+
+

कांग्रेस–एमालेलाई माओवादी सांसदले सुनाए गोही र पण्डितको कथा

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८१ असार २४ गते १४:०२

२४ असार, काठमाडौं । प्रतिनिधिसभामा सांसदहरु गम्भीर राजनीतिक बहसमा पनि गीत–संगीत, उखान टुक्का र नीतिकथाहरुको उत्तिकै प्रयोग गर्छन् ।

मुलुकका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार गठन गर्ने सहमति भएपछि केही दिनयता संसद्‍मा यसको पक्ष र विपक्षमा बहस भइरहेको छ ।

एमालेले सरकार छाडेपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही असार २८ गते विश्वासको मत लिंदैछन् । एमाले सांसदहरुले प्रधानमन्त्रीले विश्वासको मत नलिएर राजीनामा दिनुपर्ने सुझाव दिइरहेका छन् । माओवादी केन्द्रका सांसदहरु विश्वासको मत लिने प्रधानमन्त्रीको संवैधानिक अधिकार रहेको तर्क गरिरहेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले एउटा नीति कथा सुनाएका छन् । उनले गोही र पण्डितको कथा सुनाउँदै भविष्यमा एमालेले कांग्रेसलाई धोका दिन सक्ने आशंका गरे ।

माओवादी सांसद घर्तीले सुनाएको नीति कथा यस्तो छ –

गंगा नदीको किनारमा एक जना पण्डित बिहानै उठेर स्नान गरेर ध्यानमग्न भइरहेका रहेछन् । त्यसबेला आहाराको खोजीमा आइरहेको एउटा गोहीले पण्डितलाई देख्यो । पण्डित अग्लो ठाउँमा भएकाले गोहीले खान त सकेन ।

तर, पण्डितलाई खुसी पार्न गोहीले मोतीका दानाहरु उनी वरपर छरिदियो । ध्यान खुलेपछि पण्डितले वरपर मोतीका दानाहरु देखेपछि कहाँबाट आयो भनेर यताउता हेरे ।

गोहीले भन्यो– केही चिन्ता नगर्नुस् यहाँ कोही पनि छैन । तपाईं र म मात्रै छौं । मोतीका दानाहरु खल्तीमा हाल्नुस् । बरु अरु पनि चाहिन्छ भने दिन्छु ।

पण्डितले गोहीको बारेमा जिज्ञासा राखे ।

गोहीले आफू त्रिवेणी धाम जान खोजेको, तर बाटो बिराएर यहाँ आएको भन्दै बाटो देखाइदिन आग्रह गर्‍यो ।

पण्डितले टाढा भएकाले कसरी बाटो देखाउने भने ।

त्यसपछि गोहीले भन्यो, ‘म तपाईंलाइ बोक्छु, तपाईं काँधमा चढेर हिंड्नुस् र बाटो देखाउनुस् ।

त्यसपछि पण्डित मोतीका दानाको लोभले गोहीको काँधमा बसे ।

नदीमा जाँदै गर्दा ठूलो छालहरु आएको ठाउँमा पण्डित डराए ।

गोही ‘मूर्ख पण्डित । मैले मेरै स्वार्थको लागि तिमीलाई ल्याएको थिएँ’ भन्यो र पण्डितलाई आफ्नो आहारा बनायो ।

गोही र पण्डितको कथा सुनाएपछि माओवादी सांसद घर्तीले कांग्रेस–एमालेबीचको सहमतिसँग जोड्न खोजे ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच स्वर्ग गए पनि नर्क गए पनि सँगै जाउँला भन्ने सहमति भएको घर्तीले स्मरण गरे ।

त्यसपछि उनले भने, ‘एउटा पण्डित त स्वर्ग गए पनि नर्क गए पनि सँगै जाउँला भनेको नर्कमा छोडेर गएपछि जिल्ल परिहाले । अब अर्को पण्डित फेरि कतै गोहीसँग जाँदा भुल्कामा परेर ज्यान गुम्ला, त्यसबेला याद गर्नुहोला ।’

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?