+

इख र आँटले ओलम्पिकसम्म पुगेका भरत

२०८१ असार  २४ गते १७:४५ २०८१ असार २४ गते १७:४५
इख र आँटले ओलम्पिकसम्म पुगेका भरत

२४ असार, काठमाडौं । पारा तेक्वान्दो खेलाडी भरत महताले आगामी सेप्टेम्बरमा फ्रान्सको पेरिसमा हुने पारालिम्पक खेल्दैछन् । तेक्वान्दो खेल्न थालेको १५ महिनामै विश्वको सबैभन्दा ठूलो खेलकुद प्रतियोगितामा छनोट भएकामा सुरुमा उनलाई पत्यार नै लागेन ।

बिहानको अभ्यासपछि उनी मामाघरमा थिए । ‘गुरुले तिमीले वाइल्ड कार्ड पायौँ भन्नुभयो । मलाई त विश्वास नै लागेन । त्यो दिन कसैलाई भनिन’, भरतले सुनाए ।

भोलिपल्ट उनी तेक्वान्दो संघको कार्यालयमा गएर पेरिस पारालिम्पिकमा आफूले भाग लिने कुरामा निश्चिन्त भएपछि मात्र घरमा फोन गरेर सुनाए । ‘आमा एकदम खुशी हुनुभयो । हिजो थाहा भएर किन लुकाइस् भन्नुभयो’, उनले भने ।

भरतले पेरिस पारालिम्पिकमा के–४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनि तौलमा प्रतिस्पर्धा गर्नेछन् । यो तौलसमूहमा जम्मा १२ खेलाडी हुनेछन् र त्यसमा छानिने भरत अन्तिम खेलाडी हुन् ।

पेरिस पारालिम्पिकमा नेपालबाट पारा तेक्वान्दोमा २ खेलाडी सहभागी हुने पक्का भएको छ । पलेसा गोबर्द्धन छनोट चरण पार गरेर पारालिम्पिकमा छनोट भइसकेकी छन् ।

भरतले पनि छनोट चरण पार गरेर ओलम्पिक पुग्ने लक्ष्य राखेका थिए तर सफल हुन सकेनन् । ‘छनोटमा स्वर्ण जितेर नै पारालिम्पिकमा पुग्ने लक्ष्य थियो । तर त्यहाँ मेरो सपना पूरा भएन’, भरतले भने, ‘मैले एउटा खेल जितेको थिएँ । त्यसपछि ८१औं वरियतामा आएँ । पहिलो प्रतियोगिता भएर अलि नर्भस पनि भएँ ।’

नर्मल तेक्वान्दोको छनोटको फाइनलमा पुग्ने दुई खेलाडी सिधै छनोट हुने प्रावधान थियो तर पारामा भने विजेता हुने खेलाडी मात्र सिधै छनोट हुन्थे ।

त्यसपछि नेपाल तेक्वान्दो संघले वाइल्ड कार्डका लागि निवेदन दिन भन्यो । भरतलगायत खेलाडीलाई भियतानाममा एसियन पारा च्याम्पियनसिप खेल्न पठाएको थियो । त्यहाँ भरतले काजाखस्तानका खेलाडीलाई जिते ।

अर्को खेलमा भने उनी एसियाका पहिलो वरियताका खेलाडीसँग हार्न पुगे । एउटा जितले उनको वरियता ५८ औं स्थानमा पुग्यो । यही वरियताले उनलाई फाइदा भयो ।

गाई फार्मदेखि ओलम्पिकसम्म

२७ वर्षीय भरत कीर्तिपुरमा आफ्नो परिवारसँग बस्छन् । परिवारमा आमा, दुईजना भाइ, दुईजना बहिनी, उनकी श्रीमती र दुई छोरा छन् । उनीहरुले गाई फार्म सञ्चालन गरेका छन् ।

