+
+
काठमाडौं उपत्यकामा बाढीपहिरो :

नागार्जुनमा एक जनाको मृत्यु, भक्तपुरमा १८ टहरा डुबानमा

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २२ गते १५:३७

२२ असार, काठमाडौं । अविरल वर्षापछि गएको पहिरोका कारण काठमाडौंको नागार्जुन नगरपालिका-३ सिंगल ट्रि नजिकै एक जनाको मृत्यु भएको छ ।

शनिबार विहान सवा ११ बजे स्थानीय ट्रपिकल रेष्टुरेन्टको भान्साकोठा पहिरोले पुरिँदा गोरखाको शहीद लखन गाउँपालिका-६ घर भएका २२ वर्षका मनोज बिकको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

उनका अनुसार किचन हेल्परका रुपमा काम गर्ने बिक पहिरोले घर पुरिँदा गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।

वर्षाका कारण काठमाडौंको सबैजसो नदीको जलसतह बढेको छ । भक्तपुरमा नदी तथा खोला किनारका बस्तीका कतिपय घर डुबानमा परेका छन् । मध्यपुर थिमी नगरपालिका-२ दिव्येश्वरी प्लानिङ नजिक १८ वटा टहरा मनोहरा खोलाले डुबाएको छ । विभिन्न जिल्लाबाट आई ज्याला मजदुरी गरी बसेका ५६ जना बस्ने टहराहरु खोलाले डुवाएका कारण उनीहरु आफन्तकोमा शरण लिन पुगेका प्रहरीले जनाएको छ ।

मध्यपुर थिमी नगरपालिका-३ कौशलटार नजिक हनुमन्ते खोलामा आएको बाढीले आश्विन आचार्यको जस्ताको टहरा डुबाएको छ । चागुनारायण नगरपालिका-४ नयाँ खोरिया स्थितमा रहेको डिप बोरिङ र पानी पाले बस्ने १ तल्ले पक्की घर पहिरोको जोखिममा परेको छ ।

वर्षापछिको पहिरोले काठमाडौंको तारकेश्वर नगरपालिका जितपुर फेदी र दक्षिणकाली नगरपालिका छैमलेमा एक एक वटा घर भत्किएको छ । काठमाडौं महानगरपालिका घट्टेकुलोमा भित्री सडक भासिएको छ ।

उपत्यकाका खोला किनार अहिलेसम्म खतरामुक्त देखिएको तर पानी आइरहेकाले प्रहरीले खोला किनारमा गस्ती गरिरहेको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मैनालीले जानकारी दिए ।

विपद कार्यमा खोज तथा उद्दार कार्यका लागि प्रहरी जनशक्तिलाई तयारी अवस्थामा राखिएको उनले बताए । नदी खोलास्थित करिडोरमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?