+

रोड्रिगेजको पुनरागमनमा कोलम्बियाको कोपा यात्रा

२०८१ असार  २३ गते १५:३९ २०८१ असार २३ गते १५:३९
रोड्रिगेजको पुनरागमनमा कोलम्बियाको कोपा यात्रा

२३ असार, काठमाडौं । कोपा अमेरिका २०२४ मा कोलम्बियाले उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनल पुगिसकेको छ । कोलम्बियाको यो यात्रामा कोही खेलाडी लयमा छन् भने ३२ वर्षीय मिडफिल्डर जेम्स रोड्रिगेज नै हुन् ।

कोलम्बियाले अहिलेसम्म चार खेल खेल्दा रोड्रिगेज तीन पटक त प्लेअर अफ दि म्याच नै बने । उनले मैदानमा पनि त्यही अनुसार प्रदर्शन गरेका छन् ।

सन् २०१४ को फिफा विश्वकपका रोड्रिगेजले लिओनल मेसी र क्रिस्टियानो रोनाल्डो जस्ता स्टार खेलाडीलाई पछि पार्दै गोल्डेन बुटको अवार्ड जितेपछि चर्चामा आएका थिए । लगत्तै उनी स्पेनिस जायन्ट क्लब रियल मड्रिडमा अनुबन्ध भएका थिए । तर उनले त्यहाँ नियमित खेल्ने अवसर नपाउँदा आफ्नो प्रतिभा देखाउन पाएनन् र स्पेन साउदी हुँदै हाल ब्राजिलियन क्लबमा पुगेका छन् ।

तर अहिले उनी फेरि लयमा फर्कन थालेका छन् । यसको फाइदा उनी स्वयं र उनको टिम कोलम्बियालाई भएको छ ।

कोलम्बियाले शनिबार क्वार्टरफाइनलमा पनामालाई ५-० को फराकिलो अन्तरले पराजित गर्दा रोड्रिगेजले एक गोल गरे भने दुई गोलका लागि अवसर सिर्जना गरे ।

उनी अहिले आफ्नो टोलीलाई दोस्रो पटक कोपा अमेरिकाको उपाधि जिताउनका लागि कटिबद्ध भएर लागिपरेका छन् ।

कोलम्बियाले सन् २००१ मा कोपाको उपाधि जितेको थियो ।

प्रभावशाली प्रदर्शन र असिस्टमा कीर्तिमान

रोड्रिगेजले कोलम्बियालाई सेमिफाइनलसम्म पुर्‍याउने क्रममा प्रभावशाली प्रदर्शन गरेका छन् । उनले एकै संस्करणमा सर्वाधिक ५ असिस्ट गर्ने लिओनल मेसीको कीर्तिमान पनि बराबरी गरेका छन् ।

सन् २०२१ मा मेसीले एकै संस्करणमा पाँच असिस्ट गरेका थिए । उनले समह चरणमा पाराग्वेविरुद्ध दुई र कोस्टारिका विरुद्ध एक असिस्ट गरेका थिए ।

रोड्रिगेजको खेलकला पनामा विरुद्धको जितमा पनि देखियो । उनले पहिलो गोलका लागि पिन प्वाइन्ट कर्नरबाट पास उपलब्ध गराएका थिए । त्यसपछि पेनाल्टीमा आफैँ गोल गरे । अनि तेस्रो गोलका लागि पनि असिस्ट गरे । जारी प्रतियोगितामा उनले पहिलो गोल पनि यसै खेलमा गरे ।एक तथ्यांक अनुसार रोड्रिगेज कोपा अमेरिकाको सुरुवाती १५ मिनेटभित्र गोल र असिस्ट दुवै गर्ने पहिलो खेलाडी हुन् ।

‘एउटा कठिन खेल, उनीहरु राम्रो टिम थिए, तर हामी राम्रो तयारीका साथ आएका थियौँ । हामीलाई थाहा थियो कसरी चाँडै गोल गर्ने र त्यसले हामीलाई खेलमा पकड राख्न मदत गर्‍यो’, रोड्रिगेजले पनामाविरुद्धको खेलपछि भने ।

उनले आफूले कोपा अमेरिकाको उपाधि जित्न चाहेको र त्यसमा सफल हुने आशा राखेका छन् । ‘के म कोपाको बेस्ट प्लेअर बन्न चाहन्छु ? म यस प्रतियोगितामा राम्रो गर्न चाहन्छु । अगाडि बढ्न टिममेटलाई सहयोग गर्न तयार छु । हामी प्रतियोगिताको अन्तिम दिनसम्म पुग्न चाहन्छौँ । आशा छ हामी हामीले चाहेको त्यो ग्रान्ड फाइनलमा पुग्छौँ । हामी राम्रो मुमेन्टमका साथ गइरहेका छौँ’, उनले भनेका छन् ।

कोलम्बियाका मुख्य खेलाडी

रोड्रिगेज सन् २०१४ को विश्वकपमा गोल्डेन बुट जितेपछि चर्चामा आए । जसले उनलाई रियल मड्रिडसम्म पुर्‍यायो । तर करियर उनले सोचेजस्तो रहेन ।

उनले कोलम्बियाका लागि गरेको जस्तो प्रदर्शन क्लबमा देखाउन सकेनन् । त्यसपछि उनी लोनमा जर्मन क्लब बायर्न म्युनिख पुगे, अनि २०२० मा प्रिमियर लिग क्लब एभर्टन पुगे । तर उनको प्रदर्शन पहिले जस्तो हुन सकेन ।

उनले एक सिजन प्रिमियर लिग खेले । त्यसपछि कतारी क्लब अल-राएनमा पनि खेले । त्यहाँबाट ग्रिक क्लब ओलम्पियाकोस पुगे र गत वर्ष उनी ब्राजिलियन क्लब साओ पाओलामा अनुबन्ध भए ।

फिटनेसका कारण जेम्स रोड्रिग्वेज २०२१ को कोपा अमेरिकामा कोलम्बियाको टिममा पर्न सकेनन् । तर अहिले नेस्टोर लोरेन्जोले उनलाई टिममा पुनर्स्थापित गरेका छन् ।

५८ वर्षीय अर्जेन्टाइन प्रशिक्षक लरेन्जो आएपछि अहिले कोलम्बियाले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । कोलम्बिया २७ खेलमा अपराजित छ र यस अवधिमा उसले ब्राजिल र जर्मनी जस्ता बलिया टिमलाई पनि पराजित गरेको छ ।

लरेन्जोको प्रशिक्षणमा कोलम्बियाले दक्षिण अमेरिकाकै उत्कृष्ट टिमको रुपमा उदाउँदैछ ।

लरेन्जो आफैँ भने रोड्रिगेजको प्रशंसा गर्छन् । ‘उनी एक महान खेलाडी हुन्, व्याख्या गर्नको लागि त्यहाँ भन्दा केही छैन । उनी पिचमा खुशी हुने खेलाडी हुन्’, लोरेन्जोले शनिबार पत्रकारहरुलाई भने ।

रोड्रिगेजसँग अब एकै संस्करणमा सर्वाधिक असिस्ट गर्ने कीर्तिमान बनाउन अझै दुई खेल बाँकी छ । यस्तै विश्वकै पुरानो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा उनी आफ्नो उत्कृष्ट छाप छोड्न चाहन्छन् । सन् २०१६ मा रोड्रिग्वेजले कोपा खेल्दा कोलम्बिया तेस्रो भएको थियो ।

कोपा अमेरिका जेम्स रोड्रिगेज फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय