+

बच्चाको दाँत बिग्रिने कारण र जोगाउने उपाय

२०८१ असार  २४ गते १५:३८ २०८१ असार २४ गते १५:३८
बच्चाको दाँत बिग्रिने कारण र जोगाउने उपाय

अक्सर बच्चा दाँतको समस्याबाट ग्रसित हुन्छन् । दाँत कीराले खाने, सड्ने, थोते हुने र बाङ्गोटिङ्गो हुने लगायतका समस्या बच्चामा देखिन्छ । त्यसमा पनि धेरैजसो बालबच्चाको दाँत कीराले खाएको देखिन्छ । दाँत बाङ्गोटिङ्गो हुने समस्या पनि कम छैन । त्यसैगरी गिजाको समस्या अहिले धेरैमा देखिएको छ ।

६ महिनादेखि तीन वर्षको उमेरसम्म बालबालिकाको २० वटा दाँत आउँछ । ६ वर्षको उमेरपछि भने उनीहरूको स्थायी दाँत र बङ्गारा आउन थाल्छ र अगाडिको दाँत झर्न थाल्छ । ६ वर्ष उमेरदेखि १३ वर्ष उमेरसम्ममा बालबालिकाको अगाडिको दाँत झर्ने र बङ्गाराहरू पलाउने गर्छ ।

६ वर्षको उमेरमा बच्चाको दाँत झर्‍यो र नयाँ पलायो, तर नयाँ पलाएको दाँत पनि फेरि कीरा लागेर झर्‍यो भने त्यो बच्चाको दाँत फेरि आउँदैन । त्यसैले बालबालिकाको दाँतको विषयमा अभिभावक सचेत हुनु जरुरी छ ।

बालबालिकाको दाँत बिग्रिने कारण

बालबालिकामा दाँतसम्बन्धी समस्या बढी देखिन थालेको छ । यसको मुख्य कारण खानपान नै हो । अहिलेका बालबालिका घरमा बनेको खानेकुराभन्दा पनि जंकफुड, प्याकेट फुड र चकलेट बढी रुचाउँछन् । यस्ता खानेकुरा दाँतमा टाँसिन्छ र दाँतको विभिन्न समस्या निम्ताउँछ ।

बच्चाको दाँतमा समस्या देखापर्ने अर्को कारण मुखको सरसफाइमा कमी हो । साथै शिशुलाई दूध चुसाएपछि दाँत सफा नगरिदिनु, खाना खाएपछि दाँत ब्रस नगरिदिनु, धेरै गुलियो तथा दाँतमा टाँसिने खानेकुरा खान दिनु, दाँतमा टाँसिने खाना खाएपछि दाँत नमाझ्नु आदि हो ।

बच्चाको दाँतलाई धेरै हेरचाह गर्नुपर्दैन, उनीहरूको दाँत त झरेर जान्छ भन्ने सोच पनि धेरै अभिभावकमा देखिन्छ । पहिलो चरणमा आएका दाँत बिग्रिए पनि अर्को दाँत राम्रो आउने आशामा उपचार गराउँदैनन् । बालबालिकाको दाँत खराब हुनुमा यसले पनि भूमिका खेल्छ ।

बालबालिकाको दाँत पहिलो चरणमा खराब बनेको छ भने नयाँ दाँत पलाउने समय नहुँदै झर्न थाल्छ । नयाँ आउनेभन्दा पहिले नै झर्दा पछि आउने दाँतले बाटो पहिल्याउन सक्दैन । जसले गर्दा नयाँ दाँत आउँदा बाङ्गो–टेढो बनेर आउने, खप्टिएर वा फाटिएर आउने हुन्छ ।

कसरी जोगाउने ?

जबदेखि बच्चाको दाँत पलाउन सुरु हुन्छ, त्यो बेलादेखि नै दाँतको हेरचाह गर्नुपर्ने हुन्छ । दुईवटा मात्र दाँत पलाएको छ भने ब्रस गर्न त मिल्दैन, तर सफा गर्न मिल्छ । बच्चाले दूध खाइसकेपछि कटनलाई पानीमा भिजाएर दाँत सफा गरिदिनुपर्छ ।

बच्चा दुई–तीन वर्षको छ भने आफैंले उनीहरूको हात समाएर नरम ब्रसको प्रयोग गरेर दिनमा दुई पटक ब्रस गर्दिनुपर्छ । तीन वर्षभन्दा माथिको बच्चा छ भने उनीहरूले ब्रस गरे कि गरेनन् भनेर निगरानी गर्नुपर्छ ।

बालबालिकालाई धेरै गुलियो तथा दाँत टाँसिने खानेकुरा एकदमै कम खाइदिने, विशेषगरी रातको समयमा यस्ता कुराबाट बालबालिकालाई टाढै राख्ने गर्नुपर्छ ।

कुनै पनि खानेकुरा खाएपछि मुख कुल्ला गर्न सिकाउने, बच्चा अलिकति बुझ्ने भइसकेपछि उसलाई ब्रस गर्नेसँगै ‘डेन्टल फ्लस’( यो पातलो धागो जस्तो हुन्छ जसले दाँतमा अड्किएको वस्तु सफा गर्न सहयोग गर्छ) को पनि प्रयोग गर्न सिकाउनुपर्छ ।

बालबालिकाको दाँत स्वस्थ राख्न बिहान र बेलुकी अनिवार्य ब्रस गर्न लगाउनुपर्छ ।  बालबालिकाको दाँत माझ्नका लागि मञ्जन र ब्रस छुट्टै पाइन्छ । चिकित्सकको सल्लाहमा त्यस्ता ब्रस र मञ्जन दिन सकिन्छ ।

६-६ महिनामा एकपटक वा कम्तीमा पनि एक वर्षमा एकपटक बाल दन्तरोग विशेषज्ञको सल्लाह लिने र उनीहरूको सल्लाहअनुसार बच्चाको दाँतको हेरचाह गर्नुपर्छ ।

समयमै गर्नुपर्छ उपचार

पहिला बच्चाको दाँतको अवस्थाको परीक्षण गरिसकेपछि त्यसैको आधारमा दाँतको जटिलताअनुसार उपचार गर्नुपर्छ । सुरुवाती चरणमै उपचार गरियो भने दाँत फाल्नुपर्ने अवस्थासम्म पुग्नु पर्दैन । विभिन्न उपचार विधिबाट कीराले खाएको, सडेको र बाङ्गोटिङ्गो भएको दाँतको उपचार गरेर बचाउन सकिन्छ ।

समयमै उपचार नभए निम्तिन सक्छ यी समस्या

समयमै उपचार नगर्दा बच्चाको दाँतसम्बन्धी समस्या दाँतको भित्री भागमा पुग्छ । समस्या भित्री भागमा पुगेपछि मात्र दाँत दुख्न थाल्छ र गिजामा संक्रमण हुनसक्छ । दाँतको जरामा संक्रमण भए गिजा सुन्निने, दाँत हल्लिने र दाँत नै गुमाउनुपर्ने अवस्था आउँछ ।

डा. वरुणकुमार साह दन्तरोग बच्चाको दाँत
डा. वरुणकुमार साह
लेखक
डा. वरुणकुमार साह
बाल दन्तरोग विशेषज्ञ

डा. साह हाल त्रिवि शिक्षण अस्पतालमा कार्यरत छन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ११४५३ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?