+

आयोजक जर्मनीलाई हराउँदै स्पेन सेमिफाइनलमा

२०८१ असार  २२ गते १:१६ २०८१ असार २२ गते १:१६
आयोजक जर्मनीलाई हराउँदै स्पेन सेमिफाइनलमा

२२ असार, काठमाडौं । आयोजक जर्मनीलाई अतिरिक्त समयमा २-१ ले पराजित गर्दै स्पेन युरो २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

मिकेल मेरिनोले अतिरिक्त समयको अन्तिममा निर्णायक गोल गरेपछि स्पेनले अन्तिम चारको यात्रा तय गरेको हो । मुख्य प्रतियोगितामा ३६ वर्षपछि स्पेनलाई हराउने जर्मनीको लक्ष्य यस पटक पूरा हुन सकेन ।

स्टुटगार्डमा भएको पहिलो क्वाटरफाइनलमा डानी ओल्मोले ५१औं मिनेटमा लामिन यामलको पासमा गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए ।

स्पेन जिततर्फ अग्रसर भइरहेका बेला ८९औं मिनेटमा जर्मनीका लागि फ्लोरिन विट्जले जोसुअ किम्मिचको पासमा बराबरी गोल गर्दै खेल रोमाञ्चक स्थितिमा पुर्‍याए ।

त्यसपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । जहाँ डानी ओल्मोको पासमा मिकेल मेरिनोले ११९औं मिनेटमा गोल गर्दै स्पेनलाई २-१ को जित दिलाए । अतिरिक्त समयको इन्जुरी टाइममा स्पेनका डाद्दी कार्भाजल रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए ।

स्पेन र जर्मनी दुवैले सर्वाधिक ३-३ पटक युरो जितेका छन् । घरेलु मैदानमा प्राप्त अवसरलाई सदुपयोग गर्न नसक्दा जर्मनीको घरेलु मैदानमै उपाधि जित्ने सपना अधुरै रह्यो । स्पेन भने चौथो उपाधि जित्ने यात्रातर्फ अघि बढेको छ ।

स्पेनले अब सेमिफाइनलमा पोर्चुगल र फ्रान्सबीचको खेलको विजेतासँग खेल्नेछ ।

युरो २०२४
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय