+
+

बेलायती निर्वाचनको सन्देश : नसक्ने प्रतिपक्षमा बस

जनतालाई लाग्यो, यो सरकार देशको अर्थतन्त्र सबल बनाउन सक्षम छैन, अब हामीले विकल्प रोज्नुपर्छ।

डा. बच्चुकैलाश कैनी डा. बच्चुकैलाश कैनी
२०८१ असार २२ गते ७:३९

यही जुलाई ४ तारिखका दिन बेलायतमा आम निर्वाचन थियो। बिहान ७ बजेदेखि राति १० बजेसम्म सम्पन्न मतदानको अधिकांश नतिजा अर्को दिन जुलाई ५ को बिहान ७ बजेसम्म आइसकेको थियो।

बेलायती संसद्को ६५० सिटमध्ये सन् २०१९ को आम निर्वाचनमा जम्मा २०३ मात्र ल्याएको लेबर पार्टीले अब २ क्षेत्रको नतिजा आउन बाँकी रहँदा यो निर्वाचनमा दोब्बर भन्दा बढी अर्थात् ४१२ सिट ल्याएर पहिलो दल बन्यो। त्यस्तै सन् २०१९ को निर्वाचनमा ३६५ सिट ल्याएर सत्तामा बसेको कन्जरभेटिभ पार्टीले भने यो निर्वाचनमा जम्मा १२१ सिटमा चित्त बुझाउनु परेको छ।

सरकारमा आफैं बसेर निर्वाचन गराएको र १४ वर्षसम्म लगातार शासन गरेको कन्जरभेटिभ पार्टी किन त्यसरी पछाडि पर्‍यो? यसको एक मुख्य कारण कन्जरभेटिभ पार्टीभित्रको राजनीतिक अस्थिरता हो। सन् २०१९ को आमनिर्वाचनपछि मात्र कन्जरभेटिभ पार्टीको तर्फबाट तीन जना नेता फेरिए र तदनुरूप तीन जना प्रधानमन्त्री भए।

यो कुरा बेलायती जनताले रुचाएनन्। नेता फेरिनु भनेको अनुहार मात्रै फेरिनु हैन, नेताको कार्यशैली, व्यक्त्तित्व, दृष्टि वा भिजन र केही हदसम्म नीति पनि फेरिनु हो। यसको नकारात्मक असर जनताको दैनिकी, अर्थतन्त्र र समाजमा प्रत्यक्ष रूपमा पर्छ।

यो कुरा आम जनताले राम्रोसँग नियालेर बसेका हुन्छन् र यसको नतिजा चुनावमा देखिन्छ। यसको नतिजा कन्जरभेटिभ पार्टीले अहिले व्यहोर्नु पर्‍यो।

कन्जरभेटिभ पार्टी सरकारबाट बाहिरिनु परेको अर्को मुख्य कारण कन्जरभेटिभ सरकारको पालामा बेलायतको अर्थतन्त्रमा देखापरेको गतिहीनता अर्थात् बेलायतको कमजोर अर्थतन्त्र पनि हो। यसको प्रभाव ‘कस्ट अफ लिभिङ्ग’ अर्थात् खर्चिलो दैनिकी र महँगीको मारमा सर्वसाधारण जनता परे। यसको बाहिरी र भित्री जे–जस्तो कारणहरू भए पनि समाधान गर्ने जिम्मा सरकारको हो।

जनतालाई लाग्यो, यो सरकार देशको अर्थतन्त्र सबल बनाउन सक्षम छैन, अब हामीले विकल्प रोज्नुपर्छ। तसर्थ, लेबर पार्टीले जनताको आशा र भरोसा सहित भारी बहुमतका साथ सरकार चलाउने मौका पायो।

यदि, अर्को निर्वाचनसम्म लेबर पार्टीले देशको अर्थतन्त्र उकास्न सकेन र देश र जनताको हितमा काम गर्न सकेन भने अर्को पटक फेरि सरकार बाहिर बस्ने पालो यही दलको हुन सक्छ।

त्यस्तै विगतका केही वर्षदेखि बेलायतको स्वास्थ्य सेवा प्रवाहमा निरन्तर समस्या देखिएको थियो। यसको प्रत्यक्ष प्रभाव जनताको स्वास्थ्यमा पर्‍यो। ‘वेटिंग टाइम’ अर्थात् अस्पतालमा भर्ना हुन र उपचार गराउन बिरामीले धेरै समय कुर्नुपर्ने भयो। जनताले सुधारको अपेक्षा राखे, सरकारले पनि स्वास्थ्य सेवामा सुधार गर्ने बाचा गर्‍यो। तर, तथ्यांकले त्यो देखाउन सकेन र सरकारले आफ्नो बाचा पूरा नगरेको प्रमाणित भयो। यसको प्रतिफल कन्जरभेटिभ पार्टीले यो निर्वाचनमा पायो।

त्यस्तै कन्जरभेटिभ पार्टीले देशमा निरन्तर बढ्दै गएको आप्रवासीहरूको संख्याप्रति जनताले दिएको चासोप्रति चिन्ता व्यक्त गर्दै आप्रवासीहरूको संख्या घटाउने नीति बनायो। सुरुमा ‘नेट’ वा कुल आप्रवासीहरूको संख्या (देश छोड्ने र देशभित्र आउने मानिस बीचको अन्तर) लाख भन्दा तल हजारमा झार्ने नीति लिए पनि पछि डिसेम्बर २०२३ मा बेलायत आउने ‘नेट’ वा कुल आप्रवासीहरूको कुल संख्या ६ लाख ८५ हजार पुग्यो। जनतालाई लाग्यो कन्जरभेटिभ पार्टीले यो बाचा पनि पूरा गर्न सकेन। फलस्वरूप, यो दललाई जनताले प्रतिपक्षमा पुर्‍याए।

बेलायतको निर्वाचनमा मतदाताहरूको ध्यान तान्ने मुख्य दुई कुराहरू हुन्छन्। पहिलो, दलको नेता र दोस्रो, दलको नीति। बेलायतको निर्वाचनमा कुन दलले जित्यो भने को प्रधानमन्त्री हुन्छ भन्ने पहिले नै थाहा हुन्छ। बेलायती राजनीतिक दलमा जो नेता हुन्छ, त्यही व्यक्त्ति नै दलको तर्फबाट प्रधानमन्त्री हुन्छ। यस पटकको निर्वाचनमा दुवै पक्षमा प्रतिपक्ष दल लेबर पार्टी अब्बल देखियो। आकर्षक व्यक्तित्व भएका, सबल, सक्षम र इमानदार नेताको रूपमा चिनिएका सर कियर स्टार्मरले जनताको मन जिते।

बेलायतमा राजनीतिक दल र यसको दलको नेता मात्रै हैन सर्वसाधारण जनताले मुख्य राजनीतिक दलको नीति र कार्यक्रमहरूमा चासो दिन्छन्। यसैलाई आफ्नो मत दिने एक निर्णायक दस्तावेजको रूपमा पनि हेर्छन्। यो लोकतान्त्रिक राजनीतिक प्रणालीको सभ्य र मजबुत पक्ष पनि हो। जसले गर्दा राजनीति साँच्चै नै नीतिमुखी हुन्छ, देश सबल, समृद्ध र समाज समुन्नत हुन्छ।

कन्जरभेटिभ पार्टीको नीति देखेर परीक्षण समेत गरिसकेका जनताले यो सवालमा पनि यो पटक जनताले लेबर पार्टीको नीतिलाई विश्वास गरे र सत्ता लेबर पार्टीलाई सुम्पे। अनि, अवसर पाएर पनि राम्रो नीति र कार्यक्रम बनाउन र लागू गर्न नसकेको देखेर कन्जरभेटिभ पार्टीलाई प्रतिपक्षमा पठाए।

यी र यस्तै अरू कतिपय जनजीविकासँग सम्बन्धित कुराहरूमा कन्जरभेटिभ पार्टीको नीति, कार्यक्रम र काम कारबाहीमा कमजोरी देखिए। यसै कारणले गर्दा बेलायतका जनताले कन्जरभेटिभ पार्टीको विकल्प खोजे। केही गर्न नसक्नेलाई बाहिर प्रतिपक्षमा पठाउनु र गर्न सक्ने सम्भावना भएको अर्को दललाई अवसर दिनु नै लोकतन्त्रको सुन्दर पक्ष हो।

आजको भोलि देश विकास गर्ने जादुको छडी कसैसँग हुँदैन। यो निरन्तरको इमानदार प्रयास, राजनीतिक दल र नेताको दीर्घकालीन दृष्टिकोण, पारदर्शिता, जवाफदेहिता र अन्य धेरै कुराको प्रतिफल हो। जनताले देशमा राजनीतिक स्थिरता खोजेका हुन्छन्।

त्यसैले स्थिर सरकार र स्थिर राजनीति सबैको हितमा हुन्छ भन्ने कुरा बेलायती जनताले राम्रोसँग बुझेका छन् र त्यसलाई व्यवहारमा देखाएका पनि छन्। सरकारको काम जनताको दैनिकी सहज बनाउने, देश र जनताको समस्या समाधान गर्ने र देशलाई हरेक पक्षमा सबल, सफल, सक्षम र समृद्ध बनाउने हो। यसको मुख्य जिम्मा राजनीतिक दल र त्यसका नेताकै हो। यसै भावना र विचारलाई मध्यनजर राख्दै बेलायती जनताले नसक्नेलाई प्रतिपक्षमा पठाएका छन् भने सम्भावना भएको दललाई सत्ताको बागडोर सुम्पेका छन्।

(बेलायतको लेबर पार्टी आबद्ध पूर्व काउन्सिलर डा. कैनी सन् २०१७ को बेलायती आम निर्वाचनमा उक्त पार्टीबाट सांसदका उम्मेदवार थिए।)

लेखकको बारेमा
डा. बच्चुकैलाश कैनी

बेलायतमा स्वास्थ्य सेवा व्यवस्थापनमा परामर्शदाता रहेका कैनी प्राध्यापक पनि हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?