+

कोपा–अमेरिकाबाट ब्राजिल बाहिरिएपछि प्रशिक्षक डोरिभाल भन्छन्, ‘सुधारका लागि समय चाहिन्छ’

२०८१ असार  २३ गते १२:२९ २०८१ असार २३ गते १२:२९
कोपा–अमेरिकाबाट ब्राजिल बाहिरिएपछि प्रशिक्षक डोरिभाल भन्छन्, ‘सुधारका लागि समय चाहिन्छ’

२३ असार, काठमाडौं । कोपा अमेरिका २०२४ को उपाधि दाबेदारमध्ये एक ब्राजिल क्वाटरफाइनलबाटै बाहिरिएपछि प्रशिक्षक डोरिभाल जुनियरले टिमको सुधारका लागि समय लाग्ने बताएका छन् ।

अमेरिकामा भइरहेको कोपाको अन्तिम क्वाटरफाइनलमा आइतबार बिहान ब्राजिल उरुग्वेसँग पेनाल्टी सुट आउटमा पराजित हुँदै बाहिरिएको हो ।

प्रशिक्षक डोरिभालले अब विश्वकप छनोटका खेलमा केन्द्रित हुनका लागि टिममा सुधार गर्नुपर्ने र ब्राजिलले हाल त्यसैमा काम गरिरहेको बताए ।

‘हामी यो टोलीको धेरै महत्वपूर्ण नवीकरणबाट गुज्रिरहेका छौं । मैले यो टोलीलाई आठ खेलको लागि मात्र प्रशिक्षण दिएको छु । र यो एउटा प्रक्रिया हो जुन हामीले पार गर्नुपर्नेछ,’ डोरिभालले भने । उनले आफ्नो टिम बाहिरिनुको पूर्ण जिम्मेवारी लिने पनि बताए ।

समूह चरणमा दुई खेल बराबरी खेलेको ब्राजिलले पाराग्वेलाई मात्र पराजित गरेको थियो ।

पेनाल्टी सुट आउटमा पनि ब्राजिल कमजोर देखियो । एडर मिलिटाओ र डगलास लुइसले पेनाल्टीलाई गोलमा परिणत गर्न सकेनन् ।

प्रशिक्षक डोरिभालले नकआउट चरणमा कठिन हुने थाहा भए पनि आफ्नो टोलीले अहिले पराजित हुने अपेक्षा नराखेको बताए ।

‘अहिलेसम्मको यात्रामा आउने कठिनाइबाट हामी सजग थियौँ । तर हामीले अहिले नकआउट चरणमा खेल हार्‍यौँ जुन अपेक्षा गरिएको थिएन,’ उनले भने ।

गत जनवरीमा ब्राजिलको राष्ट्रिय टिमको जिम्मेवारी सम्हालेका डोरिभालले उरुग्वे टिमको प्रशंसा पनि गरे । ‘मेरो बीचमा उरुग्वेको प्याटर्न राम्रो छ । उनीहरू यसैमा लामो समयदेखि काम गरिरहेका छन्,’ उनले भने ‘हामीले पनि त्यो नतिजा ल्याउन सक्छौं त्यसमा कुनै शंका छैन तर हामीलाई सुधार गर्नको लागि केही समय लाग्छ ।’

डोरिभालले सुरुमा आफ्नो टिममा केही समस्या भएको स्वीकार गर्दै त्यसलाई सुधार पनि गरेको बताए । ‘प्रतियोगिता सुरु हुने बेला हाम्रो टिममा केही समस्या थियो । मेरो विचारमा हामीले धेरै जसो गल्तीलाई सच्याइसकेका छौँ ।’

कोपा अमेरिका ब्राजिल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय