+
+

बाल बिहे र महिला हिंसा घटाउन आफैं जागे गढवाका आमाहरू   

रञ्जिता अधिकारी/रासस    रञ्जिता अधिकारी/रासस   
२०८१ असार २५ गते १६:४५

२५ असार, दाङ । गढवा गाउँपालिका–५ खजरौटामा आमा समूह गठन भएको ३ वर्ष भयो । समूहमा आवद्ध भएपछि धेरै कुरा सिक्ने अवसर मिलेको अध्यक्ष ४६ वर्षीय अध्‍यक्ष आनन्दा यादव बताउँछिन् ।

मुक्तकम्लरी विकास मञ्चको बालविवाह न्यूनीकरण कार्यक्रमअन्तर्गत गठित आमा समूहले गाउँघरमा हुने हरेक कार्यक्रममा सहभागी हुँदै आएको छ । कार्यक्रममा हुने छलफलबाट बालविवाह न्यूनीकरण, महिला हिंसाको वकालत, प्रजनन स्वास्थ्यबारेमा हुने छलफलबाट धेरै सिकाइ भएको यादव बताउँछिन् ।

‘समूहमा आबद्ध नहुँदासम्म धेरै कुरा थाहा थिएन । अहिले कानुनी र व्यावहारिक सबै कुरा थाहा भएपछि समाजलाई सचेत बनाउन लागेका छौँ’, यादवले भनिन्, ‘आमा समूहमार्फत बालविवाह रोकथाम तथा छोराछोरीको उमेर पुगेपछि मात्र विवाह गर्न सुझाव दिने अभियानमा जुटेका छौँ ।’

समूहका सचिव गरिमा बुढाथोकीले १७ वर्षको उमेरमा भागी बिहे गरेकी थिइन् । सानो उमेरमा विवाह गर्दा शारीरिक, मानसिक तथा अन्य वृत्तिविकासमा असर पुग्ने अनुभव गरेपछि ३५ वर्षको उमेरमा उनी बालविवाह घटाउने अभियानमा जोडिएको बताउँछिन् ।

‘उमेर पुगेर गरेको विवाहले शारीरिक मानसिक रूपमा परिपक्क हुन पाइने कुरा अहिले मात्रै थाहा भएको छ’, सचिव बुढाथोकीले भनिन्, ‘अचेल गाउँघरमा हुने महिलाहिंसा न्यूनीकरण, बालविवाह रोकथामलगायत विषयमा वकालत गर्ने गरेका छौँ ।’

बालविवाह र महिला हिंसा मात्रै होइन समूहले सदस्यलाई बचत गर्न सिकाइ आवश्यक परेका समयमा लगानीसमेत गर्ने गरेको छ । मुक्तकम्लरी विकास मञ्चका फिल्ड संयोजक ज्ञानु थापाले किशोर अवस्थामा आउने परिवर्तन तथा उत्सुकता मेटाउन बाल क्लब र आमा समूह गठन गरेर काम भइरहेको बताइन् ।

यी समूहलाई मञ्चले तालिम तथा अन्य कार्यक्रममार्फत सचेतना अभिवृद्धिमा समेत जोड दिइरहेको थापाको भनाइ छ । ‘आमाहरूलाई गाउँघरमा हुने हिंसा घटाउने काममा लगाउने मात्रै होइन उहाँहरूको आएआर्जन वृद्धि गर्न व्यावसायिक तरकारी खेतीका लागि सहयोग गरिरहेका छौँ’,  थापाले भनिन्, ‘पालिकाको कृषि शाखासँग समन्वय गरेर आमा समूहलाई कृषिमा आत्मनिर्भर बनाउने अभियान पनि सँगसँगै अगाडि बढाइरहेका छौँ ।’

गढवा गाउँपालिकाका उपाध्यक्ष शारदाकुमारी चौधरीले बालविवाह न्यूनीकरणका लागि अन्तरक्रिया, सडक नाटक देखाउने र पालिकाभित्रका वडाका गुरुबा, धामी र महतवालाईसँगै राखेर जनचेतनामूलक कार्यक्रम गर्ने गरेको बताइन् ।

‘विद्यालयमा बाल क्लब र गाउँमा आमा समूह गठन गरेर जानकारीमूलक कार्यक्रम भइरहेका छन् । पालिकाले पनि प्रत्येक वर्ष मुक्तकम्लहरी, सीमान्तकृत समुदाय र पछाडि परेका वर्गको उत्थानका लागि कार्यक्रम गर्ने गरेको छ’, उनले भनिन् ।

यहाँका आमाहरू आफैँ अभियानमा जुटेपछि महिला हिंसा र बालविवाह घटाउन सहज भएको जानकारहरू बताउँछन् । यहाँका अन्य पालिका र वडाले पनि यस अभियानलाई विस्तार तथा लागू गर्नसके थप सहज हुने समूहमा आवद्ध आमाहरूको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?