+
+

गण्डकीमा पहिरोले ७ जनाको मृत्यु, २ बेपत्ता

अमृत सुवेदी अमृत सुवेदी
२०८१ असार २२ गते २०:५४

२२ असार, पोखरा । स्याङ्जाको विरुवा गाउँपालिका–६ स्याङ्दीका माधव शर्मा, उनकी पत्नी गुञ्जेश्वरी शर्मा मरासिनी र हरिमाया शर्माले घर पुरिए पनि बाँचियो भनेर चित्त बुझाएका थिए ।

शनिबार बिहानै राम्चे भयरसिंह सामुदायिक वन हुँदै खसेको पहिरोले माधव–गुञ्जेश्वरीको घर पुरै पुरेको थियो । हेर्दाहेर्दै सँगै रहेको हरिमायाको पुरै घर पुरियो भने माधव–गुञ्जेश्वरीको घरमा पनि क्षति पुग्यो तर उनीहरु भने जोगिन सफल भएका थिए ।

ज्याग्दीखोला तटीय क्षेत्रका यी घरलाई सामुदायिक वन हुँदै नसोचेको ठाउँबाट पहिरो खसेर पुरेपछि उनीहरु सुरक्षित स्थानमा सरेका थिए । विरुवा–६ कै लामाखेत भन्ने ठाउँमा रहेको ईश्वरी लम्सालको घरमा उनीहरुले खाना खाँदै थिए ।

‘घर त पहिरोले पुर्‍यो, मान्छे बाँचियो भन्ने उहाँहरुलाई थियो । सुरक्षित स्थान भनेरै लामाखेतको ईश्वरी लम्सालको घरमा उहाँहरुलाई सारिएको थियो । जहाँ एउटा पसल र अर्को घर थियो । सुरक्षित स्थान भनेर सरको त्यहीँ घरमा पहिरो खस्यो र खाना खाँदाखाँदै तिनै जना पुरिनुभयो’, विरुवा गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ६ का अध्यक्ष कृष्णबहादुर क्षेत्रीले घटना सुनाए, ‘यस्तो दुर्भाग्य रहेछ कि आफ्नो घरमा पहिरोबाट जोगिएर जहाँ सुरक्षित भनेर सारिएको थियो, त्यहीँ फेरि पर्नुभयो ।’

सो घरका ५ जना भने कोही भागेर बाँच्न सफल भए भने कोही घरबाहिर रहेकाले जोगिएका प्रवक्ता क्षेत्रीले सुनाए । सुरक्षित ठाउँमा आइपुगियो भनेर बसेको घरमै खाँदाखाँदै पहिरोले पुरेर बेपत्ता भएको र पछि निकाल्दा मृत्यु भइसकेको उनले बताए ।

‘आजको घटनाले पुरै गाउँलाई नै विक्षिप्त बनाएको छ, बाँचियो भनेर गएका उनीहरु फेरि त्यहीँ पहिरो खसेर मारिए’, प्रवक्ता क्षेत्रीले भने, ‘कहाँनेर सुरक्षित छ र कहाँनेर जोखिम छ, यसै भन्न नसकिने रहेछ ।’

बस्तुभाउ जोगाउन खोज्दा २ जनाको मृत्यु

लगातार परेको अविरल वर्षाले घरमाथिबाट सानो पहिरो खसेपछि पर्वत फलेवास नगरपालिका वडा नम्बर १ का झलकप्रसाद शर्मा फेरि ठूलो पहिरो खस्न सक्ने देखेर बस्तुभाउ सुरक्षित स्थानमा सार्न खोज्दै थिए ।

उनलाई भेट्न पुगेका स्याङ्जा आँधीखेलाका तुलसीप्रसाद शर्माले पनि सघाउन लागे ।

त्यहीबेला फेरि घरमाथिबाट पहिरो खस्यो र घरगोठसहित उनीहरुलाई पनि पुरेको प्रहरी कार्यालय पर्वतका डीएसपी खुमलाल भुसालले जानकारी दिए ।

झलकप्रसादको शव पहिरो हुँदै बाढीले बगाएर स्याङ्जा आँधीखोला किनार सेपत भन्ने ठाउँमा फेला परेको छ भने तुलसीप्रसादको शव पहिरो पन्छाएर निकालिएको डीएसपी भुसालले जानकारी दिए ।

‘घरको बस्तुभाउ जोगाउछु भन्दा स्याङ्जाबाट भेट्न पुगेका साथीसहितले ज्यान गुमाए’, डीएसपी भुसालले भने ।

शुक्लागण्डकीमा उद्धार गर्दागर्दै ३ जना परे

शुक्लागण्डकी नगरपालिका वडा नम्बर ७ काउरे भन्ने ठाउँमा पहिरोमा पुरिएर १ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् ।

पहिरोमा पुरिएकी काउरेकी ४० वर्षीय हिरा नेपालीको शव फेला पारिएको इलाका प्रहरी कार्यालय बेलचौतारका प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए ।

पहिरोमा पुरिएर ३६ वर्षीया अनिशा बास्तोला र ६५ वर्षीय श्याम भण्डारी बेपत्ता भएका छन् । अहिले अँध्यारो भइसकेका कारण अब भोलिमात्र खोजी कार्य हुने प्रहरीले जनाएको छ ।

काउरेमा बिहानै सोना नेपाली घर पहिरोमा परेको थियो । पहिरोमा परेकालाई उद्धार र सहयोग गर्न भन्दै छिमेकी अनिशा र श्याम पुगेका थिए । पहिरोको जोखिममा रहेको हिरा नेपाली घरबाट सरसामान निकाल्दै गर्दा फेरि पहिरो खसेर उनीहरु पुरिएका हुन् ।

तनहुँको ऋषिङ गाउँपालिका– १ झापुटारस्थित निर्माणाधीन तनहुँ हाइड्रोपावरको सुरुङ मार्गभन्दा बाहिर काम गरिरहेको अवस्थामा अविरल वर्षाका कारण ढुङ्गा खस्न लाग्दा एक जनाको ज्यान गएको छ । मालिङ्गा बस्ने ५० वर्षीय कृष्णबहादुर पुलामीको मृत्यु भएको हो । लमजुङ सुन्दरबजार नगरपालिका–का ५१ को समलाल श्रेष्ठ घाइते भएका छन् ।

अविरल वर्षापछिको बाढी, पहिरोले पोखरासँग जोडिएका प्रमुख राजमार्गको आवतजावत नै प्रभावित तथा अवरुद्ध हुन पुगे । स्याङ्जामा मात्र बाढी पहिरोका १३ वटा घटना भएको प्रहरीले जनाएको छ ।

वर्षाका कारण सेती नदीको सतह बढ्दा पोखरा रामघाटमा ताल नै बन्न पुग्यो । सेती नदीको वहाब बढ्दा पोखरा–३३ पशुपति घाटका दुई दर्जनभन्दा धेरै घरहरु जोखिममा परेको प्रहरीले जनाएको छ । कमलपोखरी, गैह्रीखेत लगायतका ठाउँ डुबानमै परेका छन् । पोखराका मुख्य सडक र लेकसाइड लगायतको क्षेत्र पानीका कारण जलमग्न हुन पुगेको थियो । ठूलो वर्षाका बेला पोखराको मुख्य सडकहरुबाटै ठूलो भेल नै बग्ने गर्छ ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?