+
+

वर्षाका कारण पाल्पामा राजमार्ग अवरुद्ध, माडीफाँट डुबानमा

कमल अधिकारी कमल अधिकारी
२०८१ असार २२ गते १७:००

२२ असार, पाल्पा । अविरल वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खस्दा शनिबार बिहानैदेखि पाल्पामा राजमार्ग तथा सहायक मार्गहरू अवरुद्ध बनेका छन् । सिद्धार्थ राजमार्गको कालीमाटी, बर्तुङ्ग राम्दी र सीतापहाड क्षेत्रमा पहिरो खसेको छ । पहिरोले शनिबार बिहानैदेखि सवारी आवागमन अवरुद्ध भएकोमा सडक डिभिजन पाल्पा र प्रहरीको पहलमा एकतर्फी रुपमा सञ्चालनमा आएको छ।

यस्तै तानसेन तम्घास सडकखण्डको माल्मुल, जोर्ते र अर्गलीमा पहिरो खसेको पहिरो पनि पन्छाएर एकतर्फी सवारी चलेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए।

कालीगण्डकी करिडोरअन्तर्गत पिपलडाँडा–रामपुर खण्डको असर्दी नजिकै पहिरो खसेको छ । ग्रामीण भेगका सडक समेत अबरुद्ध बनेका छन् । अबरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रनाउ श्रेष्ठले जानकारी दिए।

सवारी साधनमा क्षति

बाढी र पहिरोका कारढ सडकमा गुडिरहेका र रोकी राखेका सवारीसाधनमा क्षति पुगेको छ । पाल्पाको रिव्दीकोटमा ना ६१ प ८५८४ र लु २१ प ५६३२ नम्बरको मोटरसाइकल पहिरोले पुरेको छ ।

यस्तै पाल्पाबाट बुटवलतर्फ कुखुरा लिएर गएको लु १ च ६३२५ र लु ३ च ३१५० नम्बरको बलेरो जिप माथिबाट खसेको पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

पशु चौपायाको मृत्यु

शनिबार बिहान जिल्लाको रामपुर–९, मधुकोटका कमलबहादुर साठीघरेको गोठमा पहिरो खस्दा एक भैँसी, तीन बाख्राको मृत्यु भएको छ ।

साठीघरेको गोठ पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । यस्तै रिव्दीकोट मालमुलकी मिना विकको एकतले कच्ची घर र गोठमा पहिरो खसेको प्रहरीले जनाएको छ ।

दुई जना घाइते

रम्भा गाउँपालिका–२ फोक्सिङ्कोटको वडा कार्यालयमाथिबाट रुख ढल्दा दुई जना घाइते भएका छन् । घाइते हुनेमा रम्भा–३, का १९ वर्षीय शिव गाहा र इन्द्र राना रहनुभएको छ ।

घाइते दुबैजनाको अवस्था सामान्य रहेको स्थानीय बासिन्दाले बताएका छन् । रुखले वडा कार्यालय र शौचालयमा क्षति पुर्‍याएको छ । यस्तै पाल्पाको माडीफाँट डुवानमा परेको छ ।

माडीफाँट डुबानमा 

अविरल वर्षातका कारण तानसेन नगरपालिका–९, माथागढी गाउँपालिका–३, बगनासकाली गाउँपालिका–१ र २ स्थित माडीफाँट डुबानमा परेको छ । डुबान परेपछि सयौँ हेक्टरमा लगाइएको धानबालीमा क्षति पुगेको छ ।

जिल्लाको अन्य स्थानको क्षतिको विवरण भने आउन बाँकी रहेको छ । तिनाउ नदीले धार परिवर्तन गरेर धान खेतमा पस्दा सयौँ हेक्टर जमिन जलमग्न बनेको छ ।

उता कालीगण्डकीको बहाब बढेपछि रानीमहल दरबार क्षेत्र जोखिममा परेको छ। यस्तै पहिरोले विद्युतका पोलहरु ढल्दा विद्युत सेवा समेत अवरुद्ध भएको छ । यसैबीच आगामी २४ घन्टा पनि लुम्बिनी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको हुँदा सतर्कता अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?