+
+

प्रधानमन्त्रीले हामीलाई अविश्वास गरेपछि कांग्रेससँग मिल्यौं : योगेश भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २३ गते १९:१७

२३ असार, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेप्रति अविश्वास गर्न थालेपछि आफूहरुले कांग्रेसँग सहकार्य गरेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै उनले प्रधानमन्त्रीले कहिले एमाले, कहिले कांग्रेससँग मिलेर सरकारको अवधि लम्ब्याउन थालेपछि मुलुकको समस्या समाधान गर्न दुई पार्टीबीच सहकार्य भएको बताए । भट्टराईले कांग्रेस एमालेबीचको सहमतिलाई ऐतिहासिक भनेका छन् ।

‘दिनहरु बित्दै जाँदा प्रधानमन्त्रीले जादुमय अंक भनिरहनुभएको थियो, त्यो जादुमय अंकले नेकपा एमालेप्रति नै अविश्वास गर्न थाल्नुभयो, हामीले गाइगुइँ गाइगुइँ सुन्यौं, माननीय शेरबहादुर देउवालाई बोलाएर राष्ट्रिय सरकार बनाऔं भन्ने प्रस्ताव अगाडि बढाउनुभएछ’, उनले भने ।

राष्ट्रिय सरकार बनाउने कुरा जायज भए पनि अहिलेको परिस्थितिमा प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन उचित नहुने भट्टराईले बताए ।

‘आजको तमाम परिस्थितिमा राष्ट्रिय सरकारको नेतृत्व कसले गर्दा उचित हुन्छ ? पुष्पकमल दाहालजी संसदमा जुन ठाउँमा हुनुहुन्छ उहाँलाई सम्मानका साथ भन्न चाहन्छु यी तमाम समस्याको समाधान उहाँ नेतृत्वको राष्ट्रिय सहमतिको सरकारले गर्नै सक्दैन’, उनले भने ।

कांग्रेससँग राष्ट्रिय सहमतिको सरकार बनाउने प्रस्ताव गर्दा प्रचण्डले एमालेलाई सरकारबाट बाहिर राख्न खोजेको थाहा पाएपछि एमाले अध्यक्ष ओलीले कांग्रेससँग सहमति गरेको भट्टराईले बताए । एमाले सरकार बाहिर बस्न तयार भए पनि प्रचण्डको रोटेपिङ शैलीले मुलुकको समस्या समाधान नहुने उनले बताए ।

‘हामीले विचार गर्‍यौं कि फेरि एमाले बाहिर बस्ने, कांग्रेस उहाँसँग साथमा जाने, कांग्रेस बाहिर जाने, फेरि एमाले भित्र जाने, यो रोटेपिङले देशलाई कहीँ पनि पुर्‍याउँदैन, घुमिफिरी रुम्जाटार भनेजस्तै पुष्पकमल दाहालको कुुर्सी केही समय लम्बिन्छ तर मुलुकको समस्या जहाँको त्यहीँ हुन्छ भन्ने कुरा हामीले बुझ्यौं’, एमाले सचिव भट्टराईले भने ।

उनले मुलुकको आत्मविश्वास बढाउन, आर्थिक समस्या समाधान गर्न, शान्ति प्रक्रिया टुंगो लगाउन, युवाहरुको बढ्दो विदेश पलायन रोक्न र संविधान संशोधन गर्न सबै दलहरु एक ठाउँमा हुनुपर्ने बताए । त्यसका लागि एमाले र कांग्रेसबीचको सहकार्यमा साथ दिन भट्टराईले माओवादीलाई पनि आग्रह गरे ।

‘शान्ति प्रक्रियालाई टुंग्याउन पनि नेकपा माओवादी यो अभियानमा साथमा आओस् भन्न चाहन्छु’, भट्टराईले भने ।

सामान्यतया संसदीय व्यवस्थामा दुई प्रमुख दलहरुबीच सत्ता साझेदारी स्वभाविक नभए पनि देश संकटमा परेका बेला यस्ता सहकार्य हुने गरेको भट्टराईले बताए ।

२०४६ सालको जनआन्दोलन, २०६२/०६३ को जनआन्दोलन, २०७२ सालको संविधान निर्माणका बेला कांग्रेस–एमालेबीच सहकार्य भएको भन्दै उनले अहिले पनि दुई पार्टी मिल्नुपर्ने अवस्था आएको बताए ।

प्रधानमन्त्री प्रचण्डले क्षणिक रुपमा मात्र राजनीतिक दलसँग सहमति गर्ने र तत्कालै अर्को समीकरण बनाइहाल्ने प्रवृत्तिले मुलुकले आत्मविश्वास गुमाउँदै गएको, अन्तर्राष्ट्रिय समुदायको विश्वास गुम्दै गएको, कर्मचारी र सुरक्षा निकायको मनोबल गिरेको भट्टराईले बताए ।

नेपालको संविधान निर्माण पनि १० वर्ष पुग्न लागेकाले अभ्यासका आधारमा यसको पनि पुनरालोकन गर्ने ठाउँमा आइपुगेकाले कांग्रेस एमालेबीच सहकार्य भएको भट्टराईको भनाइ छ । ‘एमाले र कांग्रेस एक ठाउँमा उभिएर यो तमाम परिस्थितिको सामना गर्नुपर्ने बेला आएको हो कि भन्ने लाग्यो र हाम्रो नेतृत्वले यो निर्णय गर्ने ठाउँमा आयौं’, उनले भने ।

एमाले र कांग्रेसले नयाँ सरकार बनाउने सहमति गरेपछि प्रधानमन्त्री घोर अल्पमतमा परेको भन्दै भट्टराईले विश्वासको मत लिन २८ असारसम्मको समय किन लिन खोजेको भन्दै प्रश्न गरे ।

‘प्रधानमन्त्रीले २८ गतेसम्मको समय लिन खोज्दै हुनुहुन्छ यो केका लागि किन आवश्यक भयो, उहाँले विश्वास समर्थन गुमाइसक्नुभएको छ’, उनले भने, ‘उहाँ लामो राजनीतिक व्यक्तित्व हो, भोलि पनि राजनीति गर्ने बाटो खुला छ, त्यसैले यो संसदबाट राजीनामा घोषणा गर्नु उपयुक्त हुन्छ ।’

भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पदको गरिमा ख्याल नगरेको बताए । ‘प्रधानमन्त्रीले प्वाल पारिसकेको डुंगामा बस्नुभएको छ भने कता जाँदै हुनुहुन्छ ?’, उनले रास्वपालाई प्रश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?