+

युरो सेमिफाइनलमा स्पेन र फ्रान्स भिड्दै, यस्तो छ इतिहास

२०८१ असार  २५ गते ८:१३ २०८१ असार २५ गते ८:१३
युरो सेमिफाइनलमा स्पेन र फ्रान्स भिड्दै, यस्तो छ इतिहास

२५ असार, काठमाडौं । युरो २०२४ को पहिलो सेमिफाइनलमा आज पूर्व विजेताद्वय स्पेन र फ्रान्सबीच हेभिवेट भिडन्त हुँदैछ । खेल नेपाली समय अनुसार राति १२:४५ बजे म्युनिखस्थित म्युनिख फुटबल एरेनामा हुनेछ ।

स्पेनले क्वाटरफाइनलमा आयोजक जर्मनीलाई हराएर आएकोले उच्च मनोबलमा सेमिफाइनल खेल्दैछ । मिकेल मेरिनोले अतिरिक्त समयको पनि अन्तिममा निर्णायक गोल गरेपछि स्पेनले जर्मनीलाई २-१ ले पराजित गरेको थियो ।

उता फ्रान्सले क्वाटरफाइनलमा पोर्चुगललाई पेनाल्टी सुटआउटमा ५-३ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो ।

दुई पूर्वविजेता बीचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा छ ।

दुई टोलीको तुलना गर्दा स्पेनले जारी युरोमा अहिलेसम्म ११ गोल गरिसकेको छ भने जम्मा दुई गोल मात्र बेहोरेको छ ।

उता फ्रान्स गोल गर्न नै संघर्षरत छ । फ्रान्सले अहिलेसम्म गरेको दुई गोलमा एउटा पेनाल्टीबाट सम्भव भएको थियो भने अर्को आत्मघाती गोल उपहार पाएको थियो । स्टार कप्तान केलिएन एमबाप्पे सुरुमै नाकको चोटबाट गुज्रिनु र अन्य खेलाडीहरुले पनि अपेक्षा अनुसार प्रदर्शन गर्न नसक्दा फ्रान्स गोल गर्न फिक्का देखिएको छ ।

उता स्पेनका मिडफिल्डर चोटका कारण युरोबाटै बाहिरिएपछि फ्रान्सविरुद्धको खेल गुमाउनेछन् ।

स्पेन १२ वर्षपछि युरो फाइनलमा पुग्ने लक्ष्यमा छ भने फ्रान्स पछिल्लो ८ वर्षमा चौथो पटक मुख्य प्रतियोगिताको फाइनल पुग्ने लक्ष्यमा छ । फ्रान्सले सन् २०१८ मा फिफा विश्वकपको उपाधि जितेको थियो भने २०१६ मा युरो फाइनल र २०२२ मा विश्वकप फाइनल खेलेको थियो ।

स्पेन र फ्रान्स मुख्य प्रतियोगितामा एकआपसमा प्रतिस्पर्धा गर्न लागेको यो छैटौंपटक हो । यसअघिका पाँचमध्ये तीन खेल फ्रान्सले जितेको छ । सन् १९८४ को युरो फाइनल, २००० को युरो क्वाटरफाइनल र २००६ को विश्वकपको प्रिक्वाटरफाइनलमा फ्रान्सले स्पेनलाई पराजित गरेको थियो ।

यस्तै स्पेनले एक खेल जितेको छ । स्पेनले सन् २०१२ को युरो क्वाटरफाइनलमा स्पेनले फ्रान्सलाई पराजित गरेको थियो । १९९६ को युरोको समूह चरणमा भने यी दुई टोलीले बराबरी खेलेका थिए ।

स्पेन र फ्रान्स दुवै छैटौं पटक युरो सेमिफाइनल खेल्दैछन् ।

संयोग के छ भने भने यी दुई टोलीबीच नकआउट खेल जसले जित्छ त्यही टिमले नै अन्तिममा गएर उपाधि जितेको इतिहास छ ।

