+
+

कञ्चनपुरमा ‘रेकर्ड ब्रेक’ वर्षा, कारण के होला ?

विनोद घिमिरे विनोद घिमिरे
२०८१ असार २४ गते २१:०४

२४ असार, काठमाडौं । सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा २४ घण्टाको अवधिमा नेपालको इतिहासकै सबैभन्दा बढी वर्षा रेकर्ड भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कञ्चनपुरको दाेधारास्थित स्वचालित वर्षा मापन केन्द्रमा चौबीस घण्टाको अवधिमा ६२४ मिलिमिटर वर्षा रेकर्ड भएको छ । यो नेपालमा वर्षा मापन थालेयताकै सबैभन्दा धेरै वर्षाको रेकर्ड हो ।

यसअघिसम्म नेपालको सबैभन्दा धेरै वर्षा २०७४ साल साउन २९ गते (१३ अगष्ट २०१७) मा  मकवानपुरको टिस्टुङमा भएको थियो । विभागको रेकर्ड अनुसार त्यतिबेला ५१६.२ मिलिमिटर वर्षा मापन भएको थियो ।

यसैगरी भूसंरक्षण विभागको तथ्यांक अनुसार २०५० साल साउन ५ गते (२० जुलाई १९९३) मकवानपुरको टिस्टुङ वर्षा केन्द्रमै ५४० मिलिमिटर वर्षा मापन भएको थियो ।

वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेलले भनिन्, ‘कञ्चनपुरको दाेधारामा ६२४ मिलिमिटर वर्षा मापन भएको छ । यो रेकर्ड ब्रेकिङ वर्षा हो ।’

दोधारामा यसअघि वर्षा मापन केन्द्र थिएन । दोधारामा २०८० फागुन १२ गतेमात्र स्वचालित स्टेसन जडान गरिएको थियो । त्यसैले अघिल्ला वर्ष त्यहाँ कति वर्षा हुन्थ्यो भन्ने थाहा छैन । त्यसैले अहिलेकै वर्षालाई मौसमविद्हरुले ‘रेकर्ड ब्रेकिङ’ मानेका हुन् ।

आइतबार राति करिब ८ बजेदेखि सोमबार बिहान २ बजेसम्मको अवधिमा कञ्चनपुरमा अत्यधिक भारी वर्षा भएको थियो । वर्षाको प्रकृति हेर्दा र प्रारम्भिक विश्लेषण गर्दा त्यो ‘क्लाउड ब्रस्ट’ (आरी घोप्टे) वर्षा जस्तो देखिए पनि  एकिनका साथ भन्न नसकिने डा. कँडेल बताउँछिन् । ‘प्रारम्भिक विश्लेषणअनुसार वर्षाको प्रकृति र मात्रा हेर्दा कञ्चनपुर जिल्लामा विशेषगरी दोधारा, सुन्दरपुर तथा हनुमाननगर आसपासमा क्लाउड ब्रस्ट वर्षा भएको जस्तो देखिन्छ,’ कँडेल भन्छिन्, ‘यसबारे विभागले थप अध्ययन गरिरहेको छ ।’ वैज्ञानिक अध्ययन नगरी ठोकुवाका साथ आरी घोप्टे वर्षा भनेर भन्न नसकिने उनको भनाइ छ ।

कञ्चनपुरमा किन यति धेरै वर्षा भयो ?

वरिष्ठ मौसमविद् डा. कँडेलका अनुसार कञ्चनपुरका हनुमाननगर र सुन्दरपुर स्टेसनमा पनि अति भारी वर्षा रेकर्ड भएको छ । हनुमाननगरमा ५७३.६ र सुन्दरपुरमा ५५६.४ मिलिमिटर वर्षा मापन भएको छ ।

हनुमाननगरमा यसअघि २०५७ साल असार १७ गते (१ जुलाई २०००) मा ५०० मिलिमिटर वर्षा भएको रेकर्ड छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले यसअघि नै विशेष बुलेटिन जारी गरेर मनसुन न्यून चापीय रेखा नेपाल नजिक सरेकाले अति भारी वर्षा हुने जानकारी दिएको थियो ।

पूर्वानुमान अनुसार नै केही दिनदेखि देशभर नै वर्षा भइरहेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा अति भारी वर्षा भएको थियो । तीन दिन अघि पाल्पाको कुमालगाउँमा २४ घण्टामा ४०८.२ मिलिमिटर वर्षा रेकर्ड भएको थियो ।

दुई-तीन दिनसम्म गण्डकी र लुम्बिनी प्रदेशमा केन्द्रित भएको वर्षा त्यसपछि सुदूरपश्चिम र कर्णालीको तल्लो भूभागमा केन्द्रित भएको थियो । तर कञ्चनपुरमा यति धेरै वर्षा होला भन्ने संकेत महाशाखालाई थिएन ।

‘त्यो ठाउँमा रेकर्ड ब्रेकिङ वर्षा हुन्छ भन्ने हामीलाई पनि थाहा थिएन । किनभने स्थान विशेष पूर्वानुमान गर्न सक्ने प्रविधि हामीसँग छैन,’ वरिष्ठ मौसमविद शान्ति कँडेल भन्छिन्, ‘कञ्चनपुरमा किन अत्यधिक वर्षा भयो भन्ने थप अध्ययन अनुसन्धानको विषय हो ।’

मनसुन न्युनचापीय प्रणाली र स्थानीय स्तरमा बनेको अर्को छुट्टै प्रणालीको संयुक्त प्रभावले अत्यधिक वर्षा भएको अनुमान छ ।

‘असामान्य वर्षा’

भूगर्भविद एवम् त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ क्याम्पस पुल्चोकका प्राध्यापक डा.बसन्तराज अधिकारी कञ्चनपुरमा ‘असामान्य’ वर्षा भएको र त्यसले बाढी-पहिरो र डुबान जस्ता विपत्ति निम्त्याएको बताउँछन् ।

‘हुन त पहिला पनि जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको थियो तर कञ्चनपुरको वर्षा एकदमै असामान्य देखियो,’ डा. अधिकारी भन्छन्, ‘मनसुनमा एकै ठाउँमा, यति छिटो, यति धेरै वर्षा हुनुचाहिँ अस्वाभाविक नै देखिन्छ ।

यो वर्षाले परशुराम, चाँदनी, दोधारा लगायत स्थानमा एकदमै ठूला असर गरेको पाइएको उनी बताउँछन् । त्यहाँका  बस्तीहरु जलमग्न छन् । केहीको मृत्यु भएको छ ।

डा. अधिकारी जलवायु परिवर्तनको असरका कारण यस्तो वर्षा भएको हुनसक्ने अनुमान गर्दै भन्छन्, ‘यस्ता किसिमका असामान्य प्रकृतिका मौसमी घटनाहरु जलवायु परिवर्तनको सम्भावनासँग जोडिएका हुनसक्छन् भनेर विश्वभरका वैज्ञानिकहरुले भनिरहेका छन् । तर कञ्चनपुरको घटना जलवायु परिवर्तनसँग नै सम्बन्धित छ भनेर मैले चाहिँ ठोकुवा गर्न सक्दिनँ ।’’

स्थानीय प्रशासनका अनुसार अविरल वर्षाका कारण कञ्चनपुरमा ११ सय बढी र कैलालीमा डेढ सय बढी परिवार प्रभावित भएका हुन् ।

प्रहरीको तथ्यांकअनुसार मनसुनजन्य विपद्ले कञ्चनपुरका मात्रै ३ जनाको मृत्यु भएको छ भने २ जना सम्पर्कविहीन छन् । कैलालीमा एकजना बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार मृत्यु हुनेमा एकजना ७ महिने शिशु पनि छन् ।

जल तथा मौसमविदहरुका अनुसार मनसुन अवधि नसकिएकाले वर्षा हुने दिनहरु पनि बाँकी छन् । त्यसैले यस्तै वा योभन्दा पनि ठूला वर्षा नहोला भन्न सकिंदैन ।

लेखकको बारेमा
विनोद घिमिरे

घिमिरे अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?