+

गर्भनिरोधक चक्कीले डिप्रेसन गराउँछ ?

२०८१ असार  २४ गते १७:४२ २०८१ असार २४ गते १७:४२
गर्भनिरोधक चक्कीले डिप्रेसन गराउँछ ?

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर १० करोडभन्दा बढी महिलाले गर्भ निरोधक चक्की प्रयोग गर्छन् । सन् १९६० को दशकमा गर्भनिरोधक चक्की प्रयोगमा आएको थियो । यो चक्की प्रयोगमा आएदेखि फाइदाका साथै विभिन्न साइड-इफेक्ट पनि देखिएका छन् ।

जसमध्ये डिप्रेसन पनि प्रमुख रहेको विभिन्न अध्ययनले देखाएका छन् । गत वर्ष इपिडिमियोलोजी एन्ड साइक्याट्रिक साइन्सेसमा प्रकाशित एक अध्ययनअनुसार किशोरावस्थादेखि गर्भनिरोधक चक्की प्रयोग गर्नेहरूमा डिप्रेसनको जोखिम १३० प्रतिशत र वयस्कबाट प्रयोग गर्नेमा ७३ प्रतिशत रहन्छ ।

विशेषगरी दुई वर्षसम्म सो भन्दा बढी दैनिक प्रयोग गर्ने महिलामा सो समस्या देखिन सक्छ । उक्त अध्ययन लण्डनको बायोबैंकबाट दुई लाख ६४ हजार महिलामा गरिएको थियो ।  जसबाट कहिले पनि प्रयोग नगर्ने महिलाको तुलनामा दुई वर्षसम्म प्रयोग गर्नेहरूमा डिप्रेसन हुने जोखिम उच्च रहने अध्ययनको निष्कर्ष थियो । तर यसको कारणबारे भने स्पष्ट रुपमा नआइसकेको र थप अध्ययन आवश्यक रहेको अध्ययनकर्ताहरूले बताएका छन् ।

सो अध्ययनका अनुसन्धानकर्ता थेरेज जोहन्सन भन्छन्, ‘गर्भ निरोधक चक्की महिलाको लागि फाइदाजनक छ, जसमा कुनै शंका छैन । तर यसको साइड-इफेक्टको रुपमा देखिने डिप्रेसनको बारेमा पनि प्रयोगकर्ताहरु सचेत हुन आवश्यक छ ।’

उनका अनुसार पहिले भएका अध्ययन र हालै भएको अध्ययनले पनि साइड-इफेक्टको रुपमा डिप्रेसन हुने देखाएको छ । यसै सन्दर्भमा डेनमार्कमा भएको एक अध्ययनले भने गर्भनिरोधक चक्की र डिप्रेसनबीचको सम्बन्ध त्यति गम्भीर नभएको देखाउँछ ।

एबरडीन विश्वविद्यालयका प्राइमरी केयरका प्राध्यापक फिल हन्नाफोर्डका अनुसार गर्भनिरोधक चक्की र डिप्रेसनबीच कम प्रभाव छ ।

गर्भनिरोधक चक्की प्रयोग नगर्ने प्रत्येक १०० महिलामध्ये १.७ जना महिला प्रत्येक वर्ष डिप्रेसनबाट ग्रस्त हुने र गर्भनिरोधक चक्की प्रयोग गर्ने प्रत्येक १०० महिलामध्ये २.२ जना महिला डिप्रेसनबाट ग्रस्त हुने उनको भनाइ छ ।

थप प्रष्ट पार्दै प्रा. डा. हन्नाफोर्डले भन्छन्, ‘प्रत्येक सयमा २.२ हुनु भनेको त्यस्तो ठूलो कारण होइन । औषधि प्रयोग गर्ने महिलामा डिप्रेसन देखिनु अन्य कारण हुनसक्छ । जस्तै, महिलाको पार्टनरसँग सम्बन्ध टुट्यो वा दिनहुँ जस्तो झैझगडा भएमा पनि डिप्रेसन हुनसक्छ ।’

तर यससम्बन्धी भएका जति पनि अध्ययन छन् । ती अध्ययनले लामो समयसम्म प्रयोग गर्दा गर्भनिरोधक चक्कीले डिप्रेसन हुनसक्छ भने पनि के कारणले हुन्छ भनेर ठोस प्रमाण पेस गरिसकेका छैनन् ।

के भन्छन् चिकित्सक ?

यता प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदी भने यस्ता औषधिहरूले साइड इफेक्टको रुपमा डिप्रेसन गराउन सक्ने बताउँछन् । ‘यी औषधिमा प्रोजेस्टोरोन र एस्ट्रोजेन हर्मोन हुन्छ । जसले शरीरमा हर्मोनल परिवर्तन गर्छ । दुईमध्ये प्रोजेस्टोरोन नामक हर्मोनले डिप्रेसन गराउन सक्छ,’ उनी भन्छन् ।

यसो भन्दैमा सबैलाई खानेबित्तिकै डिप्रेसन हुन्छ भन्न नसकिने उनी बताउँछन् । ‘खानेबित्तिकै डिप्रेसन हुँदैन । तर लगातार यो औषधि खाँदा मुड परिवर्तन हुनसक्छ । जसले भावुक गराउने, उदासी ल्याउने हुनसक्छ । लगातार उदास भइरहने र दिमागले अनावश्यक सोचिरहने हो भने पक्कै पनि डिप्रेसन हुनसक्छ, ’ डा. सुवेदी भन्छन् ।

यदि पहिले डिप्रेसनबाट गुज्रिरहेको वा परिवारमा कसैलाई डिप्रेसन भएकी महिलालाई पछि गएर यी गर्भनिरोधक चक्की प्रयोग गर्दा डिप्रेसनको सम्भावना रहने उनी बताउँछन् । त्यस्तो अवस्थामा महिलाको मानसिक स्वास्थ्य अवस्था बुझेर मात्र गर्भनिरोधक चक्की सुझाउनुपर्छ । यदि डिप्रेसनको लक्षण देखिएको अनुभव हुन्छ भने तुरुन्त औषधि खान बन्द गरी चिकित्सकलाई देखाउनुपर्छ ।

‘सुरुको तीन महिना गर्भनिरोधक चक्की दिएर त्यसपछि डिप्रेसनका लक्षण देखिए त्यो औषधि तत्काल बन्द गरी अन्य विकल्प पनि दिने अभ्यास छ,’ डा. सुवेदी भन्छन्, ‘जहाँसम्म यी चक्कीबारे भएका अध्ययन छन् । यसले डिप्रेसन गराउन सक्ने उल्लेख गरेपनि यस सम्बन्धित ठोस कारण र यही अवस्थामा हुन्छ भनेर किटान गरिसकेको छैन ।’

प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. उपमा कार्की पनि धेरै लामो समयसम्म गर्भनिरोधक चक्की खाँदा महिलामा हर्मोनको असन्तुलन भएकै कारण डिप्रेसन हुनसक्ने बताउँछिन् । डिप्रेसन मात्र नभएर यसले रगत जमाउनेदेखि पाठेघरको क्यान्सरको जोखिम समेत गराउने हुँदा लगातार वषौंसम्म यस्ता चक्की सेवन नगर्न उनको सुझाव छ ।

यद्यपि, कहिलेकाहीं खाँदा यसले खासै असर नपर्ने डा. कार्की बताउँछिन् ।

गर्भनिरोधक चक्की डिप्रेसन प्रसूति तथा स्त्रीरोग
लेखक
मनिषा थापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?