समग्रमा यी दुई टोलीबीच अहिलेसम्म ३६ खेल भएको छ । जसमा स्पेनले १६ र फ्रान्सले १३ खेल जितेका छन् भने ७ खेल बराबरीमा सकिएको छ । यसमा स्पेनले ६४ गोल गर्दा फ्रान्सले ३९ गोल गरेको छ ।

स्पेन र फ्रान्सको सेमिफाइनल यात्रा यस्तो छ

स्पेन

स्पेनले समूह चरणमा तीनवटै खेल जितेको थियो । समूह बी को विजेता बन्ने क्रममा स्पेनले क्रोएसियालाई ३-० ले, साविक विजेता इटली र अल्वानियालाई समान १-० ले पराजित गरेको थियो ।

यस्तै अन्तिम १६ मा नवप्रवेशी जर्जियाविरुद्ध पहिलो गोल खाए पनि स्पेन ४-१ ले विजयी भएको थियो भने क्वाटरफाइनलमा आयोजक जर्मनीलाई   २-१ ले हराएको थियो ।

युवा फरवार्ड लामिन यामल निको विलियम्स जस्ता खेलाडीले स्पेनका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । मिडफिल्डर रोड्रिले स्पेनको मिडफिल्ड सम्हाल्नेछन् ।

स्पेनका लागि डानी ओल्मो र फाबियन रुइज २-२ गोल गरेका छन् ।

स्पेनले जर्मनीसँगै सर्वाधिक ३ पटक युरो उपाधि जितेको छ र चौथो पटक च्याम्पियन बन्दै सर्वाधिक सफल टोली हुने लक्ष्यमा छ ।

स्पेनले सन् १९६४ म पहिलो पटक युरो जितेको थियो । यस्तै यो शताब्दीमा स्पेनले सन् २००८ र २०१२ मा लगातार उपाधि जितेको थियो ।

फ्रान्स

फ्रान्स समूह डी को उपविजेता बन्दै नकआउट चरण पुगेको थियो । उपाधिको बलियो दाबेदार रहेपनि फ्रान्सले समूह चरणमा त्यस अनुसार प्रदर्शन गर्न सकेन ।

आत्मघाती गोलको मद्दतमा अष्ट्रियाविरुद्ध पहिलो खेलमा १-० को कठिन जित निकालेको फ्रान्सले त्यसपछि नेदरल्याण्ड्ससँग गोलरहित बराबरी र पोल्याण्डविरुद्ध १-१ को बराबरी खेलेको थियो । यसै खेलमा एमबाप्पेले पेनाल्टीमार्फत गोल गरेका थिए ।

यस्तै अन्तिम १६ मा बेल्जियमविरुद्ध १-० ले विजयी हुँदा पनि आत्मघाती गोलकै सहारा लिएको थियो ।

नियमित समयमा गोल गर्न संघर्षरत फ्रान्सले क्वाटरफाइनल पोर्चुगलविरुद्ध १२० मिनेट गोलरहित बराबरी खेलेपछि पेनाल्टीसुटआउटमा ५-३ ले विजयी भएको थियो ।

फ्रान्सले अहिलेसम्म जम्मा ३ गोल गर्दा दुई गोल उपहार पाएको छ भने एमबाप्पेले पेनाल्टीमा एक गोल मात्र गरेका छन् ।

एमबाप्पे नै टिमको मुख्य खेलाडी भएपनि नाकमा लागेको चोटका कारण उनले अहिले मास्क लगाएर खेल्नुपरेको छ । जसले गर्दा उनको खेलमै असर पुगेको देखिन्छ ।

फ्रान्सले अहिलेसम्म दुईपटक युरो उपाधि जितेको छ । तर, २४ वर्षदेखि उपाधि जित्न सकेको छैन । फ्रान्स १९८४  र २००० मा युरो च्याम्पियन बनेको थियो ।

फ्रान्स युरो २०२४ स्पेन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय