+
+

एकीकृत समाजवादीले केन्द्रीय सदस्यका लागि प्रदेश इन्चार्ज र सचिवसँग माग्यो नाम

१० दिनभित्र कमिटीलाई पूर्णता दिन्छौं : जगन्नाथ खतिवडा

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २३ गते १४:२१

२३ असार, काठमाडौं । एकीकृत समाजवादीले प्रदेशका इन्चार्ज र सचिवहरुसँग केन्द्रीय कमिटी सदस्यको नाम मागेको छ ।

आइतबारको केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पर्टीका नेता जगन्नाथ खतिवडाले केन्द्रीय कमिटी बैठकले सबै प्रदेश र जिल्लाबाट क्लस्टर मिलाएर केन्द्रीय सदस्यका लागि नाम दिन प्रदेश इन्चार्जहरुलाई आग्रह गरेको जानकारी दिए ।

‘बैठकले पूर्णता दिनका लागि प्रदेशका यस भन्दा पहिला इन्चार्ज भएकाहरुलाई यथावत गरेका छौं, अन्तरिम व्यवस्थाका लागि । प्रदेशका इन्चार्ज र सचिवहरु र यो केन्द्रीय कमिटीमा भएका सदस्यहरुको परामर्शमा प्रदेश र जिल्लाबाट क्लस्टर मिलाइ आवश्यक व्यवस्था गर्न केन्द्रीय सदस्यहरुमा मनोनयन गर्ने ड्राफ्ट तयार गर्नका निम्ति जिम्मेवारी प्रदान गरिएको छ ।’

उनले प्रदेशस्तरबाट नामहरु आएपछि त्यसलाई केन्द्रीय कमिटीले निर्णय गर्ने बताए । ‘यो जिम्मेवारीअन्तर्गत केही दिनभित्र उहाँहरुले आफ्नो काम सम्पन्न गर्नुहुनेछ । केन्द्रसँग परामर्श गर्नुहुनेछ । अन्तिम निर्णय गर्ने अधिकार केन्द्रीय कमिटीलाई नै हुनेछ’, उनले भने ।

नेता खतिवडाका अनुसार बढीमा १० दिनमा केन्द्रीय कमिटी सदस्यको टुंगो लाग्नेछ ।

असार १६ देखि २० गतेसम्म काठमाडौंमा भएको दशौं राष्ट्रिय महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भूसालको नाम मात्र टुंगो लगाएको छ । केन्द्रीय कमिटीलाई पूर्णता दिने म्याण्डेट सचिवालयलाई दिएको थियो ।

सोही म्याण्डेट अनुसार पहिलेका पोलिटब्यूरो सदस्यहरुलाई स्वतः केन्द्रीय सदस्य बनाउने निर्णय भएको छ । त्यसरी बनेको ९३ जनाको केन्द्रीय कमिटीले थप केन्द्रीय सदस्य चयन गर्न प्रदेशका इन्चार्ज, सचिव र केन्द्रीय सदस्यहरुलाई दिएको हो ।

एकीकृत समाजवादीको महाधिवेशन अघि बसेको सचिवालय बैठकले २१ सदस्यीय पदाधिकारी सहित २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?