+
+

दयाहाङसँगको अन्तरक्रियासँगै सकियो रंग महोत्सव ‘म्याडफेस्ट’

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २४ गते १६:२५

काठमाडौं । मण्डला थिएटरका पूर्वविद्यार्थीले आयोजना गरेको रंग महोत्सव ‘म्याडफेस्ट २०२४’ सम्पन्न भएको छ । अभिनेता दयाहाङ राई र ‘म्याडफेस्ट’ निर्देशक अनुप न्यौपानेबीचको अन्तरक्रियासँगै तीनदिने महोत्सव टुंगिएको हो ।

‘टाइम, स्पेस एण्ड एक्सन’ शीर्षकमा रंगकर्मी केदार श्रेष्ठले अन्तरक्रिया चलाएका थिए । महोत्सवको अन्तिम दिन आइतबार नाटक ‘मिरर’ र ‘अगम’ मञ्चन भएको थियो ।

‘केही माया, केही विचारका कुरा : मिडिया र थिएटर’ शीर्षकमा पनि अन्तरक्रिया सम्पन्न भयो । महोत्सवमा ६ नाटक मञ्चन भए । समापनमा मण्डलाका संस्थाप कसमेत रहेका अभिनेता राईले संस्थालाई नयाँ पुस्तामाझ हस्तान्तरण गर्ने बताए ।

‘मण्डला थिएटर हामीले सञ्चालनमा ल्याएको १४ वर्ष भयो । अबको ११ वर्षपछि २५ वर्ष लाग्छ । संस्था परिवर्तन हुनलाई समय लाग्दो रहेछ,’ उनले भने ।

महोत्सव निर्देशक समेत रहेका न्यौपानेले युवा रंगकर्मीको साथले म्याडफेस्ट सम्भव रहेको बताए । ‘मनले काम गरियो भने झरीले पनि नरोक्ने रहेछ, दर्शकको माहोल देखेर हामी आफैं उत्साहित भएका छौं,’ उनले भने, ‘हामीले फेरि पनि यस्ता महोत्सव गरिरहनुपर्छ जस्तो लागेको छ । रमाइलो कुरा चाहिं हामीसँग हाम्रो पुस्ता र नयाँ पुस्ताका साथी मात्र हुनुहुन्छ । जुन उचाइ महोत्सवले पाइरहेको छ, एउटा परिपक्व महोत्सव बनेको छ ।’

महोत्सव संयोजक प्रेम सिलवालका अनुसार महोत्सवका लागि ६ नाटकले आवेदन दिएका थिए । महोत्सव सकिएपनि यी ६ नाटक १० दिन निरन्तर मञ्चन हुनेछन् । महोत्सवमा नाटक हेर्न छुटाएका दर्शकका लागि मञ्चन अवधि थपिएको उनले बताए ।

ती ६ नाटकमा संयोग गुरागाईंको लेखन तथा निर्देशनमा ‘रेल्वे टु नोव्हेर’, अदन बत्री र सुशान्त बस्नेतको लेखन तथा बस्नेतकै निर्देशनमा ‘मिरर,’ श्रेया सिंहको लेखन तथा वेदना राईको निर्देशनमा ‘शिल्पिनी,’ प्रवीण तामाङको लेखन र विजय तामाङ ब्लोनको निर्देशनमा ‘नुग्धा,’ प्रितिशा अधिकारीको लेखन तथा निर्देशनमा ‘अगम’ र सागर कार्कीको लेखन तथा निर्देशनमा ‘अंकुरन’ मञ्चन भएका थिए ।

नाटकका अधिकांश शो हाउसफुल मञ्चन रहेको मण्डलाले जनाएको छ । महोत्सवमा थुप्रै विषयमा अन्तरक्रियादेखि संगीत र कविताका कार्यक्रम पनि आयोजना गरिएका थिए ।

पुसदेखि महोत्सवको तयारी सुरु भएको हो । ‘हामीले सोचेजस्तै महोत्सव भव्य रुपमा आयोजना गर्न सक्यौं । महोत्सव उदघाटनमा ४०० दर्शकको उपस्थिति थियो,’ सिलवालले भने, ‘महोत्सव गरिसकेपछि हामी युवाले आफ्ना लागि अवसर सिर्जना गर्न सक्छौं भन्ने महसुस गरेका छौं । भविष्यमा यो महोत्सव अन्तर्राष्ट्रिय स्तरको बन्दै जानुपर्छ भन्ने लाग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?