+

बच्चाको घाँटीमा खानेकुरा अड्किए गम्भीर अवस्था आउन सक्छ, के गर्ने ?

२०८१ असार  २४ गते १३:५९ २०८१ असार २४ गते १३:५९
बच्चाको घाँटीमा खानेकुरा अड्किए गम्भीर अवस्था आउन सक्छ, के गर्ने ?

घटना १ : २०७५ मंसिर १४ गते वीरगञ्जमा दुई वर्षीय बालकको घाँटीमा सिक्का (पैसा) अड्किएर मृत्यु भयो । बच्चाले खेलाउँदै गरेको एक रुपैयाँको सिक्का (पैसा) अचानक निल्दा अड्किएको थियो । पैसा अड्काएपछि उपचारका लागि वीरगञ्जस्थित नेसनल मेडिकल कलेज ल्याउने क्रममा उनको बाटोमै मृत्यु भएको थियो ।

घटना २ : गुल्मीमा सुन्तलाको केस्रा घाँटीमा अड्किएर तीन वर्षीय बालकको मृत्यु भएको थियो । सुन्तला खाँदै गर्दा घाँटीमा केस्रा अड्किएपछि श्वास फेर्न गाह्रो भएको थाहा भएपछि गुल्मी जिल्ला अस्पताल पुर्‍याइएका  आयुष ठकुरीको मृत्यु भएको थियो । २०८० मंसिर ७ गते घरको छतमा बसेर सुन्तला खाँदै गर्दा केस्रा अड्किएको थियो ।

घटना ३ : २०८० साल भदौमा सिन्धुलीका तीन वर्षीय बालकको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको थियो । बच्चालाई उपचारका लागि सिन्धुली अस्पताल लगिएको थियो तर उनको ज्यान बचाउन सकिएन ।

घटना ४ : दाङको तुलसीपुरमा चना अड्किएर तीन वर्षीय बालकको मृत्यु भएको थियो । बालक विद्यालयबाट घर आएपछि घरमा पकाइराखेको चना हतारमा खाने क्रममा गत बुधबार चना अड्किएर श्वास निस्सासिएर मृत्यु भएको थियो ।

यसबाहेक माछामासुको हड्डी, फुक्ने सिटीको गोटी र घडीमा राख्ने ब्याट्री अड्किएर ज्यान जाने गरेको नाक कान तथा घाँटीरोग विशेषज्ञ डा. अरुण केसी बताउँछन् । उनका अनुसार घाँटीमा दुईवटा नली हुन्छन्, श्वासनली र खानानली । धेरैजसो चीज खानानलीमै अड्किने गर्छ । त्यस्तो जोखिम हुँदैन । तर श्वासनलीमा अड्किएमा धेरैको मृत्यु हुने गर्छ । सम्भवतः यी माथि प्रस्तुत गरेको घटनामा श्वासनलीमा अड्किएकै कारण बच्चाको मृत्यु भएको हुनसक्ने उनी बताउँछन् ।

‘सबैभन्दा खतरनाक ब्याट्री हो, किनभने ब्याट्रीमा रहेको केमिकलले शरीरभित्रका अंगलाई नै हानि गर्ने गर्छ,’ डा. केसी भन्छन्, ‘अहिले सिक्का कम प्रयोग हुने भएकाले अड्किने क्रम पनि घट्दै गएको छ ।’

कसरी थाहा पाउने ?

सामान्यतया एक्कासि एकदम खोक्ने, श्वास फेर्न गाह्रो हुने, बोल्न नसक्ने र शरीर नीलो भएमा श्वासनलीमा केही अड्किएको शंका गर्न सकिने डा. केसी बताउँछन् । श्वासनलीमा अड्किएमा तुरून्तै अस्पताल जानुपर्ने हुन्छ ।

खानानलीमा केही अड्किएमा घाँटी दुख्ने, अचानक बच्चाले खानेकुरा निल्न नसक्ने, थुक पनि निल्न नसक्ने, दुख्ने, बोल्न गाह्रो हुने र र्‍याल चुहिने लक्षण देखिन्छ । खानानलीमा केही अड्किएको छ भने घरेलु उपचार गर्न सकिन्छ । त्यसपछि जतिसक्दो चाँडो अस्पताल जानुपर्ने डा. केसी सुझाउँछन् ।

यसबाहेक एक्स-रे, सिटी स्क्यान गरेर थाहा पाउन सकिन्छ । कतिपय अवस्थामा इन्डोस्कोपी पनि गर्न सकिन्छ । धेरैजसो समस्या एक्स-रेबाटै पत्ता लाग्छ ।

कसरी मृत्यु हुन्छ ?

श्वासनलीमा केही चीज अड्किएर धेरै बच्चाको मृत्यु हुने गरेको छ । श्वासनलीमा केही चीज अड्किंदा सास फेर्न गाह्रो हुन्छ र निसासिएर मृत्यु हुने डा. केसी बताउँछन् । त्यस्तै अस्पताल लैजाँदा लैजाँदै मृत्यु हुनुको मुख्य कारण घाँटीको माथिल्लो भाग (मेडिकल भाषामा लैरिंक्स) मा अड्किएमा तत्कालै मृत्यु हुने गर्छ । खानानली अड्किएर बेवास्ता गरेमा यसमा पनि पछि समस्या आउन सक्ने डा. केसी बताउँछन् । त्यसैले घाँटीमा केही अड्किएजस्तो लागेमा जाँच गराउनुपर्ने उनी सुझाउँछन् ।

उपचार

घाँटीमा हड्डी अड्कियो भने यसको उपचार शल्यक्रिया नै हो । श्वासनलीमा अड्किएको निकाल्न ब्रोन्सकोपी सर्जरी गरिन्छ । यसमा घाँटीमा पाइप पसाएर हड्डी निकालिन्छ । खानानलीमा अड्किएको चीज निकाल्न छुट्टै शल्यक्रिया गरिन्छ । यी दुवै शल्यक्रिया जटिल हुने डा. केसी बताउँछन् ।

कस्तो अवस्थामा अड्किन्छ ?

राम्ररी नचपाई खाना निल्दा, हतारमा खाँदा घाँटीमा खानेकुरा अड्किन्छ । साथै बच्चाहरुमा दाँत नभएका कारण पनि मुखमा राख्ने बित्तिकै निल्नाले खाना अड्किन्छ । त्यस्तै वयस्कले पनि कडा चीज वा मासु खाँदा अलि सचेत भएर मासु खानुपर्ने डा. केसी बताउँछन् ।

घरेलु उपचार

घाँटीमा केही अड्किएरमा हेम्लिच मेनोवर गर्न सकिन्छ । यसलाई घरमै गर्न सकिन्छ । यसमा घाँटीमा अड्किएको बच्चाको पछाडि बस्ने र पछाडिबाट एउटा हात कम्मरमा र अर्को हातले पछाडि पीठमा सात-आठ पटक थप्थपाउनुपर्छ ।

घाँटीमा अड्किएको व्यक्तिको पछाडि बसेर कम्मरमा दुईवटा हात एकअर्कामाथि हालेर थिच्नुपर्छ । यी कुरा नै बारम्बार गर्न सकिन्छ, तर यसले पनि नभएमा अस्पताल गइहाल्नुपर्छ ।

खानेकुरा घाँटीमा अड्किनु बालबच्चा स्वास्थ्य
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय