+

क्यान्सरको उपचार गर्न किन भारत गइरहेका छन् बिरामी ?

२०८१ असार  २५ गते १४:२७ २०८१ असार २५ गते १४:२७
क्यान्सरको उपचार गर्न किन भारत गइरहेका छन् बिरामी ?

काठमाडौं । ललितपुरको भैंसेपाटी निवासी शारदा खड्का (नाम परिवर्तन)को गाला एक्कासि सामान्य भन्दा रातो हुन थाल्यो । उनीहरुले त्यसलाई खासै वास्ता गरेनन् । त्यसको केही महिनापछि एक दिन समय मिलाएर शारदा र उनका श्रीमान् होलबडी चेकअपको लागि अस्पताल पुगे । अस्पातलमा होलबडी चेकअप गरेर घर फर्किए दुई दिनपछि रिपोर्ट आयो । रिपोर्टमा थाइराइडको समस्या देखियो र हेमोग्लोबिनको मात्रा पनि असाध्यै बढी देखियो ।

त्यसपछि त्यो रिपोर्ट देखाउन डा. अंशुमली जोशीकहाँ पुगे । डा. अंशुमलीले अर्का चिकित्सक डा. अजयकुमार झालाई भेट्ने सल्लाह दिए । सल्लाहअनुसार उनले डा. अजयलाई भेटे रक्तक्यान्सर हुनसक्ने अनुमान सहित थप जाँच गर्नुपर्ने बताए । थप जाँचको नमुना परीक्षण गर्न भारत पठाउनुपर्ने र रिपोर्ट आउन तीन-चार दिन लाग्ने उनले थाहा पाए ।

रिपोर्ट आउन धेरै दिन लाग्दा समस्या झन् बढ्ने पो हो कि भनेर शारदा र उनको परिवार डराए । यता जाँच गरेर रिपोर्ट कुर्नु भन्दा बरु आफैं भारत गएर परीक्षण गराउने सोचसहित उनीहरु भारत गए ।

शारदा भन्छिन्, ‘नेपालमा क्यान्सरको सम्पूर्ण परीक्षण हुँदैन रहेछ । परीक्षणका लागि स्पाम्पल भारत नै पठाउनुपर्ने रहेछ र रिपोर्ट आउन पनि पाँच दिनदेखि एक हप्ता लाग्ने रहेछ । यस्तोमा त आफैं भारत गएर परीक्षण र उपचार गर्न सहज भयो ।’

त्यस्तै काठमाडौंको कपन निवासी शर्मिला न्यौपाने (नाम परिवर्तन)लाई पेट दुख्ने समस्याले सताइरहन्थ्यो । समस्या बढ्दै गएपछि उनी स्वास्थ्य जाँचका लागि चावहिलस्थित ओम अस्पताल पुगिन् ।

केही दिनपछि स्वास्थ्य जाँचको सम्पूर्ण रिपोर्ट आयो । उनलाई पाठेघरको मुखको क्यान्सर देखार्‍यो । आफूलाई क्यान्सर भएको थाहा पाउँदा एकछिन त उनी अचेत भइन् । त्यसपछि आफूलाई सम्हालिन र घर गएर परिवारलाई सबै कुरा बताइन् । परिवारका सदस्यले उपचारका लागि भारत जाने सल्लाह दिए । तर उनी भने नेपालमा नै उपचार गराउन चाहन्थिन् ।

नेपालमै उपचार गर्ने सोचले उनी क्यान्सरको अस्पताल गइन् । तर त्यहाँको भिडभाड र ढिलाइले उनलाई निराश बनायो । त्यसैले उनले परिवारको सल्लाहअनुसार भारत नै गएर उपचार गर्ने निर्णय गरिन् । नेपालमै क्यान्सरको उपचारका लागि आवश्यक जनशक्ति, प्रविधि र पद्धति उपलब्ध रहेको चिकित्सक र विज्ञहरूले बताउँछन् ।

तर पनि क्यान्सरको उपचार गर्न भारत, अमेरिका वा युरोपेली देशहरू धाउने बिरामीको संख्या उल्लेख्य रहेको पनि चिकित्सकहरू बताउँछन् । ‘क्यान्सर’ भयावह रोग, जसको उपचार महंगो मात्र नभई कतिपय अवस्थामा असम्भव हुने गर्छ ।

क्यान्सरको उपचार नेपालमा नै सम्भव छ भनेर चिकित्सक र अस्पतालले भनिरहेका छन् । तर पनि धेरै नेपाली क्यान्सरको उपचारका लागि भारत लगायत देश जाने गर्छन् ।

कारण के ?

क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही भन्छन्, ‘मान्छेको स्वभाव नै सबैभन्दा राम्रो कुरा खोज्ने हुन्छ । उपचार पनि राम्रो नै होस् भन्ने लागिहाल्छ । नेपाल धेरै कुरामा भारतमा निर्भर छ । स्वास्थ्य क्षेत्रमा पनि  हामीभन्दा केही गुणा विकसित नै छ भारत । त्यसैले पनि राम्रो विकल्प खोज्नका लागि बिरामी बाहिरिने गर्छन् ।’

क्यान्सरको उपचारको कुरा गर्दा क्यान्सरको रोबटिक सर्जरी, बोनम्यारो ट्रान्सप्लान्ट नेपालमा निकै कम हुन्छ । त्यसैले पनि केहि बिरामी क्यान्सरको उपचारका लागि भारत जाने गरेको डा. शाही बताउँछन् ।

डा. अरुण शाही

 ‘नेपालमा शल्यक्रिया गर्न समय कुर्नुपर्छ, एउटा अस्पतालमा शल्यक्रिया भयो, किमोथेरापी भयो अनि रेडियो थेरापी गर्न अरू नै अस्पताल जानुपर्छ त्यसैले बिरामीलाई गाह्रो हुन्छ,’ डा. शाही भन्छन्, ‘तर भारतमा एउटै छातामुनि सबै उपचार पाइन्छ । त्यसैले पनि केहि बिरामीको रोजाइमा भारत पर्ने गरेको छ ।’

नेपालका अस्पतालहरूमा चिकित्सा सेवा बाहेकको अन्य सुविधा नपाएर पनि बिरामीहरू बाहिर गइरहेको डा. शाही बताउँछन् ।

त्यस्तै स्वास्थ्यकर्मीले आफूकहाँ उपचार सम्भव नभएका बिरामीलाई नेपालमै रहेका अन्य चिकित्सक वा स्वास्थ्य संस्थामा पठाउनुको साटो भारत पठाउने प्रवृत्ति पनि बढ्दो रहेको रगत तथा क्यान्सर रोग विशेषज्ञ डा. अजयकुमार झा बताउँछन् ।

‘नेपालमा भएको सेवाबारे जानकारी दिनुको साटो विदेश रेफर गरिदिने चिकित्सकहरू पनि धेरै छन् । त्यसो गर्नुमा बिचौलियाहरूको पनि भूमिका हुनसक्छ,’ उनी भन्छन् ।

नेपालमा क्यान्सरको उपचार सेवा एकदमै सीमित ठाउँमा मात्र छ । भएका अस्पतालमा पनि पर्याप्त मात्रामा स्रोत साधन छैनन् । जसले गर्दा धेरै क्यान्सर पत्ता लगाउन नै गाह्रो छ र उपचारमा ढिलाइ पनि हुन्छ । त्यसैले पनि बिरामीहरू क्यान्सरको उपचार गर्न विदेशिने गरेको डा. झा बताउँछन् ।

‘सिधै रेफर हुने बिरामी वा उनीहरूका आफन्तले नेपालको उपचार पद्धतिबारे थाहा नै पाउँदैनन् । त्यसपछि उनीहरूसँग नयाँ बिरामीले अनुभव बुझ्न खोज्दा स्वतः विदेशकै सुनाउँछन् र विदेश नै जानुपर्ने रहेछ भन्ने विश्वास स्थापित हुन्छ,’ उनी भन्छन्, ‘जसले गर्दा क्यान्सरको उपचारको लागि बिरामीहरूको पहिलो रोजाइ नै भारत लगायतका देश हुने गरेको छ ।’

डा. अजयकुमार झा

नेपालको स्वास्थ्य प्रणाली र उपलब्ध सेवाप्रति अविश्वासको कारण र लहैलहैका कारण पनि धेरै मानिस क्यान्सरको उपचारका विदेश जाने गरेको डा. बताउँछन् ।

‘क्यान्सर भन्नासाथ मानिस भावनात्मक रूपमा बहकिन्छन् । त्यसमाथि हाम्रा नेता र धनी मानिसहरू उपचारका लागि विदेश नै गएको देखेर पनि सर्वसाधारण पनि मनोवैज्ञानिक रूपमा प्रभावित हुन्छन्,’ उनी भन्छन्, ‘नेपालबाट बिरामी बाहिर जाने कारण यहाँ पालो कुर्नुपर्ने भएर पनि हो । अर्को समस्या नेपालमा डाक्टरको अभाव पनि हो ।’

बच्चाको क्यान्सरको कुरा गर्ने हो भने धेरै अभिभावकलाई यसबारे थाहा नै हुँदैन । त्यसैले रोग पत्ता लगाउन नै समय लाग्छ । रोग पत्ता लागेपछि पनि नेपालमा बच्चाको क्यान्सर उपचार गर्ने विज्ञहरू र अस्पतालबारे धेरैलाई जानकारी नै नहुने बाल क्यान्सर रोग विशेषज्ञ डा. ऋतु लामिछाने बताउँछिन् ।

‘क्यान्सरको उपचार गर्न हामीकहाँ सीमित ठाउँ मात्र छन् । त्यसैले आर्थिक अवस्था अलि राम्रो भएको मान्छे उपचारको लागि भारत लगायत अन्य देश नै जान रुचाउँछन्,’ उनी भन्छिन् ।

सरकारको ध्यानाकर्षण जरुरी

डा. लामिछाने भन्छिन्, ‘क्यान्सरको उपचार भारतको तुलनामा नेपालमा धेरै कम खर्चमा हुन्छ । त्यसैले बिरामीलाई नेपालमा नै उपचार सम्भव छ भन्ने कुराबारे सचेतना फैलाउनुपर्छ । साथै शल्यक्रिया र किमोथरापी एउटा अस्पतालमा हुन्छ र रेडियोथेरापी अर्को अस्पतालमा हुन्छ भने चिकित्सक र अस्पतालले सहकार्य गरेर बिरामीलाई सहजीकरण गर्न सकिन्छ ।’

डा. ऋतु लामिछाने

क्यान्सरको निदान र उपचारको लागि जति पनि प्रविधि छन् ती प्रविधि र स्रोत साधन क्यान्सर अस्पतालमा उपलब्ध गराउनेतर्फ सरकारले ध्यान दिएको खण्डमा क्यान्सरको उपचारको लागि विदेश धाउने वातावरण कम हुने डा. लामिछाने बताउँछिन् ।

उपचारको लागि विदेशिने प्रवृत्ति कम गर्न जहाँ जनशक्ति कमी छ त्यहाँ जनशक्ति थप हुनुपर्छ । कडा तथा जटिल रोगका बिरामीलाई प्राथमिकता दिएर उनीहरूले पालो कुर्नु नपर्ने अवस्था सिर्जना गर्नुपर्छ । एक जना चिकित्सक वा एउटा अस्पतालले चाहेर मात्र यो सम्भव हुँदैन । यसका लागि सरकारले नै सोच्नुपर्ने रगत तथा क्यान्सर रोग विशेषज्ञ डा. अजयकुमार झा बताउँछन् ।

‘स्वेच्छाले विदेशमा उपचार गराउन जानेहरूलाई रोक्न सकिंदैन तर बाध्यताले वा नेपालमा सेवा नभएकै कारण बाहिर गइसकेका व्यक्तिहरूलाई चाहिं नेपालमै सेवा दिने वातावरण सिर्जना गर्नुपर्छ,’ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही भन्छन् ।

क्यान्सर रोग भारतमा उपचार
लेखक
सुमित्रा लुईटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय