+
+
सुदूरपश्चिममा मनसुन असर :

कैलाली र कञ्चनपुरमा ३ जनाको मृत्यु हुँदा ३ बेपत्ता, १३ सय परिवार प्रभावित

जनक विष्ट जनक विष्ट
२०८१ असार २४ गते १७:५२
लगातार वर्षाका कारण डुबानमा परेको कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित रहेको घर । नदी र तटीय क्षेत्रका स्थानीयबासी डुबानका कारण बढी प्रभावित भएका छन् । तस्बिर : शेरबहादुर सिंह/रासस

२४ असार, धनगढी । अविरल वर्षासँगैको बाढी तथा डुबानका कारण कैलाली र कञ्चनपुरमा करिब १३ सय घर परिवार प्रभावित भएका छन् । कञ्चनपुरमा ११ सय बढी र कैलालीमा डेढ सय बढी परिवार गरेर झण्डै ५ हजार जना प्रभावित भएका हुन् ।

प्रहरीको तथ्यांकअनुसार मनसुनजन्य विपद्ले कञ्चनपुरका मात्रै ३ जनाको मृत्यु भएको छ भने २ जना सम्पर्कविहीन छन् । कैलालीमा एकजना बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार मृत्यु हुनेमा एकजना ७ महिने शिशु पनि छन् ।

बस्ती डुबानमा परेपछि घरभित्र जमेको पानीमा खसेर कृष्णपुर नगरपालिका–१ को पहरियामा ७ महिनाका शिशु सोनु धानुकको मृत्यु भएको थियो । यस्तै, पुनर्वास नगरपालिका–५ को घ गाउँमा जमेको पानीमा नुहाउने क्रममा डुबेर सोही ठाउँ बस्ने १५ वर्षीया सिर्जना बोगटी र १६ वर्षीया लक्ष्मी बोगटीको मृत्यु भएको छ । उनीहरुसँगै नुहाइरहेकी १६ वर्षकै आरती बोगटी बेपत्ता भएकी छन् ।

चौदारा नदीमा माछा मार्ने क्रममा बेलडाँडी गाउँपालिका–३ का २३ वर्षीय डम्मर चौधरी बगेर बेपत्ता भएका छन् । उनको खोजी भइरहेको छ तर अहिलेसम्म अवस्था अज्ञात रहेको छ ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) उमेश जोशीले भीमदत्त नगरपालिका, दोधाराचाँदनी नगरपालिकासहितका ठाउँमा गरेर एक हजार ११२ परिवार बाढी र डुबानबाट प्रभावित भएको जानकारी दिए । उनकाअनुसार प्रभावित परिवारका ४ हजार १६५ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

लगातार वर्षाका कारण डुबानमा परेको कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्र। नदी र तटीय क्षेत्रका स्थानीयबासी डुबानका कारण बढी प्रभावित भएका छन् । तस्बिर : शेरबहादुर सिंह/रासस

डीएसपी जोशीले बाढी तथा डुबानबाट आशिंक तथा पूर्णरुपमा प्रभावित भएकाहरुलाई सुरक्षित स्थानमा सारिएको बताए । अर्को व्यवस्था नभएसम्मका लागि उनीहरुलाई विद्यालय, स्थानीय स्तरमा रहेका सामुदायिक भवन र आफन्तको घरमा व्यवस्थापन गरिएको छ ।

कञ्चनपुरको तुलनामा कैलालीमा बाढी तथा डुबानले कम क्षति गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले पूर्वी कैलालीका भजनी नगरपालिका, जोशीपुर गाउँपालिका र टीकापुर नगरपालिका क्षेत्रमा बाढी तथा डुबानले क्षति गरेको बताए ।

यस्तै, धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकाका केही बस्तीमा समेत क्षति गरेको छ । प्रहरीका अनुसार आइतबार कैलारी गाउँपालिका–९ का १८ वर्षीय अजय राना भुररा नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् । उनको अवस्था अझै अज्ञात छ ।

यो बाहेक जिल्लामा थप मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । डीएसपी जोशीका अनुसार जिल्लाभर डेढ सय परिवार बाढी तथा डुबानका कारण प्रभावित करिब ८ सय जनालाई सुरक्षित स्थानमा सारिएको थियो ।

सोमबार दिउँसोदेखि पानी पर्ने क्रम रोकिएका कारण अवस्था सामान्य हुन थालेसँगै केही मानिसहरु घर फर्किन थालेका छन् ।

वर्षाका कारण कञ्चनपुरमा पूर्वपश्चिम राजमार्गमा रहेको कल्भर्ट भासिएपछि केहीवेर अवरुद्ध भएको यातायात सेवा सञ्चालनमा आएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार वैकल्पिक मार्गको प्रयोग गरेर सवारीसाधन सञ्चालनमा ल्याइएको हो ।

यो बाहेक दार्चुला, बैतडी, बझाङ र डडेल्धुरामा अवरुद्ध राजमार्ग एकतर्फी रुपमा सुचारु भएको प्रदेश ट्राफिक प्रहरी कर्यालयले जनाएको छ ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?