+
+

काठमाडौंको सामुदायिक विद्यालयको एसईई नतिजामा सुधार

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २४ गते १८:१२

२३ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सामुदायिक विद्यालयहरुको नतिजामा धेरै सुधार आएको दाबी गरेको छ ।

यस वर्ष महानगरभित्रका सामुदायिक विद्यालयबाट तीन हजार ९६१ जना परीक्षार्थीले एईई दिएकामा तीन हजार ८८ जना उत्तीर्ण भएका छन् । महानगरले पछिल्लो ३ वर्षको नतिजाको तुलनात्मक विवरण तयार पारेको छ, जसमा उच्च जीपीए ल्याउने विद्यार्थीको संख्या बढ्दै गएको छ ।

काठमाडौं महानगरको शहरी योजना आयोगका सदस्य शैलेन्द्र झा महानगरपालिकाले सञ्चालन गरेका शैक्षिक सुधारका कार्यक्रमका कारण नतिजा राम्रो आएको बताए ।

‘नतिजाले हामीलाई हौस्याएको छ’, उनले भने, ‘प्रयास गर्दा गर्दै पनि केही समस्याहरु देखिएका छन् । चालु शैक्षिक वर्षमा अझ सुधार गर्छौं ।’

चालु शैक्षिक सत्रमा २ जीपीए भन्दा कम ल्याउनेको संख्या कम गर्न विशेष कार्यक्रम ल्याइने उनको भनाइ छ । गणित, विज्ञान, अर्थशास्त्र र सामाजिक अध्ययनमा नतिजा कमजोर देखिएकाले यो शैक्षिक वर्षमा त्यसमा सुधार गर्न केन्द्रित हुने इन्जिनियर झाले बताए ।

गत वर्ष पनि महानगरपालिकाले विद्यालयहरुमा आवश्यकता अनुसार २ देखि ३ महिनासम्म गणित, विज्ञान र अंग्रेजी विषयका लागि विशेष कक्षा सञ्चालन गर्न अनुदान रकम दिएको थियो ।

प्रिन्सिपल एसोसिएसन अफ नेपालका अध्यक्ष तथा शान्ति शिक्षा मावि थहिंटीका प्रधानाध्यापक सुदाम गौतमले विद्यालयको शैक्षिक गुणस्तर उकास्न गरिरहेको प्रयास एसईई नतिजामा देखिएको बताए ।

‘महानगरले शैक्षिक गुणस्तर उकास्न शिक्षकलाई तालिम, बुक फ्री फ्राइडेबाट सिर्जनात्मक सिकाइ अभ्यास, विभिन्न विषयमा उपचारात्मक कक्षा, पर्याप्त अनुगमन, दिवा खाजा थप जस्ता कार्यक्रम ग¥र्यो जसको प्रभाव नतिजामा देखिएको छ’, उनले भने ।

शिक्षकको दक्षता अभिवृद्धि, पुस्तकरहित शुक्रबारको पाठ्यक्रम विकास, अनुसन्धानमा आधारित कार्य योजना, त्यसको कार्यान्वयन, नतिजा र प्रभावको मूल्यांकन आदि कामका लागि महानगरपालिकाले काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा सञ्चालन भएको ‘टिचर कलेज कार्यक्रम’ सञ्चालन गरेको छ ।

एनजी ल्याउने विद्यार्थीका लागि कक्षा सञ्चालन

काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीहरुका लागि एसईई पूरक परीक्षाको तयारी कक्षा सञ्चालन गरेको छ । २०८० सालको एसईईको नतिजाका आधारमा कक्षा ११ भर्ना हुन नपाउने ८७३ जनाका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिएको हो ।

विद्यार्थीहरुलाई स्रोत केन्द्रमा क्याम्प राखेर आइतबारदेखि कक्षा सुरु गरिएको महानगरले जनाएको छ । ‘यी कक्षाहरु पास गराउन भन्दा पास गराउने वातावरण तयार गर्नका लागि हुन्’, सहरी योजना आयोगका सदस्य शैलेन्द्र झा भन्छन्, ‘पास गराउन पाठ पढाउनका साथै पास गराउने वातावरण तयार गर्ने र विद्यार्थीलाई केही बिग्रिएको छैन भनेर उत्साहित गराउँदै सिकाइमा सहभागी गराइन्छ ।’

परीक्षा दिने विद्यार्थीलाई खानाको समेत व्यवस्था गरिएको छ । ११ वटा स्रोत केन्द्रमा दैनिक करिब ७० वटा कक्षा चल्ने र विद्यार्थीको अनुकुलता र विषय हेरेर कक्षा संख्या बढ्न सक्ने उनले बताए ।

एनजी ल्याउने सबैभन्दा धेरै ४५९ जना विद्यार्थी गणित विषयमा अनुत्तीर्ण भएका छन् । यसपछि अर्थशास्त्रमा २१९ जना, विज्ञानमा २६६ जना, सामाजिकमा १८९ जना, नेपालीमा ११६ जना, अंग्रेजीमा ९१ जना, लेखामा ७० जना, अप्सनल म्याथमा ५८ जना, कम्प्युटरमा २० जना, जनसंख्यामा ८ जना अनुत्तीर्ण भएका छन् ।

इलेक्ट्रिकल मेसिन विषयमा ४ जना, भूगोलमा ३ जना, बेसिक इलेक्ट्रिकलमा ३ जना, इन्डष्ट्रियल इन्स्टलेसनमा २ जना, इलेक्ट्रिकल इञ्जिनियरिङ्मा १ जना र वातावरण विज्ञानमा १ जना रहेका छन् ।

कक्षामा व्यक्तिगत परामर्श, पियर लर्निङ (दुई जनाका बीचमा हुने अन्तर्क्रियात्मक सिकाइ) र समूहगत सिकाइ जस्ता विधि अबलम्बन गरेर कक्षा सञ्चालन हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?