+
+

मधेशमा जनमतकै सरकारलाई निरन्तरता दिन कांग्रेस–एमाले सहमत

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २१ गते २०:३८
मुख्यमन्त्री सतिशकुमार सिंह

२० असार, जनकपुर । मधेश प्रदेशमा जनमत पार्टी नेतृत्वकै सरकारले निरन्तरता पाउने भएको छ ।

नयाँ सत्ता समीकरणको सहमति गरिसकेका नेपाली कांग्रेस र नेकपा एमाले मधेश प्रदेशको नेतृत्व जनमत पार्टीलाई दिन तयार भएको हो । बाँकी ६ प्रदेशको नेतृत्वबारे भने कांग्रेस र एमालेले निर्णय गरिसकेको छ ।

तर मधेश प्रदेशमा भने यी दुई मिलेर मात्रै बहुमत पुग्दैनथ्यो । मधेशमा एमालेसँग सभामुख सहित २५ र कांग्रेससँग २२ सिट छ ।

तर १०७ सदस्यीय प्रदेश सभामा सरकार बनाउन ५४ सांसद आवश्यक पर्छ । तसर्थ कुनै तेस्रो दललाई लिनुपर्ने बाध्यतामा कांग्रेस–एमाले थिए ।

यस्तोमा एमालेले जनमत पार्टीकै नेतृत्व स्वीकारेर जानुपर्ने प्रस्ताव गरेको थियो । माओवादी केन्द्र सहितको सत्ता समीकरण टिकाउने गठजोडकै बेला जनमत पार्टीका सतिशकुमार सिंह गत २५ जेठमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेश सभामा बहुमत देखाउनुपर्ने संवैधानिक व्यवस्था भएकाले भोलि प्रदेश सभा बैठक बोलाइएको छ ।

बैठकको अघिल्लो दिन कांग्रेस–एमालेले विश्वासको मत दिन तयार भएको हो । जनमत पार्टीसँग प्रदेश सभामा १३ सांसद छन् । अर्थात कांग्रेस र एमालेको साथ पाएपछि सिंहले प्रदेश सभाको बहुमत पाउने भएका छन् ।

एमालेले प्रदेश सभा बैठक राखेरै सिंहलाई विश्वासको मत दिने निर्णय भएको छ । कांग्रेस नेता रमेश लेखकका अनुसार, कांग्रेसले पनि सिंहलाई विश्वासको मत सहमति भइसकेको छ ।

यी तीन दल बाहेक प्रदेशसभामा नेकपा माओवादी केन्द्रसँग ९, लोकतान्त्रिक समाजवादी पार्टीसँग ९, एकीकृत समाजवादीसँग ८, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीसँग १–१ सिट छन् ।

गत २३ वैशाखमा विभाजन भएको जनता समाजवादी पार्टी (जसपा), नेपालसँग १६ सिट छ । सर्वोच्च अदालतको आदेशका कारण यो पार्टीका सांसदहरू अहिलेसम्म जसपा, नेपालमै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?