+

कपाल उमार्न प्रयोग गरिने कोलाजेन सप्लिमेन्ट कति सुरक्षित ?

२०८१ असार  २३ गते १३:३८ २०८१ असार २३ गते १३:३८
कपाल उमार्न प्रयोग गरिने कोलाजेन सप्लिमेन्ट कति सुरक्षित ?

काठमाडौं । कपाल झर्न थाल्यो वा पातलिंदै गयो भने जो कोहीलाई चिन्ता हुन्छ । किनकि यसले सुन्दरता र अनुहारको स्वरुप नै बिगार्छ । कपाल झर्ने कारण एउटा मात्र हुँदैन । तनाव, हर्मोनल असन्तुलन, केमिकलको बढी प्रयोग र निद्रामा समस्या मुख्य हुन् ।

कारण जे सुकै होस्, आजभोलि के कारणले झर्‍यो भनेर परीक्षण नगराई यो समस्या समाधान गर्न ओभर द काउन्टर उत्पादन, घरेलु उपचार र मात्र होइन, सप्लिमेन्टसम्म लिने गर्छन् । जसमध्ये अहिले चर्चामा छ, कोलाजेन सप्लिमेन्टको ।

के हो कोलाजेन ?           

कोलाजेन एक प्रोटिन हो, जसमा ग्लाइसिन, प्रोलाइन र हाइड्रोक्साइप्रोलिन जस्ता एमिनो एसिडहरू हुन्छन् । यसले हाम्रो शरीरमा कपाल सहित मांसपेशी, रक्त धमिनी हरेक भागलाई बलियो बनाउन मद्दत गर्छ । हामीले जे खान्छौं त्यसबाट पनि शरीरमा कोलाजेन प्राप्त हुन्छ । जति उमेर बढ्दै जान्छ । त्यति कोलाजेनमा ह्रास आउँदै जान्छ ।

यसैकारण कपाल उमार्न सुरक्षित विकल्प सोचेर कोलाजेनका प्रयोगकर्ता बढेका छन् ।

कोलाजेनको सप्लिमेन्ट प्रयोग गर्न कति उचित ?

यसबारे अध्ययन गर्ने विज्ञहरु कोलाजेन सप्लिमेन्ट खाँदैमा कपाल उम्रिन्छ भन्ने ठोस प्रमाण अहिलेसम्म नभेटिएको बताउँछन् । किनकि यो सप्लिमेन्ट रक्तसञ्चार हुँदै कपालसम्म पुग्न पाउँदैन ।

यो सिधा पाचननलीमा गएर पच्छ । जसकारण रक्त सञ्चारसम्म पुगेर अवशोषित हुन सप्लिमेन्ट पर्याप्त हुँदैन ।

त्यसैले कपाल झर्ने समस्या छ भने पहिला कपालको जाँच गराउनुपर्छ । सोही अनुसार त्यसको उपचार गर्नु उपयुक्त हुने छाला, कपाल तथा यौनरोग विशेषज्ञ डा. प्रज्जवल पुडासैनी बताउँछन् । उनका अनुसार स्वस्थ व्यक्तिले कोलाजेन जस्ता सप्लिमेन्ट लिनु आवश्यक छैन ।

यद्यपि, जसको पोषणको अभाव जस्तै, भिटामिन, जिंक र खनिजहरुको अभावले कपालको विकास हुन पाएको छैन भने त्यो अवस्थामा सप्लिमेन्ट दिन सकिन्छ । जुन परीक्षणपछि चिकित्सको सल्लाहमा मात्र लिन सकिने डा. पुडासैनी बताउँछन् ।

जोखिम

जथाभावी यस्ता सप्लिमेन्ट प्रयोग गर्दा स्वास्थ्यलाई हानि गर्न सक्ने छालारोग विशेषज्ञ डा. शिल्पी खेतरपाल बताउँछिन् ।

‘कोलाजेन सप्लिमेन्टले काम गर्छ भन्ने कुनै निश्चित प्रमाण छैन, तर के थाहा छ भने यसले फाइदाको साटो उल्टो हानि पुर्‍याउन सक्ने सम्भावना रहन्छ,’ उनी भन्छिन् ।

यसमा अरु रसायन, आकर्षक देखाउन रङ र फ्लेवर हालिने भएकाले खाँदा एलर्जी हुनसक्छ । कतिपयले कोलाजेन लिंदा ग्यास्ट्रिकको समस्या समेत भएको सुनाउने गरेको डा. खेतरपाल बताउँछिन् ।

अमेरिकन फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) भन्छ, ‘कोलाजेन खानका लागि हो, औषधि उत्पादनको लागि होइन ।’ यसको अर्थ यो औषधिको रूपमा परीक्षण र नियमन भइसेको छैन । एफडीएका अनुसार धेरैजसोमा लेबलिङसम्म नहुने भएकोले सही सन्देश नभएको पाइएको कारण प्रयोग गरी हाल्न उचित मानिंदैन ।

कपाल झर्न रोक्ने अन्य विकल्प

डा. पुडासैनीका अनुसार कपाल कर्ली गर्न, भिजेको कपाल सुकाउन वा तन्काउन तातो उपकरणको प्रयोग गर्नुहुँदैन । यसले कपाललाई सुक्खा बनाएर हाँगा फाटेर टुक्रिन्छ ।

खानामा प्रोटिनयुक्त आहार भरपुर खानुपर्छ । किनकि कपाल स्वस्थ राख्ने प्रमुख तत्व प्रोटिन हो । यसको अभाव भयो भने कपाल सुक्खा तथा जरा कमजोर हुन्छ । चिकित्सकको सल्लाहमा भिटामिन र खनिज भएको औषधि लिन सकिने डा. पुडासैनी बताउँछन् ।

कोलाजेन सप्लिमेन्ट कसले प्रयोग गर्नु हुँदैन ?

माछा वा अन्य कोलाजेन स्रोतहरूबाट एलर्जी भएमा कोलाजेन सप्लिमेन्टबाट टाढा रहनुपर्छ । गर्भवती वा सुत्केरी महिलाले पनि यो प्रयोग नगर्नु नै उचित नहुने डा. पुडासैनी बताउँछन् ।

कपाल कोलाजेन सप्लिमेन्ट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय