+
+

सेतीमा बाढी : बैतडीका ६० परिवारलाई सुरक्षित स्थानमा सारियो

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २३ गते ७:१५
सेती नदीमा बाढी । फाइल फोटो

२३ असार, बैतडी । सेती नदीको जलस्तर बढेर बाढी बस्तीमा पस्न थालेपछि सिगास गाउँपालिकाका ६० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

सिगास गाउँपालिका–५ ढुङ्गाडका ६० परिवारलाई स्थानीय शारदा माविमा सारिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । उनले भने, ‘सेती नदी गाउँ पस्ने खतरा बढेपछि ढुङ्गाडका ६० परिवारलाई सुरक्षित स्थानमा सारेका हौँ । स्थानीय जनप्रतिनिधिको सहयोगमा उनीहरूलाई शारदा माविमा सारिएको छ ।’

नदीमा बाढीको सम्भावना बढेसँगै उनीहरू पशुचौपायासहित घर छाडेर विद्यालयमा आश्रय लिएर बसेका हुन् । अविरल वर्षाका कारण सेती नदीमा पानीको बहाव बढेपछि स्थानीयवासी त्रसित बनेका छन् । नदी किनारमा लगाएको तटबन्धमाथि जलस्तर पुगेपछि स्थानीय बासिन्दा घर छाड्न बाध्य भएका इन्द्रबहादुर चन्दले बताए ।

सेती नदीमा पानीको बहाव बढ्दै गएपछि सिगास गाउँपालिका–५ का हरडाखानी, लाम्बगड, लोडेलगायत बस्ती बाढीको उच्च जोखिममा परेका छन् । यस्तै वडा नं ६ का सेती किनारका बस्ती पनि बाढीको जोखिममा परेका बताइएको छ ।

सेती नदीको बाढीले यहाँ बर्सेनि आतंक मच्चाउने गरेको छ । यसअघि २०७८ कात्तिक पहिलो साता परेको बेमौसमी वर्षाले सिगास–५ ढुङ्गाडलगायत क्षेत्रमा बाढी पस्दा ठूलो क्षति गरेको थियो ।

अहिले लगातार वर्षा भइरहेकाले जोखिम हुनसक्ने भन्दै सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

– रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?