दार्चुलाको अपि हिमाल गाउँपालिका- ६ का बासिन्दा भरतले राष्ट्रिय टिममा प्रशिक्षण गर्न थालेको करिब डेढ वर्ष भयो । उनले हालसम्म दुईवटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । यही दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा भरत पेरिस पारालिम्पिकका लागि छनोट भएका हुन् ।

उनलाई खेलको लगाव यस्तो लाग्यो कि उनी बिरामी हुँदासमेत अभ्यास गर्न कीर्तिपुरबाट सातदोबाटो पुग्थे । घरमा गाईलाई खानेकुरा खुवाएर, दुई घरमा दूध पुर्‍याएर उनी अभ्यास गर्न जान्थे । ‘म बिरामी भएपनि जान्थेँ । खेल्न नसकेपनि हेरेर बस्थेँ’, भरत भन्छन् ।

उनले खेलमा लागेपछि भन्दा खेल खेल्नुअघि जीवनमा धेरै संघर्ष गर्नुपर्‍यो । भरतको बायाँ हातको कुहिनादेखि तलको भाग छैन । उनी जन्मँदा नै त्यस्तै थिए । कक्षा १० सम्म उनले गाउँकै स्कुलमा अध्ययन गरे । सुरुमा उनको पढाइ राम्रो थियो ।

दाजु सशस्त्र प्रहरी बलमा भर्ती भएपछि भने उनले विद्यालयमा सहारा पाएनन् । ‘अपांग भएपछि स्कुलमा साथीभाइले हेर्नेदेखि समाजले हेर्ने दृष्टिकोणको डर थियो । त्रास थियो । त्यो मैले सामना गर्नुपर्‍यो’, उनले भने ।

भरतलाई स्कुलमा धेरै जिस्क्याउने र हेप्ने गर्न थाले भरतले पढाइमा धेरै मिहिनेत गर्न सकेनन् । ‘मानिसहरुले मानसिक रुपमा टर्चर दिन थालेपछि मैले पढ्न सकिन’, उनले भने ।

स्कुल छाडे पनि उनमा समाजमा केही गरेर देखाउने इख जन्मियो । ‘म जन्मेर आइसकेँ । अब राम्रो होस् या नराम्रो म देशका लागि केही गरेरै मर्छु भन्ने संकल्प गरेँ । ममा इख थियो’, उनी भन्छन् ।

उनी स्कुलमा हुँदा भलिबल पनि खेल्थे । एउटा हात नभएपनि उनी स्पाइकरको भूमिकामा खेल्थे । उनीसहितको टिमले स्कुलमा धेरै प्रतियोगिताहरु समेत जिते ।

नेपाली सेनामा रहेका उनको नातामा दाइ पर्ने गोबर्धन महताले काठमाडौंमा अपांगता भएकाहरुका लागि पारा खेलकुद हुन्छ भनेर सुनाए । ‘म भलिबल राम्रो खेल्थेँ । त्यो देखपछि दाइले तिमीले भलिबल खेल्छौँ । पारामा गयौँ भने तिमीले राम्रो गर्छौँ भन्नुभयो’, उनले भने ।

म ०७२ सालमा भूकम्पपछि भरत एसएलसी दिएर काठमाडौं आए । काठमाडौंमा उनले खेलकुदका लागि धेरैतिर धाए, तर खेल्न पाएनन् । ‘म जुन खेल पाए पनि खेल्छु भनेर आएको थिएँ । तर नभएपछि म घर फर्किएँ ।’

घर फर्केपछि उनको विवाह पनि भयो । गाउँमा जीवन ठीकै चलिरहेको थियो । तर घरमा भने अपांग छोराले के गर्छ कसरी जीवन चलाउँछ भन्ने चिन्ता थियो । त्यसैले उनले खेल्ने भन्दा पनि जीवन गुजारा कसरी गर्नेतर्फ ध्यान दिए । त्यसपछि उनी २०७८ सालमा फेरि काठमाडौं आए ।

खेलबारे युट्युबाट थाहा पाए

काठमाडौं आएपछि उनले एक दिन युट्युब हेरिरहेका बेला ह्विलचियरमा बसेर खेलाडीहरुले क्रिकेट खेलिरहेको देखे ।

त्यसपछि उनी त्यही खेल भइरहेको ठाउँ र आयोजकहरुलाई खोज्न हिँडे । उनी अपांग महासंघ भृकुटीमण्डपमा पुगे ।

‘भृकुटीमण्डप पुगेपछि पारा तेक्वान्दो पनि खेलिन्छ भन्ने थाहा पाएँ । पहिलेको खेलाडी सीता भण्डारी भेटेँ । उहाँ खेल हुन्छ जाऊ भन्नुभयो’, भरतले सम्झिए ।

उनी त्यसपछि सातदोबाटोस्थित तेक्वान्दो संघको कार्यालयमा पुगे । त्यसको दुई दिनदेखि नै उनको पारा तेक्वान्दो प्रशिक्षण सुरु भयो । ‘त्यहीँबाट मेरो खेल यात्रा सुरु भयो’, उनले भने ।

सुरुमा पलेशा लगायत खेलाडीहरुसँगै उनले प्रशिक्षण गरे । प्रशिषणमा निकै मिहिनेत गरे । उनलाई ठूलो खेलाडी हुन्छु भन्ने लागेको थिएन । खेल्न पाउनु नै उनको लागि ठूलो अवसर थियो ।

चीनमा पारालिम्पिकको छनोट खेल्न जानुअघि तेक्वान्दो संघका महासचिव दीपराज गुरुङले भनेका कुराबाट भरत प्रभावित भए ।

‘गुरुले हाम्रो समय सकिन लाग्यो अब तिमीहरु नै हो खेलाडी । नर्मल खेलाडी जस्तै तिमीहरुको पनि उति नै अधिकार छ । दिल खोलेर प्रशिक्षण गर्नू भन्नुभयो’, भरतले भने, ‘त्यही बेला मलाई पनि खेलाडी हुँ भन्ने महसुस भयो । मेरो मनमा पनि शक्ति आएको थियो । अनि म नेपालको खेलाडी हुँ भन्ने महसुस हुन थालेको ।’

पहिले अपांग भनेर गाउँमा भरतलाई बेवास्ता गर्नेहरुले अहिले उनको खोजी गर्छन् । ‘जिन्दगीमा अपांग भएर जन्मेपछि अहिले बल्ल खुशी हुने अवसर पाएको छु’, उनले भने, ‘यति चाँडै परिवर्तन भइरहेको छ कि कहिलेकाँही यो के हो के भइराछ जस्तो लाग्छ । अहिले मलई अपांग भाकोमा गुनासो छैन । आफ्नो सपना पूरा गर्दैछु ।’

पारालिम्पिकमा राम्रो प्रदर्शन गर्ने लक्ष्य

यसअघि दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका भरत पहिलो पटक पारालिम्पिक खेल्दैछन् । उनले यसअघि पारालिम्पिकको एसियाली छनोटमा पनि पदक जित्ने लक्ष्य राखेपनि सफल भएनन् ।

तर अहिले भने उनी पेरिस पारालिम्पिकमा पदक जित्ने लक्ष्यका साथ तयारी गरिरहेका छन् । ‘मेरो अबको सपना भनेको ओलम्पिकमा मेडल छुनु हो । ओलम्पियन हुने भन्दा पनि जसरी हुन्छ त्यहाँ राम्रो छाप छाड्ने हो’, उनले भने ।

विश्वकै ठूलो खेलमेलामा उत्कृष्ट खेलाडीहरु आउने भरतले बुझेका छन् । त्यसैले आफ्नो कमजोरी सुधार गर्दै बलियो पक्षलाई प्रयोग गर्न चाहन्छन् । ‘त्यसका लागि अझ धेरै मिहिनेत गर्नुपर्छ र गर्नेछु’, उनले भने ।

ओलम्पिक पारा तेक्वान्दो
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय