+
+

मुकुल महामन्त्रीमा फर्केलान् ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २४ गते १६:३५

२४ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगले निलम्बित महामन्त्री मुकुल ढकाललाई कारबाही सिफारिस सहितको प्रतिवेदन केन्द्रीय समितिमा बुझाएको छ ।

गत बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले एक साताका लागि महामन्त्री ढकाललाई निलम्बन गरेको थियो । उक्त बैठकले उनलाई थप कारबाही सिफारिस गर्न अनुशासन आयोगलाई निर्देशन दिएको थियो ।

ढकाललाई गरेको एक हप्ताको निलम्बनको कारबाही मंगलबार सकिँदैछ । आयोगले त्यसको दुई दिनअघि नै आइतबार आफ्नो प्रतिवेदन बुझाएको आयोगका सदस्य यज्ञमणि न्यौपानेले जानकारी गराए । ‘हामीले आइतबार प्रतिवेदन बुझाएका छौं । हामीले गरेको सिफारिसबारे पार्टीले निर्णय लिन्छ,’ आयोगका सदस्य न्यौपानले बताए ।

रास्वपाले आयोगको प्रतिवेदनमाथि छलफल गर्न मंगलबार बिहान केन्द्रीय समितिको बैठक बोलाएको छ । कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार केन्द्रीय समितिले आयोगको सिफारिसबारे निर्णय लिनेछ ।

गत बुधबार बसेको केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारणको नगरिएको भन्दै मुखमा टेप बाँधेर बसेका थिए । बैठकमा उपस्थित सबैजसो केन्द्रीय सदस्य ढकालको व्यवहार अस्वभाविक भएको भन्दै उनलाई कारबाही गर्न माग गरेका थिए ।

रास्वपा शीर्ष तहका नेताका अनुसार अब ढकाल महामन्त्री पदमा फर्किने सम्भावना छैन । ‘उहाँले बुधबार देखाएको व्यवहार र पार्टी स्थापनादेखि गरेका क्रियाकलापहरु समेटेर आयोगले प्रतिवेदन बुझाएको छ’, शीर्ष तहका एक नेता भन्छन्, ‘महामन्त्रीको पदमा रहने सम्भावना देखिन्न ।’

सिंगो केन्द्रीय समिति र पार्टीपङ्ति उनको पक्षमा नदेखिएकाले ढकाल महामन्त्री रहिरहन सक्ने अवस्था नभएको उनले बताए ।

इलामको उपनिर्वाचनपछि रास्वपाले पार्टीको अवस्था बुझेर समीक्षा प्रतिवेदन तयार गर्न ढकाललाई जिम्मेवारी दिएको थियो । त्यसपछि उनले ३८ जिल्ला पुगेर ३२ पृष्ठको समीक्षा प्रतिवेदन तयार गरेका थिए । उक्त प्रतिवेदनमा पार्टीको अवस्था राम्रो नभएको भन्दै ०८४ को चुनावमा राष्ट्रिय पार्टी पनि बन्न गाह्रो हुने निश्कर्ष प्रस्तुत गरिएको थियो ।

प्रतिवेदन पार्टीमा छलफल हुनुभन्दा पहिले नै सञ्चार माध्यममा चुहाएको भन्दै ढकालमाथि प्रश्न उठेको थियो । गत बुधबार प्रतिवेदनमाथि छलफल गर्न बोलाइएको केन्द्रीय समिति बैठक ढकालले प्रत्यक्ष प्रशारण माग गरेका थिए ।

केन्द्रीय समितिका सबैजसो सदस्यले अस्वीकार गरेपछि ढकालले मुखमा टेप टाँसेर बसेका थिए । प्रतिवेदनमाथि केन्द्रीय समितिका सबैले धारणा राखेपछि ढकाललाई बोल्न आग्रह गर्दा उनले प्रत्यक्ष प्रशारण नगरिएको कारण देखाएर बोल्न अस्वीकार गरेका थिए र बैठक छाडेर निस्केका थिए ।

ढकालले देखाएको व्यवहार पार्टी आचरण विपरीत भएको भन्दै त्यसै दिन रास्वपाले उनलाई एक हप्ताका लागि निलम्बन गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?