रायः दिउँसो टोक्छ । पोथी लामखुट्टले एक व्यक्तिको रगतले नअघाउँदा पुनः अर्को व्यक्तिलाई टोक्ने गर्छ, जसका कारण धेरै मानिसमा डेंगुको संक्रमण हुन जाने डा. दाहाल बताउँछन् ।

खासमा डेंगुको कुनै उपचार छैन । डेंगुका बिरामीले चिकित्सकीय सल्लाह अनुसार निगरानीमा रहँदा संक्रमणले हुने मृत्युलाई शून्यमा झार्न सकिने चिकित्सकहरू बताउँछन् ।

डेंगुको लक्षण

डेंगु मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ । डेंगु लागेमा रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ । फलस्वरूप बिरामी व्यक्ति सिकिस्त हुने गर्छन् ।

धेरैमा डेंगु कडा हुँदैन तर, कसैकसैमा भने डेंगु संक्रणले जटिल अवस्था आउन सक्छ । निरन्तर वान्ता हुनु, पेट धेरै दुख्नु, रक्तश्राव हुनु, नाक वा गिजाबाट रगत बग्ने, बेहोस हुने, रगत जाँचमा प्लेटेलेट्स संख्या तीव्र गतिमा घट्नुले डेंगुको जटिल अवस्थामा जान सक्ने संकेतको रूपमा लिने गरिन्छ । यस्तो अवस्थामा अनिवार्य चिकित्सकको निगरानीमा उपचार वा परामर्श लिर्नुपर्ने हुन्छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिसे फरक सेरोटाइपको संक्रमण भएमा जटिलता बढी हुने बताउँछन् । उनका अनुसार पहिलो पटक डेंगुको जुन सेरोटाइपले संक्रमण गरेकोमा अर्को पटक पुनः त्यही सेरोटाइपले संक्रमण गर्दैन । तर दोस्रो पटक–फरक खालको सेरोटाइपले संक्रमण गर्दा जटिलता बढी हुन्छ ।

निरन्तर वान्ता हुनु, पेट धेरै दुख्नु, रक्तश्राव हुनु, नाक वा गिजाबाट रगत बग्ने, बेहोस हुने, रगत जाँचमा प्लेटेलेट्स संख्या तीव्र गतिमा घट्नुले डेंगुको जटिल अवस्थामा जान सक्ने संकेतको रूपमा लिने गरिन्छ ।

एक प्रकारको विषाणुबाट (सेरोटाइप) डेंगु भइसकेको व्यक्तिलाई अर्को प्रकारको विषाणु भएको लामखुट्टेले टोकेको अवस्थामा डेंगु घातक हुने अध्ययनले देखाएका छन् । यस्तो विषाणुले सारेको डेंगीले गर्दा शरीरको रगत जम्न (क्लटिङ) प्रक्रिया अव्यवस्थित हुन्छ । यसको घातक प्रभावले शरीरभर रक्तस्राव हुन सक्छ ।

‘कुनै एक सेरोटाइपले संक्रमण भएमा जीवनभर अर्को पटक त्यही सेरोटाइपले संक्रमण गराउँदैन । तर अन्य सेरोटाइपले संक्रमण गर्दा धेरै कडा साथै मृत्यु हुनसक्ने सम्भावना देखाएको छ,’ डा. चालिसे भने, ‘अघिल्ला वर्षमा धेरै बिरामीमा जटिलता हुने बिरामी पटक–पटक संक्रमित भएका पाइएका थिए ।’

जथाभावी औषधि सेवन नगरौं

चिकित्सकहरूका अनुसार सामान्य डेंगु ज्वरो, हेमोरेजिक र सक सिन्ड्रोम गरी डेंगु ज्वरो तीन प्रकारको हुन्छ । हेमोरेजिक र सक सिन्ड्रोम ज्वरो खतरनाक हुन्छ ।
सामान्य डेंगु ज्वरो नियन्त्रणमा नआउँदा यो हेमोरेजिक वा सक सिन्ड्रोममा परिवर्तित हुँदा नियन्त्रण गर्न गाह्रो हुन्छ ।

डेंगुको ज्वरो आएको तीनदेखि सात दिनसम्म नाजुक स्थिति हुन्छ । यस्तो स्थितिमा केही संक्रमित ‘सक’ मा जान सक्ने सम्भावना हुने भएकाले यो समयमा बढी हेरचाह आवश्यक हुन्छ । यस्तो अवस्थामा चिकित्सकको निगरानीका लागि पजि अस्पताल भर्ना गर्नुपर्ने हुन जान्छ ।

डेंगुसँग मिल्दोजुल्दो लक्षणहरू देखिए वा पुष्टि भएमा जथाभावी औषधि आफैंले किनेर खाने नहुने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । उनका अनुसार चिकित्सकसँग परामर्श गरेर मात्र औषधिको सेवन गर्नु उपयुक्त हुन्छ ।

‘डेंगुमा अत्यधिक दुखाइ हुने हुँदा त्यसबाट मुक्त हुन खोज्नु स्वाभाविक पनि हो तर, जथाभावी औषधि खाँदा नकारात्मक प्रभाव देखिन सक्छ,’ डा. पुनले भने, ‘तर ब्रुफेन, फ्लेक्सन, एस्पिरिन जस्ता पेन किलर औषधिको अत्यधिक प्रयोगले रोगलाई जटिलतातिर लैजान सक्ने सम्भावना बढेर जान्छ ।’ एस्पिरिन, फ्लेक्सन जस्ता पेनकिलरको प्रयोग गरेमा संक्रमितमा रक्तश्राव गराउने सम्भावना हुन्छ ।

व्यवहार परिवर्तन गरौं

डेंगु लामखुट्टेको वृद्धि, विकास सबभन्दा बढी फालिएका टायरमा तथा फलाम र प्लास्टिकका ड्रमहरू हुन् । डेंगुको संक्रमण रोक्नका लागि लामखुट्टेले फुल पार्न सक्ने सम्भावित घरभित्र र वरपरका पानी जमेको ठाउँहरू र पानी राख्ने भाडाहरू खोजी खोजी सफा गर्ने र लामखुट्टेको फुल नष्ट गर्नुपर्दछ ।

ट्यांकी, ड्रम, बाटा, बाल्टिन जस्ता पानी राख्ने भाँडाहरू पनि लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राख्नुपर्छ । पानी जम्नसक्ने ठाउँमा नियमित सफा गर्नुपर्छ । साथै समुदायस्तरमै लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियानलाई तीव्र पार्ने पर्छ ।

बाहिर निस्कँदा शरीर ढाक्ने कपडा लगाएर निस्कने, घरका झ्याल, ढोकामा जाली हाल्ने, दिउँसो सुत्दा झुल हाल्नेजस्ता पक्षलाई व्यवहारमा उतार्नुपर्छ । ‘कोरोनासँग जसरी हामी बाँच्न सिकेका छौं । त्यसैगरी डेंगुसँग पनि बाँच्न सिक्नुपर्छ,’ डा. चालिसेले भन्छन्, ‘डेंगुबाट बच्ने पहिलो उपाय लामखुट्टेबाट जोगिनु हो ।’

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?