+
+

तानसेनमा एकसाथ देखिए राजेश र धीरेन, घुमे पुर्ख्यौली थलो

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २५ गते १२:००

काठमाडौं । राजेश हमाल र धीरेन शाक्य एकसाथ देखिनु ‘दुर्लभ’ अवसर हो । यी दुई अभिनेता फ्रेममा एकसाथ नदेखिएको वर्षौं भइसक्यो । सार्वजनिक समारोहमा समेत यी दुईलाई एकसाथ देख्न पाइँदैन ।

२८ वर्षअघि रिलिज भएको सुपरहिट फिल्म ‘सिमाना’मा यी दुई अभिनेताको चर्चा र गसिप निकै चल्यो । त्यसयता पनि यी दुईबीच हार्दिक सम्बन्ध नभएको हल्ला चल्न छाडेको छैन । दशकपछि यी दुईलाई एकसाथ देखिएको छ ।

यसपटक यी दुई जना गृहजिल्लामा एकसाथ देखिए । पाल्पा तानसेनस्थित पद्म पब्लिक नमुना माविको एक कार्यक्रममा यी दुवै जना एकसाथ सम्मानित भए र मिडियासँग एकसाथ तस्वीर खिचाए ।

तानसेन नगरपालिकाले यी दुईलाई आइतबार स्वागत राखेको थियो । सोमबार उक्त विद्यालयले यी दुईलाई सम्मान प्रदान गरेको थियो, जहाँ यी दुई सहभागी भए ।

राजेश हमालका बुवा चुडाबहादुर हमाल उक्त विद्यालयका पूर्वप्रधानाध्यापक थिए । हमालका छोराको रुपमा राजेश र पूर्वविद्यार्थीको रुपमा धीरेनलाई विद्यालयले सम्मान प्रदान गरेको हो ।

सम्मान ग्रहणपछि कुरा गर्दै हमालले आफू सो विद्यालयमा आउने धोको पूरा भएको बताए । उनका बुवा चुडाबहादुर उक्त विद्यालयमा प्रधानाध्यापक हुँदा राजेश जन्मिएका थिए । त्यसको १० महिनामै उनी काठमाडौं आएका थिए ।

राजेश र धीरेनले स्कुलअघि फोटो खिचाए । सँगै तानसेन बजार घुमे । यी दुईलाई पाल्पामा जमघट गराउने काम चाहिं सामाजिक अभियन्ता सन्दीप रानाले गरेका हुन् । ‘यात्रा नेपाल’ नामक डकुमेन्ट्री बनाउने क्रममा यी दुईजना त्यहाँ पुगेका हुन् ।

राजेश र धीरेनले सिमाना, भीष्म प्रतिज्ञा, अर्जुन फिल्ममा सहकार्य गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?