+
+

‘रुसी सेनामा भर्ती भएका भारतीयलाई रिहा गर्न पुटिन सहमत’

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २५ गते १०:४५

२५ असार, काठमाडौं । रुसी सेनामा भर्ती भएका भारतीय नागरिकलाई फिर्ता गर्न रुस सहमत भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

समाचारमा दाबी गरिएअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अनुरोधमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन रुसी सेनामा भर्ती भएका भारतीयलाई फिर्ता गर्न सहमत भएका हुन् ।

दुई दिने भ्रमणका लागि मोदी सोमबार रुस पुगेका थिए । पुटिनसँग भएको भेटवार्तामा मोदीले रुसी सेनामा भर्ती भएका भारतीय नागरिकको सुरक्षाबारे छलफल गरेका थिए । सो क्रममा पुटिनले रुसी सेनामा रहेका भारतीय नागरिकलाई फर्काउन सहमति जनाएको र त्यो काममा सहजीकरण गर्ने बताएको स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआईले जनाएको छ ।

हालै भारतीय विदेश मन्त्रालयले रुसी सेनामा कार्यरत चार भारतीय नागरिकको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको थियो । रुसी सेनामा दुई दर्जन बढी भारतीय नागरिक भर्ती भएको अनुमान छ । १० जना भारतीय नागरिक भने फर्किएका थिए ।

सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछिको मोदीको यो पहिलो रुस भ्रमण हो । त्यसअघि उनले सन् २०१९ मा रुसको भ्रमण गरेका थिए ।

रुस भारतमा तेल र हतियारको प्रमुख आपूर्तिकर्ता हो । यद्यपि पश्चिमा देशले रुसलाई प्रतिबन्ध लगाएको र चीनसँग रुसको बढ्दो निकटताले भारत–रुस सम्बन्धमा प्रभावित पार्नसक्ने चिन्ताबीच मोदीको यो भ्रमणलाई चासोका साथ हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?